बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
कृषि

गहुँको उत्पादन बढे पनि रोकिएन आयात

अझै चार लाख मेट्रिक टन गहुँ अपुग
बुधबार, २० मङ्सिर २०८०, २० : ४३
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको छ । तर गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७८–७९ मा २४ हजार ७ सय ८५ मेट्रिक टन वस्तु भित्रिएको छ । यसबापत १ अर्ब १६ करोड १६ लाख २६ रुपैयाँ बाहिरिएको छ । 

नेपालको पश्चिमी तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिन्छ । सोबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुन्छ । 

आर्थिक वर्ष २०७८–८९ मा ७ लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७–७८ मा ७ लाख ११ हजार हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६–७७ मा ७ लाख ७ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ८५ हजार टन उत्पादन गहुँ उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ । 

आन्तरिक माग धान्न चार लाख मेट्रिक टन अपुग 

नेपालमा वार्षिक आन्तरिक उत्पादनमा २१ लाख मेट्रिक टनभन्दा उत्पादन हुन्छ । आवश्यकता भने २५ लाख मेट्रिक टनको हाराहारीमा रहेको गहुँ प्रजनक खेमराज पन्त बताउँछन् । आन्तरिक उत्पादनले स्वदेशी माग धान्न ४ लाख मेट्रिक टन मात्रै अपुग भएको उनले बताए । ‘अधिक मात्रमा औद्योगिक क्षेत्रका लागि आयात हुने गहुँ छ,’ उनले भने, ‘उद्यौगिक क्षेत्रमा ड्युरम जातको गहुँ प्रयोग हुन्छ, त्यो गहुँ नेपालमा १ लाख २० मेट्रिक टन मात्रै उत्पादन हुन्छ, त्यसको क्षेत्रफल पनि करिब ३ सय हेक्टरको हाराहारीमा मात्रै छ ।’

आयात गरिएको गहुँ मैदा, आँटा, पिठोजस्ता खाद्य वस्तु उत्पादनमा प्रयोग हुने गहुँ प्रजनक पन्त बताउँछन् । ‘गहुँ औद्योगिक क्षेत्रका लागि बाहै्रमास आवश्यक पर्छ,’ पन्तले भने, ‘नेपालमा उत्पादन भएको गहुँले ७० प्रतिशत मात्र औद्योगिक क्षेत्रमा टेवा दिएको छ, बाँकी ३० प्रतिशत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।’

गहुँ उत्पादनमा समस्या 

गहुँमा उत्पादनका लागि सिँचाइ, मल, प्राविधिलगायतमा समस्या रहेको कृषि अनुसन्धानकर्ता लोकेन्द्र खड्काले बताए । उनका अनुसार अनुसन्धान गर्दा प्रतिहेक्टर ४ देखि ५ मेट्रिक टन उत्पादन हुने बिउ किसानले छर्दा २ देखि ३ मेट्रिक टन प्रतिहेक्टर फलेको पाइएको छ । यसो हुनुमा समयमा मल र सिँचाइको उपलब्धता नहुनु, मल र बिउको अनुपात नमिल्नुलगायत कारण रहेको खड्काले बताए । ‘गहुँ उत्पादन आशा गरेबमोजिम हुन सकेको छैन,’ उनले भने, ‘उन्नत जातको बिउभन्दा किसानले पुरानै बिउ प्रयोग गर्नु, मल, पानी, बिउको मात्रा नमिल्नुले उत्पादन हुन नसकेको हो ।’

गहुँ उत्पादन कसरी बढाउने ?

गहुँको उत्पादन बढाउन किसानलाई सहुलियत दरमा गुणस्तरीय बिउ उपलब्ध गराउनुपर्ने पन्त बताउँछन् । ‘किसानले नेपालमै उत्पादित गहुँको बिउ प्रयोग गर्ने हो भने उत्पादन पनि बढ्छ,’ उनले भने, ‘यसका लागि सरकारले बिउका साथै मल, सिँचाइमा पहुँच पु¥याउन जरुरी देखिन्छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपालमा दुरुम जातको गहुँको विकास गरेको छ । त्यसरी उत्पादित गहुँको पिठोबाट चाउमिन, पास्ता, पिज्जा बनाउन प्रयोग गरिन्छ । त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्नेमा पन्तले जोड दिए । ‘नार्कले खजुरा दुरुम–१ र खजुरा दुरुम–२ गहुँ नार्कले विकास गरेको छ,’ उनले भने, ‘यो गहुँको उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नु पर्छ साथै उद्योगसँग पनि जोड्न आवश्यक छ ।’

नेपालको पश्चिम तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । तर पूर्वी (तराई र पहाड) मा धान उठाइसकेपछि अधिकांश जमिन बाँझो छन् । त्यसैले यहाँका किसानलाई मल, बिउ, सिँचाइमा आकर्षक प्याकेज दिएर गहुँ खेतीको हुने क्षेत्रफल बढाएमा ४० देखि ५० प्रतिशत उत्पादन बढाउन सकिनेमा उनको जोड छ ।

नेपालमा गहुँ खेतीको इतिहास

नेपालमा धान र मकैपछिको तेस्रो मुख्य बाली हो गहुँ । सन् १९६० को दशकदेखि नेपालमा गहुँ खेती सुरु गरिएको थियो । सुरुवाती वर्षमा १ लाख ११ हजार हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिएको थियो भने त्यतिबेला १ लाख २६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर गहुँको उत्पादन हुने क्षेत्रफल र उत्पादन बढे पनि अझै पनि नेपालमा गहुँ अपुग छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले २०४२ सालदेखि २०७७ को बिचमा १९ वटा गहुँ बाली सिफारिस गरेको छ । तराई, भित्री मधेस, समुद्र सतहदेखि २ हजार २ सय ९० मिटर उचाइसम्ममा गहुँ खेती गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप