आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगपति राजेन्द्र राउतले हस्पिटलमा दुई अर्ब ५० करोड लगानी गर्दै

बिहीबार, ०५ पुस २०८०, ०६ : ५०
बिहीबार, ०५ पुस २०८०

विराटनगर । कोशी प्रदेशका चिरपरिचित उद्योगपति राजेन्द्र राउत सेवामूलक उद्योग (मेडिकल क्षेत्र)मा पनि प्रवेश गरेका छन् । उनले बुधबार एक समारोहका बिच झण्डै २५० करोडको लगानी अनुमान गर्दै बुढीगंगा–१, टंकीसिनुवारी मोरङमा हस्पिटल निर्माणको शिलान्याश गरे ।

राउतसँग अहिले पनि माइनिङ (खानी उद्योग) अन्तर्गत मारुती सिमेन्ट, अन्नपूर्ण सिमेन्ट तथा जुत्ताचप्पल उद्योग, तीन वटा पेट्रोल पम्म, टायरको व्यापार लगायतका उद्योग छन् । ती उद्योगमा झण्डै ८ सय करोड लगानी रहेको राउत बताउँछन् ।

‘औद्योगिक क्षेत्रमा लगानी ठ्याक्कै भन्न सकिँदैन । तर, अनुमानित ७ सय देखि ८ सय करोड लगानी होला,’ राउत भन्छन्, ‘८ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् ।’ देशमा आर्थिक संकट छ । लगानीको वातावरण छैन भनिरहेको बेला उद्योगी राउतले  (निजी क्षेत्रबाट) गरेको यो लगानी निकै ठुलो हो ।

राउत उद्योगको क्षेत्रमा प्रवेश गरेको ४० वर्ष नाघ्यो । ‘एउटा जागिर खाने बुबाको छोरा हुँ । अहिले मैले मेरो परिवारलाई औद्योगिक क्षेत्रमा लिएर हिंँडेँ । अहिले सेवा क्षेत्रमा लगानी गर्नु मेरो सामाजिक दायित्व पनि हो भन्ने लागेको छ । यस क्षेत्रको भविष्यलाई नै आम्दानीको रुपमा लिएको छु,’ राउतले भने, ‘आज उत्पादन क्षेत्रमा लागेको अवस्था र आयातमुखी देश हुँदा त्यहाँ खाडल देखिएको छ । मैले त्यो खाडललाई यो ठाउँबाट जाँदा परिपूर्ति गर्न सक्छु कि जस्तो लागेको छ ।’

उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शिवम् अर्गनाईजेशन उनै राउतको हो । सोही अर्गनाइजेसनले अस्पताल निर्माण गर्न लागेको हो । ‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी विशुद्ध मानवीय भावनाले पे्ररित भइ गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरुमा दुई सय शय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका डाइरेक्टर प्रतिक राउतले भने, ‘हाल यसलाई १०० शय्याको मल्टी स्पेसियालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमशः तीन सय शय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।’

आरआर इन्टरनेसनल अस्पतालको नाममा सुरु हुन लागेको हस्पिटलले जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पताललाई सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने राउतले बताए ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, कार्डियो र क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । ‘अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ,’ राउतले भने, ‘सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्त्वपूर्ण पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ ।’

IMG-20231219-WA0075

अलग किसिमको पारिवारिक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत बिना नै यस क्षेत्रमा प्रवेश गरेका राउतले यसअघि गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका हुन् । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यवसायी राउतका जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोबार संचालनमा छन् भने काठमाडौँमा अत्याधुनिक पाँचतारे होटल केही महिनाभित्रै सञ्चालनमा आउने छ ।

राउतले विराटनगरमा हाउजिङ् कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेजकोसमेत स्थापना गर्दै लाने योजना बनाएका छन् ।

राउतले उद्योग सञ्चालनका लागि व्यवस्थापन नै महत्त्वपूर्ण कुरा भएको बताए । ‘पूर्वाञ्चल क्षेत्रमा म पाँच पटक गोल्ड मेडलिष्ट भएको हुँ– गार्मेन्ट निर्यातमा । त्यसबेला मैले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग मिलेर काम गरेंको थिएँ । त्यसपछि मारुती सिमेन्ट स्थापित भयो । द्वन्द्वको कालमा मैले सिन्धुलीबाट खानी उद्योगको काम सुरु गरेको हुँ । नेपालमै क्लिङ्कर बनाउन सकिन्छ भन्ने कुरा मैले नै सुरु गरेको हुँ । त्यसपछि मैले अटोमोबाइल्स, हेभी इक्युपमेन्टको रेन्टर सर्भिस गर्न सकिन्छ भनेर सुरु गरेँ । त्यसको पार्टस्देखि सर्भिस सेन्टरहरु अहिले पनि छन्,’ उनले भने, ‘मैले हरेक काम गर्दा देखेको कुरा भनेकै व्यवस्थापनको पार्ट मुख्य कुरा हो ।’

hospital (2)

राउतले स्थापना गरेको हस्पिटल विराटनगर–इटहरी राजमार्गसँगै जोडिएको छ । उक्त हाइवे लाइनमा आधा दर्जन अस्पताल तथा मेडिकल कलेज छन् । ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए । ‘हामी जुन लाइनमा अस्पताल निर्माण गर्दैछौँ, यो लाइनमा मात्रै पाँच वटा अस्पताल छन् । उहाँहरुसँग हाम्रो अस्वस्थ प्रतिस्पर्धा भन्दा पनि प्रतिस्पर्धाले गुणस्तर ल्याउने काम हुनेछ । हामी गुणस्तर ल्याउँछौँ । त्यसपछि बिरामीले राम्रो उपचार पाउन सक्छन्,’ राउतले भने ।

को हुन् राउत ?

बुबा दलबहादुर राउत सरकारी कर्मचारी थिए । बुबाले छोरा राजेन्द्र राउतलाई व्यवसायी र उद्योगी बनाउन चाहन्थे । तर, राउत भने फुटबल खेल्न रुचाउँथे । बुबाको चाहना अनुसार नै राउतका लागि २०४२ सालमा गार्मेन्ट उद्योग सञ्चालन गरे । काठमाडौँमा २० वर्षसम्म गार्मेन्ट उद्योग चलाएका उनले उत्कृष्ट व्यवस्थापन गरे । धेरै गार्मेन्ट सामान विदेश निर्यात गरे ।hospital (3)त्यसबेला पनि राउतले झण्डै १२ सय मजदुरलाई रोजगारी दिएका थिए । राउतले पछि त्यही गार्मेन्ट उद्योगलाई सुनसरीको दुहबीमा सारे । तर देशमा चलिरहेको सशस्त्र युद्ध, आन्दोलन र झैझगडाले राम्रोसँग उद्योग चलेन । त्यसपछि राउतले सिन्धुलीमा चुनढुंगा खानी उद्योग सञ्चालन गरे । त्यसपछि सिमेन्ट उद्योग, चप्पल उद्योग हुँदै राजेन्द्र राउत कहलिएका उद्योगी बन्न सफल भए । हाल उनी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य छन् । राजेन्द्र राउतले आफ्ना दुई छोरा प्रतिक र प्रत्युसलाई उद्योग क्षेत्रकै जिम्मेवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप