शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

आइतबार, ०८ पुस २०८०, ०८ : ०९
आइतबार, ०८ पुस २०८०

मकवानपुर । मकवानपुरको मनहरिमा जङ्गली हात्तीको  आक्रमणबाट एक महिला घाइते भएकी छन् । मनहरि गाउँपालिका–७ स्थित बिजौनामा गए राति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीय कान्छीमाया तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गए राति करिब ११:४५ बजेको समयमा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीले आक्रमण गर्दा तामाङको ढाडमा चोट लागेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बेहोस भएकी तामाङलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ । 

हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप