शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भाग्यमानी खोया !

मङ्गलबार, १० पुस २०८०, ११ : ४८
मङ्गलबार, १० पुस २०८०

न्यानो सेतो खोस्टाको सिरक भित्र
दन्तलहर मिले जसरी
लहरै सुतिरहेको मकैको दानालाई
बिहानी पखा उठ्न आनाकानी गरेको 
बालकलाई आमाले उठाए जसरी 
चेतनाको भण्डार भएका
अद्भुत चेतनशील मान्छेहरूले
खोस्टाको सिरक उप्काएर
चुपचाप मिलेर बसेको मकैका दानालाई
कतै हातले, कतै मेसिनले
मज्जाले छोडाउँ छन् 
मकैका दाना निक्लिसकेपछि
बाँकी रहेको सेता, राता थरीथरीका 
दाँत फुक्लेको 
मेरो हजुरबुबाका गिजा जस्ता
डोको  र थुन्सेमा कोच्चिएर 
एउटा अँध्यारो कुनामा थन्किन्छन ।
बिचरा नाङ्गा खोया ।
         ०००
सानोमा टालाटुली बाटुली खेल खेल्दा
सेतो खोयालाई 
मान्छे जस्तै आकृति बनाएर
अँगार पिसेर मुखाकृति बनाएर दुरुस्तै
बोल्न नसक्ने मान्छे जस्तै
खेल खेले, खेल सकेर भत्काए, बिगारे
त्यस्तै त्यस्तै नपच्ने काम गर्नेलाई
खोया जस्तो मान्छे भन्ने 
परिचय बनाए 

डाँडाघरे धाई आमाको दशक पुरानो
आफ्नै रङ बिर्सेको
पुरानो मैलो प्लास्टिकको तुम्लेटमा
सारेको तीनपानेको बास्ना रोक्न
अस्थायी बिर्को बन्यो खोया
र, त 
मदिरा पान गर्नेको नाम
खोयाबिर्के न्वारान हुन सफल भयो ।
धन्य छ 
मकै दानको पाठेघर 
राते र सेते खोयालाई ।
        ०००००
कहिले अगेना छेउमा बसेर
आफूलाई जलाएर खरानी बनाउने 
आगोसँग बात मारेर बस्छौँ,
कहिले जुनी लिएर जीवन बन्न नपाउँदै 
कलिलो अल्लारे बैँसमा
खोस्टाभित्र आकार मात्रै लिएको 
मकैको दानासहित सीधै 
उजेली गाईको आहारा बनेर
हुर्कन नपाउँदै 
आधा बाटोमै समाप्त हुन्छौँ ।
कहिले तिमी अगेनामा 
आगो बल्न 
आफूलाई मट्टीतेलमा डुबाएर 
सुरुमा आफू जल्दै 
बाँकी नबलेका पूरै अगेनाको दाउरा बल्न बाध्य बनाउँछौँ 
तिम्रो जिन्दगी अपरमपार को छ ?
म जस्तै सोझो खोया ।
             ००००
तिमीलाई बच्चाबच्चीले पुतली बनाएर खेले
उजेली र माली गाईले आहारा सम्झेर खाए,
अगेनाले आगो सल्काउने 
मट्टीतेलको प्रिय बनाएर सम्मान गरे,
तिमीलाई जसले पनि 
जे मन लागे त्यहीँ गरे ।
तिमी बाटो दोबाटो जतिसुकै पुगे 
मकैको कुन्युभित्र राज गरेर
मान्छेको अन्न भण्डारण गर्ने 
कोठा चोटा बुइँगलमा पुगे ।
तिमीले अनेकौँ हन्डर खेपेर परिवेशसँग जुधिरहे
खोया...
आरनदेखि अगेनासम्म 
उजेली गाईको मुखदेखि पेटसम्म
बाटो कुरेर यात्रीको भोक मेटाउन 
मकै पोल्दै गरेको बुढीआमाको दैनिकीसम्म
उजाडिँदै गएको सृष्टिको कुरूप अनुहारमा 
हरियो रङ्गले सजाउन 
तिमीले साथ दिएको मकैको बोटसम्म
यत्रतत्र सर्वत्र  थियो तिम्रो देन
आदिम कालदेखि आजसम्म
खोया !
हिजो अस्ति कहिल्यै नचलेको चर्चा
पाएको छ तिमीले
मानुवा गञ्जदेखि 
जनता झुक्याउने नेता बोल्ने मञ्चमा
निमुखा जनताको हातबाट फ्याँकिएर पुगेपछि 
चर्चा कमाउन सफल भएको छ तिमीले
जहिल्यै खरानी बनेर अस्तित्व मेटाउनुपर्ने तिमीले
संसारमा पाएको उत्कृष्ट रेकर्डलाई तोडेर
फ्रेमभित्र सजिएर बस्ने मौका पाएको छ तिमीले
बधाई छ, तिमीलाई 
भाग्यमानी कडा खोया ।
पाँचखाल, काभ्रेपलाञ्चोक
हालः लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप