आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्ष कोसिस गर्दा पनि कोरिया आउन नसकेको मेरो एउटा साथी

बुधबार, १८ पुस २०८०, ०९ : ४०
बुधबार, १८ पुस २०८०

दक्षिण कोरियाबाट आज म नेपालमा रहेको मेरै साथीको अपुरो सपनाको कथा लेख्दै छु । सदाझैँ आज पनि मैले १२ घन्टाको अविराम ड्युटी सकेर कोठामा आएँ, कामले थाकेको छु । मौसमले निरन्तर माइनस अङ्क बढाइरहेको छ । झन्डै एक वर्षपछि नेपालमा रहेको मेरो साथीसँग भर्खरै भिडियो कुराकानी भयो । हामी विगततिर फर्कियौँ । रोजगारीका लागि दक्षिण कोरिया आउन उसले जीवनका १० वर्ष खेर फालिसक्यो, यतिखेर म उसको यही असफलताको कथा लेख्दै छु । 

उसले सुदूर तराईको विकट बस्तीबाट कोरिया जाने सुनौला सपना देखेर काठमाडौंको यात्रा तय गरेकोसन् २०१३ मा हो । निम्न वर्गीय भएकाले उसले काठमाडौंमा काम गर्दै कोरियन भाषा सिक्यो । काम गर्ने ठाउँमा पनि उसले भाषाको पुस्तक छाडेन । कमाउँदै पढेर अन्तिममा भाषा परीक्षा दिन उसलाई सात–आठ महिना लागेको थियो । तर भाषा परीक्षामा ऊ असफल भयो । त्यसपछि कोरियाको सपना त्यागेर ऊ मलेसिया हानियो । तीन वर्ष मलेसियामा बिताएर ऊ नेपाल फर्कियो । मलेसियामा उसले ठिकै कमाएको थियो । जाँदा लागेको ऋण तिर्दा र परिवारलाई हेरेर पनि केही बचेको थियो । अलि धेरै कमाउने आशाले ऊ कोरिया जान चाह्यो । 

सन् २०१६ मा भाषा परीक्षाको तयारीसँगै उसले एग्रिकल्चर क्षेत्रमा आवेदन दिएको थियो, पुनः असफल भयो । उसले हिम्मत हारेन, मलेसियाबाट थोरै बचेको रकमको सदुपयोग गर्दै ऊ पुनः भाषा परीक्षाको तयारीमा लाग्यो ।  सन् २०१७ मा उसले पुनः भाषा परीक्षा दियो, यसपालि उत्तीर्ण हुनेमा ऊ विश्वस्त थियो । मलेसियामा दुःख गरेर आएकाले उसले बुझेको थियो, कुनै पनि क्षेत्रमा सफल हुन मेहनत गर्नैपर्छ । निकै मेहनत गर्दा पनि उसले भाषा परीक्षा उत्तीर्ण गर्न सकेन । त्यसपछि ऊ सन् २०१८ को तयारीमा लाग्यो । 

मलेसियाबाट बचाएर ल्याएको पैसा सकिएकाले अब भने उसलाई काठमाडौंमा काम खोज्नुपर्ने भयो । एउटा होटलमा सेक्युरिटी गार्डको काम गर्दै उसले कोरियन भाषा पढ्न थाल्यो । यसपालि उसले कृषि क्षेत्रमै आवेदन दिएको थियो । विडम्बना, यसपालि पनि भाषा परीक्षामा एक अंक नपुगेर असफल भयो । फेरि पनि हिम्मत नहारी ऊ सन् २०१९ का लागि तयारीमा लाग्यो । काठमाडौँमा बस्न–खान सुरक्षा गार्डको जागिर छँदै थियो । यसपालि भाषा परीक्षामा उत्कृष्ट अंकले पास भएर ऊ सीप परीक्षण (स्किल टेस्ट)मा सहभागी भयो । सबै परीक्षा कटाएपछि उसको फाइल एपीएस कार्यालयद्वारा सर्भिस अफ् एचआरडी कोरियालाई पठाइएको थियो, फाइल एप्रुभ पनि भयो । केही महिनापछाडि ऊ कोरियाली रोजगारदाताको छनोटमा प¥यो । श्रम सम्झौतापछि भिसा पनि आएको थियो । 

यसपालि उसले उत्पादनमूलक क्षेत्रमा फर्म भरेको थियो । सर्भिस अफ् एचआरडी कोरियाले पासपोर्टको फोटो र परीक्षा दिँदाको फोटो नमिलेको भनेर उसलाई एपीएस नेपालमा हाजिर हुन बोलायो, सबै डकुमेन्टसहित ऊ ईपीएस कार्यालय पुग्छ, सबै प्रमाण दाखिल गर्छ- प्रहरी प्रतिवेदनदेखि राहदानी विभागको सिफारिससम्म । एचआरडी कोरियाले झन्डै एक महिना अनुसन्धान गरेर पासपोर्टमा भएको मान्छे ऊ नभएको ठह¥याउँछ र उसको भिजा सीसीभीआई रद्द गर्दिन्छ ।

खासमा सन् २०१९ मा आइपुग्दा सन् २०१२ तिर बनाएको पासपोर्टको रङ पूरै फरक भइसकेको थियो, तर कोरियाले छुट्ट्याउनै सकेन । फोटोमा कलिकति फरक भएकै कारण कोरियाले आफूलाई रिजेक्ट गरेको स्विकार्न ऊ तयार छैन । मैले पनि कैयौँपटक ईपीएस अफिस एचआरडी कोरिया, वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसम्म पुगेर उसको यो कुरा राखेको छु, तर पनि हामी सफल हुन सकेनौँ । सम्बन्धित निकायको कमजोर पहलकदमीले एकजना साथी आफ्नो संघर्षबाट हारेको छ ।

यो संघर्षको कथा यतिमै सकिँदैन । एचआरडीले अन्तिममा फेरि परीक्षा दिन अनुरोध गर्छ । ऊ नयाँ पासपोर्ट बनाएर फेरि परीक्षा तयारीमा जुट्छ । ऊ फेरि मिसन २०२२ मा होमियो, उत्पादनमूलक क्षेत्रमा आवेदन दिएर । यसपालि उसको मन भारी थियो तर सपना जिउँदा थिए । एपीएस रोजगार प्रणालीका सबै प्रक्रिया पूरा गरेर उसको फाइल एचआरडी कोरियामा जान्छ, यसपटक पनि ऊ डकुमेन्ट भेरिफाई चरणमा असफल हुन्छ । कोरियाले प्रक्रिया पेन्डिङमा राखिदियो । यसबारे बुझ्न ऊ एचआरडी र एपीएस कार्यालयको ढोका धाउन थाल्यो । तर चित्तबुझ्दो जवाफ पाएन । एपीएस नेपालले एचआरडी कोरियाको कारण देखाउँछ । एचआरडीमा बुझ्दा त्यहाँको इमिग्रेसनको कारण देखाउँछ । इमिग्रेसनमा बुझ्दा एचआरडीको कारण देखाउँछ । अहं उसले कहीँबाट चित्तबुझ्दो जवाफ पाएन । 

ऊसँगै कोरियाको ट्राई गरेका उसका थुप्रै साथी यतिखेर श्रम गन्तव्य मुलुक दक्षिण कोरियामा छन् । कति नेपाल फर्किसकेका छन् । तर उसले अनेक प्रयत्न गर्दा पनि कोरिया आउन सकेन, उसले कोरियाको सपना त्याग्न पनि सक्दैन । साँच्चै एपीएसले एकजना युवालाई ठूलो पीडा दिएको छ ।

ऊ शारीरिक र मानसिक रुपमा गलिसकेको छ । कोरिया जाने चक्करमा उसले आफ्नो कलिलो जवानीका १० वर्ष खेर गएको थाहा पाएन । हामी महसुस गर्न सक्छौँ, उसको हृदय र मन कति भड्किन्छ होला । कोरिया जाने आफ्नो सपना पूरा नभएपछि उसले अहिले आफ्नी श्रीमतीलाई कोरिया पठाउनका लागि भाषा पढाउँदै छ । थाहा छैन, उनी सफल हुन्छिन् कि असफल । म भगवानमा विश्वास त गर्दिनँ तर भगवान छन् भने कृपया उनलाई सफल बनाइदेऊ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजय सोडारी
अजय सोडारी
लेखकबाट थप