बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अशान्त विश्वविद्यालय

प्रश्नपत्र आउट प्रकरण : परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

तीन महिनादेखि मध्यपश्चिम विश्वविद्यालयको अवस्था तनावपूर्ण
बुधबार, १८ पुस २०८०, १० : ३५
बुधबार, १८ पुस २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विगत तीन महिनादेखि तनावपूर्ण अवस्थामा छ । सम्बन्धनको विषयलाई लिएर प्राध्यापक र विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दा उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले निवासबाट नै विश्वविद्यालय चलाइरहेका छन् । 

अझ त्यसैमा प्रश्नपत्र आउट भएको विषयलाई लिएर विश्वविद्यालयको अवस्था अझ तनावग्रस्त छ । ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौँ सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा पुस ३ गतेबाट सञ्चालन हुँदै थियो । उक्त परीक्षाका लागि सम्पूर्ण तयारीसमेत भइसकेको थियो । 

यद्यपि परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै प्रश्नपत्र लिग भयो । प्रश्नपत्र नै बाहिरिएपछि परीक्षा रद्द गरेर छानबिन भइरहेको छ । प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र प्रकाश साउदसहित ६ जनालाई कारबाही स्वरूप निलम्बन गरिएको छ । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । 
उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोजेको र यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने भनेर सार्वजनिक रूपमा पत्रकार सम्मेलन नै गरे । तर यो विषयमा स्वयं उपकुलपतिको पनि कमजोरी देखिएको छ । 

स्रोतका अनुसार परीक्षा सुरु हुनुभन्दा १८ घण्टा अगावै प्रश्नपत्र आउट भएको विषय उपकुलपतिले थाहा पाइसकेका थिए । त्यो भनेको पुस दुई गते साँझ ६ः४१ बजे । स्वयं पदाधिकारी (उपकुलपति) ले नै सूचना पाए पनि उक्त सूचना गुपचुप राखे । कुनै एक्सन नै नलिएर सबै परीक्षा रद्द गरियो । 

यो विषयमा प्राध्यापक र विद्यार्थीहरूले स्वयं उपकुलपति सिंहको समेत कमजोरी देखिएको आरोप लगाएका छन् । उपकुलपति सिंहले पत्रकार सम्मेलनमा १८ घण्टा अगावै आफूकहाँ कुरा आइसकेको र आफूले बजारमा मान्छे (आफू निकटलाई खोज्न) पठाइएको बताएका छन् । तर उनले उक्त कुरा रजिस्टार र परीक्षा प्रमुखलाई कुनै जानकारी नदिएको स्रोतको भनाइ छ ।

विभिन्न पाँचवटा प्राध्यापक सङ्गठनहरूले यो विषयमा उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छाबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । तर उपकुलपति सिंहले त्यसो नगरी आफूखुसी विश्वविद्यालयभित्रै  समिति बनाई छानबिन भइरहेको बताए ।

 विद्यार्थीले घटनापछि परीक्षा व्यवस्थापनको कार्यालयमा समेत तालाबन्दी गरिएको छ । उपकुलपति सिंहले परीक्षा व्यवस्थापन प्रमुखलगायत पाँच जनालाई निलम्बन गरी नयाँ व्यवस्थापन गरिएकाले ताला खोल्न आग्रह गरेका छन् । त्यसो नगरे आफैँ फोड्नेसम्मको धम्की दिएका छन् । तर अन्य प्राध्यापकहरू उपकुलपति सिंहमाथि पनि छानबिन हुनुपर्ने धारणा राखिरहेका छन् । 

स्रोतले भन्यो, ‘भिसी सर (उपकुलपति) को सचिवालयले नै पहिला नै थाह पाइसकेको थियो । प्रश्नपत्र चुहावट भएको खबर आइसकेपछि पनि रजिस्टार र परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखलाई नै सूचना नगरी जाँच हुन दिइयो । जाँच भएको एक घण्टापछि रद्द गर्न लगाइएयो ।’ 

१८ घण्टा अगावै प्रश्नपत्र चुहावट भएको खबर पाए पनि उपकुलपतिले रजिस्टार र परीक्षा प्रमुखलाई कुनै जानकारी नगराई उनीहमाथि नै अविश्वास गराई जाँच सुरु भएको एक घण्टापछि परीक्षा रद्द गर्न लगाइएको बताइएको छ । ‘भिसीको म्यासेन्जरमै लिग भएको कुरा आइसकेपछि १८ घण्टा गुपचुप बस्न मिल्दैन,’ स्रोत भन्छ, ‘रजिस्टार अनि परीक्षा प्रमुखलाई नै यो कुरा थाह नभई परीक्षा सुरु भएको एक घण्टापछि परीक्षा रद्द गराउने कुरामा भिसी स्वयंको बदनियत देखिन्छ ।’

प्राध्यापकहरूले पदाधिकारीहरूकै कमजोरी रहेको आरोप लगाइरहेका छन् । ‘परीक्षा नै रद्द गर्नु थियो भने १८ घण्टा पहिला नै उपकुलपतिकहाँ कुरा पुगेको थियो, किन एक्सन नलिएको ?,’ परीक्षा व्यवस्थापनकै एक जना कर्मचारीले रातोपाटीसँग भने, ‘उपकुलपतिको भनाइ र गराइमा समानता देखिन्न, उहाँ विश्वविद्यालयको ऐन, नियम र कार्यविधि मान्नुहुन्न, उहाँको गतिविधि त्यसभन्दा बाहिर छन् ।’ 

उपकुलपतिकै हुकुमी कार्यशैलीका, निरङ्कुश अडानकै कारण विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी भइरहेको ती कर्मचारीको आरोप छ । उपकुलपतिमाथि मनोमानी तरिकाले आफ्ना मान्छेलाई नियुक्त दिएको, कार्यविधि बनाउनुभन्दा अगाडि नै २५ जना पिएचडी राख्ने गरी विज्ञापन गरेर आफ्ना मान्छे ल्याउन पहल गरेको, विश्वविद्यालयमा भइरहेका निर्माणका कामहरूमा उपकुलपतिले सुशासन कायम नगरेको आरोप लागिरहेको छ । 

यही विषयमा विगत तीन महिनादेखि विश्वविद्यालयमा तालाबन्दी भइरहेको हो । तर उपकुलपति वार्तामा आउँदा आफ्नो निरङ्कुश अडान नछाड्ने र गल्तीलाई नस्विकार्ने, बरु उल्टै प्राध्यापक तथा विद्यार्थीहरूलाई ठेगान लगाइदिने धम्की दिने गरेका छन् । यद्यपि उपकुलपति सिंह भने आफू सुशासनलाई पालना गरेको, विश्वविद्यालयलाई राजनीतिभन्दा टाढा राख्न खोजेको बताउँछन् । 

bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप