एउटा सपनाको अन्त्य
बिहीबार, १९ पुस २०८०, १३ : ३०
छिमेकीको ठुलो घर छ
म पनि ठुलो घर बनाउँछु
उसको महँगो गाडी छ
म पनि महँगो गाडी चड्छु
साथीले महँगो गहना लगायो
म पनि महँगो गहना लगाउँछु
छिमेकीहरू सहरतिर बसाइँ सरे
सहरका झिलिमिलीमा रमाए
म पनि त्यहीँ जान्छु
म पनि त्यहीँ रमाउँछु ।
अहँ !
यस्ता कुनै सपना थिएनन्
सपना थियो त
केवल
पैसाको अभावमा बाले जस्तो मर्नु नपरोस्
आमाका आँखामा आँशुले बास नगरोस्
बिरामी हँुदा सिटामोल आफैँले किन्न सकियोस्
चुहिएको छानो मात्र टाल्न सकियोस्
यस्तो महँगीको मारमा
एक पेट सजिलै टार्न सकियोस्
भविष्य होइन
वर्तमानमा बाँच्न कष्टप्रद नहोस् ।
तर
सरकार
उजाडिदियौ
एउटा गरिबको सपना
दिउँसै
देशकै राजधानीमा
तातो गोली छातीमा उपहार दिएर
परिवारको एक आशाको त्यान्द्रोलाई
गल्र्याम्म ढलाएर
र तोकिदियौ मूल्य जनही दस लाख ।