मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले भनेको समाजवाद काल्पनिक हो : माधव नेपाल

बुधबार, २५ पुस २०८०, १५ : १२
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् । बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने बताए ।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ । हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको राजनीतिमा अहिले सबभन्दा खतरनाक प्रवृत्ति (प्रतिगामी) हरुले टाउको उठाएको बताए । ‘इतिहासको रथलाई पछाडि धकेल्ने, राजालाई फर्काएर ल्याउने’, अध्यक्ष नेपालले भने, ‘राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले किन फाल्यौ । यसबारेमा राम्ररी चिन्तन गर्नुभयो भने बुझ्नुहुन्छ ।’

उनले हिजो राजा नभए राष्ट्रियता कमजोर हुन्छ भन्ने समय भए पनि अहिले त्यो अवस्था नरहेको बताए । ‘हिजो किन त्यसो भनिन्थ्यो भने कांग्रेसलाई त्यसबेला देशभक्त शक्तिको रूपमा लिने गरेका थिएनन् । अझै पनि त्यसका बारेमा विदेशीको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको छ ।’ 

उनले कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी गरे । उनले राजतन्त्र फर्केर आउने किसिमको गतिविधिप्रति सतर्क हुँदै चुनौतीको सामना गर्न सक्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप