सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलाडी

धावक बैकुण्ठ मानन्धर प्रि-ओलम्पिकमा बक्सिङको प्रशिक्षक बनेर भने - ‘हान् हान्, लात्तले दे’

नेपाली बक्सिङका लेजेन्ड उमेश मास्केको खेलजीवनका तितामिठा पल
बुधबार, ०३ माघ २०८०, ०८ : ४८
बुधबार, ०३ माघ २०८०

‘विभिन्न राष्ट्रका पाँच खेलाडीलाई नकआउट गरेर मैले स्वर्ण जितेँ र मिस्टर नकआउटको उपाधि पाएँ । मेरो खेल जीवनको सबैभन्दा अविस्मरणीय क्षण त्यही थियो,’ ४० वर्षअघि आफूले इतिहास रचेको स्वर्णिम क्षणको स्मरण गरे ६२ वर्षीय उमेश मास्केले । 

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘क्लिफोर्ड कप अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता’ (सन् १९८३) मा नेपालबाट भिन्न तौल समूहका दुई खेलाडी (उमेश मास्के र दलबहादुर राना मगर)ले स्वर्ण जिते । एसियाका थुप्रै राष्ट्रले भाग लिएको यस प्रतियोगिता मास्केका लागि यस कारण विशेष रह्यो कि उनले ‘मिस्टर नकआउट’को उपाधि पनि चुमे । 

आफ्नो समयका चर्चित मुक्केबाज हुन्, उमेश मास्के । जतिबेला मास्के देशका लागि बक्सिङ खेलिरहेका थिए, त्यतिबेला एसियाली बक्सिङमा नेपाल एउटा उदाहरणीय नाम थियो । ‘हाम्रो समयमा नेपाली बक्सिङको स्तर निकै माथि थियो । उत्तरकोरिया, दक्षिण कोरिया, थाइल्यान्ड, मंगोलियाजस्ता राष्ट्रका खेलाडीहरू पनि नेपाली मुक्केबाजसँग भिडन्त गर्न हच्किन्थे,’ मास्के आफ्नो समय सम्झन्छन्, ‘आफूले भाग लिएको एसियाली स्तरको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर खाली हात फर्कंदैनथे । हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली मुक्केबाजले कुनै न कुनै पदक जितेकै हुन्थ्यो ।’

त्यो समय नेपाली बक्सिङ खेलका लागि स्वर्णिम युग थियो, त्यस युगका चम्किला तारा थिए— दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल, पुष्करध्वज शाही, रविराज थापा, प्रवीण तुलाधर, मानबहादुर श्रेष्ठ, उमेश मास्के लगायत चर्चित मुक्केबाजहरू । 

दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण र नवौँ एमेच्योर एसियन बक्सिङ च्याम्पियनसिपमा काश्य जितेका मास्के आफ्नो तौल समूहमा निरन्तर १६ वर्षसम्म राष्ट्रिय च्याम्पियन बने ।

umesh maske (1)

विश्व खेलकुदको सबैभन्दा बृहत् प्रतियोगिता हो, ओलम्पिक । मास्केले आफ्नो खेल जीवनमा दुईवटा ओलम्पिक खेले—  सन् १९८० मा रुसको मस्कोमा सम्पन्न २२औँ ओलम्पिक र सन् १८८४ मा अमेरिकाको लस एन्जल्समा सम्पन्न २३औँ ग्रीष्मकालीन ओलम्पिक । 

काठमाडौँको मरुटोलदेखि मस्को र लस एन्जल्समा भएको ओलम्पिकसम्मको यात्रा गर्नु आफैँमा ठूलो सफलता हो । २०२८ सालमा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका उनी सक्रिय खेल जीवनबाट बिदा हुँदा (सन् १९८४)सम्म राष्ट्रिय च्याम्पियन नै थिए । औपचारिक रूपमा भने उनले अहिलेसम्म खेल जीवनबाट संन्यासको घोषणा गरेका छैनन् । 

खेल जीवनबाट बिदा लिएपछि उनी नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन संघको अध्यक्ष, नेपाल बक्सिङ संघको कोषाध्यक्ष हुँदै अध्यक्षको भूमिका निभाए । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापकको भूमिका निर्वाह गरेका मास्के नेपाल ओलम्पिक कमिटीको सदस्यको भूमिकामा पनि सक्रिय रहे । 

हाम्रो निमन्त्रणमा केही दिनअघि रातोपाटीको स्टुडियोमा आएका मास्के केहीबेर आफ्नो खेल जीवनको ‘फ्ल्यासब्याक’मा हराए । 

फुटबल छाडेर बक्सिङ

बक्सिङको रिङमा छिर्नुअघि उनको सपना सफल फुटबलर बन्ने थियो । १२ वर्षको उमेरदेखि फुटबलको मैदानमा होमिएका उनले न्युरोड टिम (एनआरटी) बाट घरेलु फुटबलको सम्मानित प्रतियोगिता ‘सहिद स्मारक लिग’ (सन् १९७९) लगायत थुप्रै खेल खेले, समयले भने उनलाई देशको गौरव बढाउने प्रभावशाली बक्सरको रूपमा स्थापित गर्‍यो ।

मास्केले पढ्ने पद्मोदय स्कुलमा बक्सिङ सिकाइन्थ्यो । पछि ‘योङ स्टार क्लब’मा प्रशिक्षण लिन पुगेपछि उनको लक्ष्य बदलियो । बक्सिङमै केही गर्ने उद्देश्यसहित उनले प्रशिक्षण लिन थाले । ‘प्रशिक्षणमा सिनियर खेलाडीले पनि कुनै दया नदेखाई हिर्काउँथे । सुरुमा हामी नयाँ खेलाडीलाई दिक्क लाग्थ्यो,’ मास्के सुरुवाती दिन सम्झन्छन्, ‘कहिले नाक फुटाएर त कहिले आँखा सुन्नाएर घर पुग्दा गाली मजैले खानुपथ्र्यो, यस्तो ज्यानमारा खेल नखेल् भन्नुहुन्थ्यो ।’

umesh maske (4)

सुरुसुरुमा, अनुहारमा चोट लागेका दिन उनी आमाबुवा सुतिसकेपछि घर जान्थे र बिहान बुवाआमा उठ्नुअघि निस्कन्थे । उनका साइँलादाइ किरण मास्के पनि बक्सिङ खेल्ने भएकाले घरमा सहज वातावरण बन्दै गयो, घरमा पाकेको मिठो–मसिनो उनलाई दिन थालियो । 

खेल यात्रामा सुरुमा आफूले र अरुले सोचेजस्तो नहुने उनको अनुभव छ । ‘मणि शाह, जो नेपाली फुटबलका म्याराडोनाको नामले चर्चित बने । उनले सुरुमा बक्सिङ सिकेका थिए । उनका पिता लक्ष्मण शाहले पनि उनलाई बक्सिङ खेलाडी बनाउन चाहनुहुन्थ्यो,’ मास्के भन्छन्, ‘हरेक व्यक्तिभित्र फरक–फरक क्षमता लुकेको हुन्छ । मणिले आफ्नो क्षमता देखाउने मञ्च भनेको फुटबल मैदान थियो । फुटबलमा लागेर उनले जुन ख्याति पाए, बक्सिङमा लागेको भए नपाउन सक्थे ।’ 

मास्केका अनुसार, प्रशिक्षणका क्रममा अनुहारमा चोट लाग्ने क्रम बढेपछि मणि बिस्तारै बक्सिङसँग टाढिँदै र फुटबलसँग निकट हुँदै गएका थिए । 

  • बालुवा लोड गर्दै र दाउरा चिर्दै प्रशिक्षण

उनको समयमा प्रशिक्षणको शैली फरक थियो । अहिलेको जस्तो वैज्ञानिक शैली भित्रिइसकेको थिएन । मास्केका प्रशिक्षक मथुरादास नेवाले खेलाडीको शरीर बलियो होस् भनी बालुवा लोड गर्न र दाउरा चिर्न लगाउँथे । ‘ट्र्याक्टरमा बालुवा लोड गर्न हामी एकाबिहानै चोभार पुग्नुपथ्र्यो । दाउरा चिराउन गुरुले हामीलाई टेकुमा रहेको इन्धन संस्थानमा लैजानुहुन्थ्यो,’ मास्के भन्छन्, ‘यसरी प्रशिक्षण गर्दा पावर बढ्छ भन्ने मान्यता थियो । सुरुमा गाह्रो भए पनि वास्तवमा त्यसले फाइदा गथ्र्यो ।’ 

बालुवा लोड गर्दा र दाउरा चिर्दा हातभरि ठेला उठ्थ्यो । यसमा कसैले ठगेको थाहा पाए गुरुले सजायस्वरूप थप दाउरा चिर्न लगाउँथे । त्यहाँ खेलाडीले दाउरा चिर्ने काम इन्धन संस्थानको नाइकेको रेखदेखमा हुन्थ्यो । कसले कुन मुढा चिर्ने भन्ने निक्र्योल नाइकले गर्थे । ‘आँख्ला भएका ठूला मुढा चिर्न बढी मेहनत लाग्थ्यो । त्यस्ता मुढा नपारिदिन हामीले नाइकेसँग अनुनय–विनय गथ्र्यौं । सित्तैँमा सधैँ उनले हाम्रो रोदन सुन्ने कुरा भएन,’ मास्के आफूहरुको बदमासी सम्झन्छन्, ‘नाइकेलाई फकाएर खाजा खान लैजान्थ्यौँ, उनको हातमा थोर–बहुत पैसा पनि हालिदिथ्यौँ ।’

उनीहरूले बिस्तारै बुझ्दै गए— प्रशिक्षणका क्रममा जसले जति मेहनत गथ्र्यो, उसको शरीर त्यति नै बलियो हुने रहेछ । यो बुझेपछि उनीहरूले गुरुको आँखा छल्न छाडिदिए । 

‘बिचरा, एथलेटिक्सका यी दुई धुरन्धर खेलाडीलाई बक्सिङको बारेमा के थाहा ! धन्न उनीहरूकै कारण मैले प्रि–ओलम्पिक खेल्ने अवसर पाएँ । प्रत्येक राउन्डको खेल सकिएपछि उनीहरूले मेरो पसिना पुछिदिन्थे ।’
  • जब धावक बैकुण्ठ मानन्धर बक्सिङको प्रशिक्षक बने

सन् १९८० मा मस्कोमा ओलम्पिक हुनु एक वर्षअगाडि प्रि–ओलम्पिक खेलाइएको थियो, यसबाट खेलाडीको स्तर मापन गरिन्थ्यो । सन् १९७९ मा मस्कोमा आयोजित प्रि–ओलम्पिकमा भाग लिन मास्के पनि पुगेका थिए । एथलेटिक्सतर्फ बैकुण्ठ मानन्धर र अर्जुन पण्डित थिए ।  

मास्केसँग बक्सिङ खेल्दा लगाउने जुत्ता थिएन, उनी आर्मीको बुट लगाएर रिङ छिरे । उनलाई रेफ्रीले भने– तिम्रो बुट खोई ? यो बुट लगाएर तिमीले बक्सिङ खेल्न पाउँदैनौ । ‘ठूलो सपना साँचेर गएको थिएँ, रेफ्रीको कुरा सुनेर मेरो हंसले ठाउँ छाड्यो । त्यहीँ रिङमा घोप्टिएर रुन मन लाग्यो,’ मास्के आफ््नो जीवनको त्यो नरमाइलो पल सम्झन्छन्, ‘त्यहाँ जापानी टोलीका प्रशिक्षक पनि थिए, उनलाई मप्रति दया जागेछ । उनले मेरो जुत्ताको नाप सोधे र आफ्ना खेलाडीको जुत्ता मागेर मलाई दिए ।’ 

जुत्ता कसेर रिङमा छिरेका मास्केलाई रेफ्रीले पुनः झस्काए —  तिम्रो प्रशिक्षक खोई ? 

नेपाली टोलीमा बक्सिङ प्रशिक्षक थिएनन् । प्रशिक्षकबिना खेल्न नपाइने नियम नेपाली टोलीलाई थाहा थिएन । अब भने मास्के ढुक्कै भए— ओलम्पिक खेल्न नलेखेकै रहेछ । ‘अचानक एउटा चमत्कार भयो । बैकुण्ठ मानन्धर र अर्जुन पण्डित मेरो खेल हेर्न टुप्लुक्क त्यहीँ आइपुगे । केही सोच्न नसकिरहेको अवस्थामा मैले उनीहरुलाई देखाएर रेफ्रीलाई भनिदिएँ— ऊ आइपुग्नुभयो मेरो प्रशिक्षक,’ मास्के त्यो घटना सुनाउँछन्, ‘मेरो कुरा सुनेर उनीहरू जिल्ल पर्दै थिए । मैले कानेखुसी गर्दै उनीहरूलाई सबै कुरा बताएँ ।’ 

umesh maske (6)

रेफ्रीले बैकुण्ठ र अर्जुन दुवैलाई घुरेर हेरे, तर केही सोधेनन् । मास्केले प्रि–ओलम्पिक खेल्ने ढोका खुल्यो । मास्केको अनुभव भन्छ— भिडन्त गरिरहँदा खेलाडीको आँखा प्रतिद्वन्द्वीमाथि र कान प्रशिक्षकतिर हुनुपर्छ । आँखामा हेरेर खेलाडीले २५ प्रतिशत अनुमान गर्न सक्छ । बाँकी ७५ प्रतिशत प्रशिक्षककै भूमिकामा भर पर्छ । ‘खेल भइरहँदा कान टाँठो पारी प्रशिक्षकले बताए अनुसार नै खेलाडीले प्रतिद्वन्द्वीको कमजोर भागमा प्रहार गर्नुपर्ने हुन्छ,’  मास्के भन्छन्, ‘तर त्यतिबेला अवस्था उल्टो थियो । मेरा प्रशिक्षकहरूभन्दा त बक्सिङको बारेमा मै बढी जानकार थिएँ ।’

उनको भिडन्त मंगोलियन खेलाडीसँग परेको थियो, जो एसियन च्याम्पियन थिए । प्रतिद्वन्द्वीको प्रहारले मास्केको आँखा सुन्नियो, नाकबाट रगत बगिरहेको थियो । यता प्रशिक्षक बैकुण्ठ र अर्जुन कराउँदै थिए— हान हान, बेस्सरी हान । लात्तले दे । मास्के त्यो पीडादायी तर रोचक क्षण सम्झन्छन्, ‘बिचरा, एथलेटिक्सका यी दुई धुरन्धर खेलाडीलाई बक्सिङको बारेमा के थाहा ! धन्न उनीहरूकै कारण मैले प्रि–ओलम्पिक खेल्ने अवसर पाएँ । प्रत्येक राउन्डको खेल सकिएपछि उनीहरूले मेरो पसिना पुछिदिन्थे ।’ 

त्यो भिडन्तमा हारे पनि मास्के अर्को वर्ष मस्कोमै आयोजना हुने ओलम्पिक खेल्न पाउने भए । 

  • माकुराको जालो ‘झुल’, बासी पाउरोटी ‘डाइट’ ! 

त्यतिबेला अन्तर्राष्ट्रिय प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा खेलाडीलाई दशरथ रङ्गशालाको प्यारापिटमुनि राखिन्थ्यो । बन्द प्रशिक्षण लिनेमा बक्सिङबाट मास्केसहित रविराज थापा, पुष्करध्वज शाही, कृष्णबहादुर थापा, दलबहादुर रानामगर, मानबहादुर श्रेष्ठ, विष्णु मालाकार लगायत खेलाडी हुन्थे ।

रङ्गशाला परिसर अहिलेजस्तो सफा थिएन, जताततै फोहोर हुन्थ्यो । खेलाडी बस्ने प्यारापिटमुनि झ्यालको खापा त थियो, त्यसमा सिसा नभएकाले लामखुट्टेले हैरान पाथ्र्यो । ‘हामी बस्ने प्यारापिटमुनि जताततै माकुराको जालो हुन्थ्यो । लाग्थ्यो, त्यही माकुराको जालो नै हाम्रो झुल हो । हामीले माकुराको जालोलाई झुल भनेर ठट्टा गथ्र्यौं,’ मास्के आफ्नो खेलाडी जीवनका दुःखसुखलाई ठट्यौलो शैलीमा सम्झन्छन्, ‘प्रशिक्षण र बन्द प्रशिक्षणमा जतिसुकै सकस भए पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदाको खुसीले अरु सबै दुःखलाई बिर्साइदिन्थ्यो ।’

मास्केका अनुसार, निकैपछि मात्र बन्द प्रशिक्षणमा बस्ने खेलाडीलाई प्यारापिटको सट्टा महेन्द्र युवालयमा राख्ने व्यवस्था मिलाइयो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा बस्ने खेलाडीलाई दिइने ‘डाइट’ पनि गजबकै हुन्थ्यो । ‘अहिलेका खेलाडीले पाउने डाइट त हाम्रा लागि एकादेशको कथा थियो,’ मास्के भन्छन्, ‘सबै खेलका खेलाडीलाई एकै खालको डाइट दिइन्थ्यो— सामान्य पाउरोटी, चिया, चना र मटरको झोल । पाउरोटी पनि धेरैजसो बासी हुन्थ्यो । बासी अरर्रो पाउरोटीलाई हामीले प्राकृतिक रूपमा टोस्ट भएको पाउरोटी भनेर ठट्टा गथ्र्यौं ।’

अन्य खेलको तुलनामा भारोत्तोलन, बक्सिङजस्ता खेलका खेलाडीलाई प्रशिक्षणका क्रममा बढी डाइट चाहिन्थ्यो । कतिपय खेलाडी प्रशिक्षणपछि कसले राम्रो खाजा खुवाउला भनेर आस गर्थे । ‘जतिसुकै दुःख भए पनि हाम्रो समयमा विरोध गर्ने चलन थिएन । जे पाइन्छ, त्यसैमा चित्त बुझाउँथ्यौँ । खेलाडीलाई कडा अनुशासनमा राखिन्थ्यो,’ मास्के भन्छन्, ‘अहिले सानो कुरामा चित्त बुझेन भने पनि खेलाडी विरोधमा ओर्लन्छन् । आफ्नो अधिकारका लागि लड्नु राम्रो पनि हो ।’ 

रानीपोखरीनजिकै गणेश मन्दिरछेउमा रहेको ‘नाङ्लो’का साहु श्याम कक्षपति खेलाडीलाई माया गर्ने स्वभावका थिए । कुनै दिन पैसा नभएका बेला उनले उधारो दिने भएकाले खेलाडीहरू त्यहाँ मःम खान गइरहन्थे । 

बेला–बेला खेलाडीबिच कसले धेरै मःम खाने भनेर बाजी चल्थ्यो । बाजीमा सबैभन्दा बढी मःम खानेको पैसा कम मःम खानेहरुले तिरिदिनुपथ्र्यो । मःम खाने मामलामा मास्के अगाडि थिए । ‘पैसा तिर्नुपर्ने डरले पनि होला एकपटक मैले १० प्लेट मःम खाइदिएँ,’ मास्के भन्छन्, ‘मःमको पैसा त तिर्नुपरेन तर पचाउन नसकेर गतिलै सास्ती पाइयो ।’

  • सिनियरलाई घुसमा खाजा

प्रशिक्षणका क्रममा स्पाइरिङ (एउटा खेलाडीले अर्को खेलाडीसँग भिडन्त) गर्नुपथ्र्यो । स्पाइरिङ गर्दा सिनियर खेलाडी र जुनियर खेलाडीबिच पनि भिडन्त हुन्थ्यो । 

त्यतिबेला योङ स्टार क्लबमा प्रशिक्षण लिनेमा मास्केसँगै रविराज थापा, दीपक रञ्जित, सागरभक्त रञ्जित, पुष्प रञ्जित आदि थिए । सिनियर खेलाडीले जुनियर खेलाडीलाई बेलाबेला विभिन्न काम अह्राउने चलन थियो । अह्राएको काम नगरे सिनियर खेलाडीले स्पाइरिङका बेला नराम्रोसँग चुट्थे । त्यसैले जुनियरले सिनियरको सबै आदेश मान्नुपथ्र्यो । 

‘स्पाइरिङ गर्दा भने साथीहरूले युवराज दीपेन्द्रलाई कुटेर रमाउँथे । उनीहरूले पछिसम्म मैले युवराज दीपेन्द्रलाई ठटाएको छु भनेर धक्कु लगाउँथे होला । खेलकुदको रमाइलो पक्ष भनेकै यही हो ।’

‘स्पाइरिङका बेला बढी कुटाइ नपरोस् भनेर जुनियरले सिनियरलाई मःम, जेरी, स्वारीजस्ता स्वादिष्ट खाजा समेत खुवाउँथे,’ मास्के भन्छन्, ‘खाजा खान पाउने भएपछि सिनियरले स्पाइरिङमा जुनियरलाई कम कुट्थे । मैले पनि धेरैपटक खाजा खाने अवसर पाएको छु । सुरुमै बढी कुटाइ खाँदा जुनियर खेलाडी खेल छाडेर भाग्ने डर पनि हुन्थ्यो, यसमा ख्याल गरिन्थ्यो । जेहोस्, हामीले प्रशिक्षण गर्दा रमाइलो पनि निकै हुन्थ्यो ।’ 

  • ‘स्पाइरिङमा युवराज दीपेन्द्रले पनि कुटाइ खान्थे’ 

तत्कालीन युवराज दीपेन्द्रका एडीसी थिए, रविराज थापा । रविराज थापाकै पहलमा मास्केले बुढानीलकण्ठ स्कुलमा कक्षा ८ मा पढ्दै गरेका दीपेन्द्रलाई बक्सिङ सिकाउने अवसर पाए । स्कुलका अन्य विद्यार्थीसँगै दीपेन्द्रले बक्सिङ सिक्थे । 

dipendra shah

प्रशिक्षणका क्रममा बेलाबेला खेलाडीबिच स्पाइरिङ हुन्थ्यो । स्पाइरिङका बेला दीपेन्द्र आफ्ना साथीहरूलाई मजैले ठटाउँथे । बेलाबेला साथीहरूले पनि दीपेन्द्रमाथि गतिलै प्रहार गर्थे । ‘सर्वसाधारणहरू अरु बेला युवराजको नजिक पनि जान पाउँदैनथे । स्पाइरिङ गर्दा भने साथीहरूले युवराजलाई कुटेर रमाउँथे,’ मास्के भन्छन्, ‘उनका साथीहरूले पछिसम्म मैले युवराज दीपेन्द्रलाई ठटाएको छु भनेर धक्कु लगाउँथे होला । खेलकुदको रमाइलो पक्ष भनेकै यही हो ।’

मास्केको नजरमा युवराज दीपेन्द्र निकै अनुशासित थिए, साथीहरूसँग सरल रूपमा प्रस्तुत हुन्थे । उनले प्रशिक्षक रूपमा मास्केलाई सम्मान गर्थे । 

  • सुतेका बेला साथीलाई देउता चढेपछि... 

सन् १९८१ मा, पाकिस्तानको इस्लामाबादमा बक्सिङको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो । अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा दलबहादुर रानामगर र मास्के होटलको एउटै रुममा पर्थे । इस्लामावादमा भने उनको साथी प्रवीण तुलाधर थिए । एउटै कोठामा उनीहरू छुट्टाछुट्टै पलङमा सुतेका थिए, मध्यरातमा एक्कासि मास्केले आफ्नो घाँटी थिचिएको महसुस गरे । ‘म झल्याँस्स बिउझिएँ । प्रवीणले भए भरको बल लगाएर मेरो घाँटी थिचिरहेको थियो । उसको अनुहार कालो भएको थियो, आँखा निकै राता थिए,’ आफ्नो खेल जीवनमा आइलागेको अर्को अनौठो आपत सुनाउँछन् मास्के, ‘मैले उसको हात छुटाउन सक्दो प्रयास गरेँ । कसोकसो उसलाई जोडले धकेलेर लडाएँ । मेरो एउटा औँला भाँचियो, अहिले त्यो औँला बाङ्गो भएको छ । मैले धकेलेपछि पनि प्रवीणको आँखा खुलेको थिएन । गालामा एक चड्कन जमाएपछि बल्ल ऊ निद्राबाट बिउँझ्यो । खासमा उसलाई राति निद्रामा हिँड्ने बानी रहेछ । यसलाई उसले देउता चढेको भन्थ्यो ।’ 

भोलि खेल्नुपर्ने आज औँला भाँचियो, त्यसमाथि यो थाहा भए खेल्न पाइँदैनथ्यो । दुखाइ सहेरै उनले रातभरि रुमालले औँला बाँधेर बसे । प्रवीणलाई पनि ठूलो पश्चाताप भयो । 

भोलिपल्ट रुमाल खोलेर मास्के रिङमा छिरे । पाकिस्तानी प्रतिद्वन्द्वीलाई उनले बायाँ हातले मात्र प्रहार गरिरहेका थिए । प्रतिद्वन्द्वीका प्रशिक्षकलाई शङ्का भएछ । उनले खुसुक्क दलबहादुर राना मगरलाई सोधेछन्, ‘उसले दायाँ हातको प्रयोग किन नगरेको ?’ सोझा र हुस्सु दलबहादुरले पनि झट्ट भनिदिए, ‘उसको दायाँ हातको औँला भाँचिएको छ ।’ 

यो कमजोरी थाहा भएपछि के चाहियो, पाकिस्तानी खेलाडीले मास्केको दायाँ हातमै प्रहार गरिरहे । ‘त्यो खेलमा म नराम्रोसँग हारेँ । खेल सकिँदासम्म मेरो दायाँ हात फुलेर मुसलजस्तो भएको थियो,’ मास्के भन्छन्, ‘मैले लगाएको ग्लभ्स पनि काटेर निकाल्नुपर्‍यो । पछि मलाई अस्पताल लगियो ।’

यो कुरा अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष अनवर चौधरीले पनि थाहा पाए, जो पाकिस्तानी नागरिक थिए । आफ्नो खेल जीवनसँग खेलवाड गरेको भन्दै अनवर र अस्पतालका डाक्टरहरूले मास्केलाई गाली मात्रै गरेनन्, महामूर्खको पगरीसम्म भिडाउन भ्याए । अस्पतालबाट फर्किएपछि भने अनवरले उनलाई निकै मायाले सम्झाए ।

umesh maske (5)

  • करङ भाँचियो

सक्रिय खेल जीवनमा मास्केले थुप्रै दुर्भाग्य भोगेका छन् । भारतको नयाँदिल्लीमा भएको एसियाली खेलकुद प्रतियोगिता (१९८२) मा नेपालबाट बक्सिङमा मास्केले मात्रै प्रतिस्पर्धा गर्दै थिए । त्यतिबेला एसियाली बक्सिङमा कोरियाली खेलाडीको दबदबा थियो । उनको प्रतिद्वन्द्वी पन उत्तर कोरियाका खेलाडी परे । 

त्यतिबेला नेपालको बक्सिङ कमजोर थिएन । मास्केको दायाँ हातको प्रहार निकै शक्तिशाली थियो । यस खेलमा प्रतिद्वन्द्वीले उनको दायाँ हातको पावर थाहा पाएर जोगिन खोज्थे । रिङमा मास्केले कोरियाली खेलाडीलाई दुईपटक ढाले, कोरियाली खेलाडीले पनि उनलाई दुईपटक ढालिसकेका थिए, प्रतिस्पर्धा रोचक नै थियो । एक्कासि कोरियाली प्रशिक्षकले बाहिरबाट केही भने । मास्केले उनको भाषा बुझेनन् । आफ्ना प्रशिक्षकको निर्देशन पाएलगत्तै प्रतिद्वन्द्वीले अचानक मास्केका करङमा शक्तिशाली प्रहार गरे । यस खेलमा मास्के पराजित भए । खेलपछि उनलाई अस्पताल लगियो । उनको करङ भाँचिएको रहेछ । 

त्यसको पाँच महिनाजति अलि बढी खाना खाए पनि, जोडले हाँसे पनि उनलाई करङमा पीडा हुन्थ्यो । यो कुरा थाहा पाएर उनका साथीहरू उनलाई हँसाउन खोज्थे, अनेक जोक भनेर ।

उनले आफ्नो कमजोर अंग्रेजीमा भने— ‘दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरले बनाएको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन । विश्वको कुनै कुनामा एउटा ओलम्पियन गम्भीर रोगसँग जुधिरहँदा उसलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हुनुपर्ने हो ।’ उनले यसो भनिरहँदा सबै आफ्नो स्थानबाट उठेर ताली बजाए ।
  • ‘बिहे हुँदैन भनेर मुम्बईको होटलमा रोएँ’

एकपटक भारतको मुम्बईमा बक्सिङको एसियन च्याम्पियनसिप आयोजना भएको थियो, मास्केलाई यसको मिति सम्झना छैन । त्यतिबेला उनको पहिलो खेल मलेसियन खेलाडीसँग परेको थियो । मलेसियन प्रतिद्वन्द्वीलाई सजिलै हराएर उनी दोस्रो चरणमा पुगे । दोस्रो चरणमा उनले हार बेहोरे । तेस्रो चरणमा उनको भिडन्त दक्षिण कोरियाका किम दन किलसँग पर्‍यो । मास्केलाई थाहा थियो, त्यतिबेला किम बक्सिङमा एसियाकै हिरो थिए । जो कोही उनीसँग रिङमा ओर्लनै डराउँथे । आत्मविश्वास बलियो बनाएर मास्के रिङमा ओर्लिए । भिडन्त प्रतिस्पर्धात्मक चलिरहेको थियो । खेलका क्रममा बिस्तारै किम मास्केमाथि हाबी हुँदै गए र एक्कासि उनको आँखामा शक्तिशाली प्रहार गरे । उनका आँखाबाट निरन्तर रगत बग्न थालेपछि रेफ्रीले खेल रोकेर किमलाई विजयी घोषित गरिदिए । 

मास्केलाई तत्कालै अस्पताल लगियो । उपचारपछि उनी होटल फर्किए । आँखाबाट रगत बग्न रोकिएको थिएन । ‘आँखा फुट्यो, अब मसँग कसले बिहे गर्ला’ भन्दै उनी निकै बेर रोए । त्यतिबेला जापानी टोलीका प्रशिक्षकले भने उनलाई ठुलै हौसला दिए, जापानै लगेर उपचार गराउने उनको आश्वासन थियो । 

केही दिनमा उनको आँखाबाट रगत बग्न रोकियो, आँखामा कालो दाग देखिएको थियो, त्यो पनि ६ महिनापछि हराएर गयो ।  

  • ‘म्यान अफ दी इयर’

सन् २००४ मा स्विट्जरल्यान्डको लुसेनमा अन्तर्राष्ट्रिय ओलम्पियन महासंघको कंग्रेस (साधारणसभा) थियो । 

त्यतिबेला मास्के नेपाल ओलम्पियन संघको अध्यक्ष थिए । नेपालबाट ओलम्पिकमा सहभागिता जनाउने पूर्व र वर्तमान खेलाडीहरूको संस्था हो, ओलम्पियन संघ, जो अन्तर्राष्ट्रिय ओलम्पियन महासंघको सदस्य पनि हो । यही हैसियतले मास्के महासंघको कंग्रेसमा भाग लुसेन पुगे । 

दुई सय चार राष्ट्रका प्रतिनिधिले भाग लिएको त्यस साधारणसभालाई बीबीसी, सीएनएनजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । त्यहाँ मास्केले पनि आफ्ना कुरा राख्नुपर्ने भयो । 

umesh maske (3)

त्यतिबेला बैकुण्ठ मानन्धर क्यान्सरसँग लडिरहेका थिए । चारवटा ओलम्पिक खेलमा देशको प्रतिनिधित्व गरेका मानन्धरकै बारेमा बोल्नु उचित हुने मास्केले ठाने । उनले आफ्नो कमजोर अंग्रेजीमा भने— दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरले बनाएको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन । विश्वको कुनै कुनामा एउटा ओलम्पियन गम्भीर रोगसँग जुधिरहँदा उसलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हुनुपर्ने हो । 

उनले यसो भनिरहँदा सबै आफ्नो स्थानबाट उठेर ताली बजाए । अमेरिकाबाट आएका प्रतिनिधिले त बैकुण्ठको उपचारमा आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

मानन्धरको भारतमा उपचार भयो, अमेरिकाले सहयोग गर्नुपर्ने अवस्था आएन । सरकारले पनि उपचारमा सहयोग गर्‍यो । उनको उपचारमा खासगरी डा. अरुण सायमीको भूमिका महत्त्वपूर्ण रह्यो । अहिले उनी स्वस्थ छन् । 

त्यतिबेला उनी करिब एक घन्टा बोलेका थिए, के के बोलेँ भन्ने उनैलाई थाह छैन । भाषण टुंग्याउँदासम्म डरले हो वा संकोचले उनको अनुहार पूरै रातो भएको थियो । त्यो भाषण उनका लागि निकै उपलब्धिमूलक बन्यो । सन् २००४ मै अमेरिकी ओलम्पियनहरूको संस्थाले उनलाई सम्मानका लागि अमेरिका बोलायो । उनी सपरिवार अमेरिका गए । अमेरिकाको होनोलुलुमा उनलाई ‘म्यान अफ दी इयर’को उपाधिबाट सम्मान गरियो । यो उनको जीवनको अर्को अविस्मरणीय क्षण हो । 

‘सुरुमा त अमेरिका बसौँजस्तो लागेको थियो । एकपटक घर–परिवार, साथीभाइ र देशमा आफूहरूले पाएको सम्मानलाई सम्झिएँ,’ मास्के भन्छन्, ‘अमेरिका बस्न मन भएन, हिकम्यानको प्रस्ताव हाँसेरै टारिदिएँ ।’ 
  • अमेरिका बस्ने प्रस्ताव अस्वीकार

उनलाई अमेरिका बस्न दुईपटकसम्म प्रस्ताव आएको थियो, तर उनले अस्वीकार गरे । 

सन् १९८४ मा अमेरिकाको लस एन्जल्समा ओलम्पिक हुँदै थियो । त्यसको तयारीका लागि नेपाली बक्सिङ खेलाडीलाई प्रशिक्षण दिन अमेरिकाबाट साम हिकम्यान नेपाल आएका थिए । उनी चर्चित अमेरिकी मुक्केबाज जो फ्रेजरका पनि गुरु थिए । सन् १९८२ देखि उनले दुई वर्षसम्म मास्के लगायतलाई प्रशिक्षण दिए । उनी मास्केको खेलबाट निकै प्रभावित भएका थिए ।

umesh maske (2)

त्यतिबेला ओलम्पिक खेल्न लस एन्जल्स जाँदा हिकम्यानले मास्केलाई सबैको सामु प्रस्ताव गरे — तिम्रो समाचार अब न्युज विकमा निकाल्नुपर्छ । अब तिमी अमेरिकामै बस । अमेरिकाकै लागि बक्सिङ खेल । हामी तिमीलाई विश्व च्याम्पियनसिप पनि खेलाउँछौँ । 

‘सुरुमा त अमेरिका बसौँजस्तो लागेको थियो । एकपटक घर–परिवार, साथीभाइ र देशमा आफूहरूले पाएको सम्मानलाई सम्झिएँ,’ मास्के भन्छन्, ‘अमेरिका बस्न मन भएन, हिकम्यानको प्रस्ताव हाँसेरै टारिदिएँ ।’ 

‘म्यान अफ दी इयर’को सम्मान लिन जाँदा पनि उनलाई पूर्वओलम्पियनहरूले अमेरिका बस्न प्रस्ताव गरेका थिए, यसपल्ट पनि मास्केले प्रस्तावलाई सम्मानपूर्वक अस्वीकार गरे । ‘मेरो विचारमा प्रत्येक खेलाडीको रगतमा देशभक्ति मिसिएको हुन्छ । कुनै खेलाडी जतिसुकै सफल भए पनि उसलाई त्यो स्थानमा पुर्‍याउने श्रेय देशलाई जान्छ,’ मास्के भन्छन्, ‘देशले खेलाडी बनाउने हो र खेलाडीले देश चिनाउने हो ।’

  • खेलाडीलाई पुरस्कार दिन श्रीमतीको गहना बन्धकी 

मास्के सन् १९९५ देखि २००० सम्म बक्सिङ संघको अध्यक्ष भए, आफ्नो कार्यकालमा उनले एकपटक बक्सिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरेका थिए । प्रायोजक र सहयोगीहरूबाट उठ्नुपर्ने पैसा प्राप्त भइसकेको थिएन । प्रतियोगिता भने जसोतसो सुरु भइसकेको थियो । 

प्रतियोगिताको फाइनल चरणको खेल हुँदै गर्दा मास्केले योजना बनाए — विजेता खेलाडीलाई केही पछिको मिति राखेर पुरस्कारको चेक दिने । खेलाडीहरूले यो थाहा पाएछन् र पुरस्कार नगदमै दिने भए मात्रै रिङमा छिर्ने अडान राखे । ‘खेलाडीको यस्तो अडानपछि म सरासर आफ्नो घर गएँ र सम्झाइबुझाइ गरेर श्रीमतीको गहना लिएर आएँ,’ मास्के भन्छन्, ‘गहना बन्धकी राखेर सात लाख रुपैयाँ नगद आयो र खेल अगाडि बढ्यो ।’ 

थाइल्यान्डका एक मुक्केबाज मास्केका असल मित्र छन् । उनीसँग प्रतिद्वन्द्वी भएर मास्केले केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । सक्रिय खेल जीवनबाट बिदा लिएपछि एकपटक उनीसँग मास्केको भेट भयो । कुरै कुरामा थाहा भयो, ती साथीले थाइल्यान्ड सरकारबाट महिनाको १० हजार अमेरिकी डलर पेन्सन पाउँदा रहेछन् । 

विभिन्न कालखण्डमा देशका लागि ओलम्पिक खेलेका ८२ नेपाली खेलाडीमध्ये अहिले ६२ जना जीवित छन् । लामो समयको मोलतोलपछि हामीकहाँ ओलम्पियनले राज्यबाट मासिक चार हजार रुपैयाँ पेन्सन पाउँछन् । त्यसमा पनि १५ प्रतिशत कर कट्टी हुन्छ । यो पेन्सन पनि खेलाडीले पछिल्लो चार महिनादेखि पाउन सकेका छैनन् । 

‘खेल जीवन सकिएपछि अधिकांश नेपाली खेलाडीले अभावग्रस्त जीवन बिताउँछन् । उसै पनि नेपाली खेलकुदमा होमिने अधिकांश व्यक्ति कमजोर आर्थिक अवस्थाकै हुन्छन् । प्रशिक्षण र प्रतियोगिताका क्रममा पनि उनीहरूले आवश्यक ‘डाइट’ खान पाउँदैनन्,’ मास्के नेपाली खेल जगत् र जीवनको अँध्यारो पक्ष औँल्याउँछन्, ‘कमजोर आर्थिक अवस्थाका कारण कतिले आफ्नो उपचार समेत गर्न सक्दैनन् । अहिले पनि कुनै जमानामा देशका लागि रगत–पसिना बगाएका थुप्रै पूर्वखेलाडी रोगसँग लडिरहेका छन् । आफूभन्दा जुनियर खेलाडीले उपचारको अभावमा जीवन गुमाएको देख्नुपर्दा विरक्त लागेर आउँछ । यस्तो अवस्थामा हामी आफैँ पनि मरेतुल्य हुन्छौँ ।’ 

तस्बिर : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप