सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सिक्किम प्रिमियरमा दर्शकले रूचाए ’जार’

बिहीबार, १८ वैशाख २०८२, २० : ५०
बिहीबार, १८ वैशाख २०८२

सिक्किम । वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ’जार’को सिक्किममा प्रिमियर गरिएको छ ।  गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो । 

चलचित्रको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सहभागी थियो । ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो । पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रिमियरमा सहभागी हुन सकिनन् । 

चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए ।

कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको सङ्गीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ’जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ । 

दिग्गज अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र  निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ’जार’ एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए । 

मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे । चलचित्र हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए । 

चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो । जस्ताको तस्तै उतार्ने प्रयत्नसहित तयार गरिएको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र तालीले स्वागत गरे । 

निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । ’खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौको मेहनतले सम्मान पाउँदा खुसी छु’ , उनले भने । 

अभिनेता द्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ’जार’ले तृप्त बनाउने बताए । आइवी राईको अमर कृतिमा आधारित चलचित्रलाई पनि दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपको छ । 

सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए । 

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ’जार’ टिम सिलिगुरी पुग्नेछ । 

सरवानन इलावार्सुको छायाङ्कन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप