आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेको घोषणा : गठबन्धन भत्काउने, चुनावका लागि ‘मिसन–८४’ नकुर्ने !

सत्तारुढ दलका नेता भन्छन्–सत्ता बाहिर बस्नुपर्दाको छटपटी !
बिहीबार, ०४ माघ २०८०, १८ : ४२
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन भत्काउन र चुनावका लागि ‘मिसन–८४’ नकुर्ने घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई बरबाद हुनबाट जोगाउन वर्तमान सत्ता गठबन्धन भत्काउन जरुरी रहेको र त्यो सम्भव नभए मध्यावधिका लागि तयार रहनुपर्ने आवश्यकता देखिएको भन्दै पार्टी पंक्तिलाई तयार रहन सार्वजनिक रुपमै निर्देशन दिएका छन् ।

साथै उनले सहजै गठबन्धन भत्किएर सरकार परिवर्तनको सम्भावना नरहेकाले आन्दोलनको बलमा सरकार हटाउने र ०८४ सालअघि नै चुनावको सामना गर्नुपर्ने अवस्थाका लागि तयार हुनुपर्ने घोषणा गरेका हुन् । अध्यक्ष ओलीले त्यसका लागि पार्टीले जुनसुकै बेला आन्दोलनको घोषणा गर्न सक्ने भएकाले नेता कार्यकर्तालाई सिट्ठी फुक्ने बित्तिकै आन्दोलनमा होमिन निर्देशन दिए ।

२०७९ मा भएको निर्वाचनमा एमाले संसद्को दोस्रो ठुलो दल बनेको थियो । उक्त निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको गत पुस १० गते एक वर्ष मात्र भएको छ । माओवादी अध्यक्ष प्रचण्डसहित कांग्रेस र एकीकृत समाजवादीबिच आलोपालो पाँच वर्ष सरकार चलाउने सहमति छ ।

वर्तमान सत्ता गठबन्धनको पक्षमा हालसम्म स्पष्ट बहुमत भएकाले संसदीय गणितमा एमालेले सरकार हटाउन सक्ने अवस्था छैन । सोही कुरा बुझेर एमालेले घोषित रुपमै सत्ता गठबन्धनमा रहेका दलहरुलाई आफूतिर तान्ने भगीरथ प्रयत्न गर्दै आएपनि सफल हुन सकेको थिएन । कहिले कांग्रेसको शेखर कोइराला समूहलाई प्रधानमन्त्रीको आस देखाउने त कहिले रास्वपा सभापति रवि लामिछानेलाई अगाडि सार्दै गठबन्धन कमजोर पार्ने प्रयत्नमा लागेको एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनसँग सहकार्य गर्ने प्रस्ताव समेत सफल हुन नसकेपछि अन्तिम प्रहारस्वरुप आन्दोलनको अश्त्र प्रयोग गर्ने निष्कर्षमा पुगेको बताइन्छ । सामान्यतया ५ वर्षमा आवधिक निर्वाचन हुने संवैधानिक व्यवस्था छ । तर एमाले अध्यक्ष ओली किन पटकपटक मध्यावधि निर्वाचनको चर्चा गरिरहन्छन् भन्ने कुरा सोचनीय बन्दै गएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने बताउँदै आएपनि गठबन्धनभित्र बढेको असन्तुष्टि र खटपटलाई मध्यनजर गरेर समेत ओलीले यस्तो अभिव्यक्ति दिएको हुनसक्छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त आफूहरु गठबन्धनमा अट्न नसक्ने अवस्था आइसकेको बताउने गरेका छन् । नेता खनालले रातोपाटीसँगको अन्तर्वार्तामा एमाले माओवादी सहितका कम्युनिस्ट मिलेर सरकार बनाउन प्रस्ताव नै गरेका छन् । उनले भनेका छन्, ‘एमाले, माओवादी, एकीकृत समाजवादीलगायत मिलेर सरकार बनाऔँ ।’

एकीकृत समाजवादीमात्रै होइन जसपा, लोसपा र जनमत पनि सरकारसँग सन्तुष्ट हुन सकेका छैनन् । सत्तामै रहेर पनि ती दल गठबन्धनसँग सन्तुष्ट नहुनुले फेरि नयाँ गठबन्धनको प्रयास त भएको छैन भन्ने प्रश्नले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

‘यो गठबन्धन देशका लागि अत्यन्तै हानिकारक छ । यसले देशलाई बरबाद पारिसक्यो, राष्ट्रियतालाई कमजोर बनाइसक्यो, देशका स्रोतहरु बेचिसक्यो । हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुँजाधँुजा बनाइराखेको छ’, अध्यक्ष ओलीले बिहीबार पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्ने क्रममा भने, ‘त्यसकारण समय घर्किनुभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्ने हुनसक्दछ र यस कुराका लागि हामी तयार रहनुपर्ने आवश्यकता छ ।’

त्यसो त नेकपा एमालेका अध्यक्ष ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा समेत दुई पटक संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने तयारी गरेका थिए । तर सर्वोच्च अदालतका कारण उनको प्रयास सफल हुन सकेको थिएन । त्यसबेला आफ्नो प्रयास सफल हुन नसकेपनि पछिल्ला दिनमा समेत अध्यक्ष ओली बेला कुवेला मध्यावधिको कुरा गर्न छाडेका छैनन् । गत मंसिर महिनामा बसेको सचिवालय बैठकमै पनि अध्यक्ष ओलीले मुलुक पुन मध्यावधि निर्वाचनमा जान सक्ने भन्दै पार्टीका नेताहरुलाई ‘यदि त्यो अवस्था आए आफूहरू पछि हट्न नहुने’, बताएका थिए ।

सचिवालय बैठकमा यस्तो ब्रिफिङ गरेका ओलीले त्यसयता राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका सवालमा सत्ता गठबन्धनसँग सहकार्यका लागि प्रस्ताव समेत गरे । तर ओलीको प्रस्ताव गठबन्धनले अस्वीकार गरेपछि एमाले एक्लै राष्ट्रियसभा सदस्य निर्वाचनमा जाँदैछ । त्यसैले त अध्यक्ष ओलीले बिहीबार एमालेले वर्गसंघर्ष गरिरहेको दावी गरे ।

उनले भने, ‘अहिले देश सबै क्षेत्रमा अप्ठेरो अवस्थामा रहेको छ । एमालेले वर्ग संघर्ष गरिरहेको छ । यसमा हामीले गर्व गर्नसक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्नेभिड्ने आँट नै गर्दैनन् । हामीमात्रै एक्लै लड्छौ र लडिरहेका पनि छौ ।’

अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारलाई तरकारी बारीको बुख्याँचाको संज्ञा दिँदै यो सरकारले केही गर्न नसक्ने दावी समेत गरे । ‘सरकार निकम्मा । भ्रष्टाचार र कमिसनखोरीहरु सरकारको संरक्षक । यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बरबाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ मिसन ०८४ भनेर पर्खेर हुन्छ ? उस्तै पर्‍यो भने हामीले यो गठबन्धन भत्काएर..।’

त्यतिमात्रै होइन अध्यक्ष ओलीले गठबन्धनमा भएकाहरुको घाटीमात्रै होइन सिंगै शरीर जोडिएको भन्दै भ्रष्टाचारी र कमिशनतन्त्रीय वंशका भएको टिप्पणी गरे ।

‘यी एकै नश्लका, एकै वंशका । यी भ्रष्टाचारी वंशका हुन् । यी कमिशनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो, यिनको जात देश द्रोही हो । यी एकै खालका हुन्’, गठबन्धनमा रहेका दलबारे ओलीको टिप्पणी छ ।

कहिले फुक्दैछ एमालेले आन्दोलनको सिट्ठी ?

नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अध्यक्ष ओलीले पार्टी पंक्तिलाई आन्दोलनका लागि तयारी रहन दिएको निर्देशन सोचिविचारी नै आएको बताउँछन् । नेता ढकालले सरकारलाई सच्चिन पटकपटक सुझाव दिँदा पनि नसच्चिएपछि देश नै बरबाद हुनुभन्दा अघि नै आन्दोलन गरेर भएपनि जोगाउनुपर्ने भएकाले एमालेले आन्दोलनको तयारी गरिरहेको बताए । ‘आन्दोलनको बारेमा हामीले अहिलेमात्रै होइन मंसिर ७ गते गरेको आन्दोलनलाई वामअर्प मात्रै हो, थप आन्दोलनकै तयारीमा छौ भनेका थियौ’, ढकालले रातोपाटीसँग भने, ‘त्यसैले हामी सुविचारित ढंगले नै राष्ट्रको संवेदनशिलताप्रति गम्भीर छौ । मुद्दाहरु पनि उठाइरहेका छौ तर सरकार त्यसप्रति जिम्मेवार हुनुको साटो दिनप्रतिदिन उदासीन हुँदै गइरहेको छ ।’

नेता ढकालले आन्दोलनको स्वरुप र तयारीबारे आन्तरिक रुपमा छलफलमै रहेको भन्दै निष्कर्षमा पुगेपछि आन्दोलनको खाका सार्वजनिक गर्ने बताए । ‘अहिले हामी आन्तरिक छलफलमै छाँै । निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौ’, ढकालको भनाइ छ । त्यसो त एमालेले आन्तरिक रुपमा पार्टीका सबै निकायलाई आन्तरिक प्रशिक्षण दिइरहेको छ । पार्टीका विभागदेखि जनवर्गीय  संगठनलाई एमालेले आन्तरिक रुपमा दिएको सबै प्रशिक्षणहरुमा पार्टीले चाँडै आन्दोलनको घोषणा गर्ने तयारी भएकाले सोही अनुसार गृहकार्य गर्न निर्देशन दिएको छ ।

सत्तारुढ दल भन्छन् –सत्ता बाहिर बस्नुपर्दाको छटपटी !

सत्ता गठबन्धनका नेताहरु भने एमालेले गठबन्धन भत्काउने र ८४ अघि नै निर्वाचनको कुरा गरेर जनतालाई भ्रमित गर्ने प्रयास गरिरहेको बताउँछन् ।

सत्तारुढ दल माओवादी केन्द्रका सचिव समेत समेत रहेका सांसद देवेन्द्र पौडेल कुनैपनि हिसाबले मध्यावधिको कुरा गर्ने र गठबन्धन भत्काउने बेला नभएको बताउँछन् ।

‘जटिल बनेको देशको अर्थ प्रणाली अहिले केही सुधार हुँदै गएको छ । त्यस हिसाबले पनि चुना महँगो पर्छ । दोस्रो मध्यावधिमा जाँदा हामीले ल्याएको संघीय प्रणालीको विश्वसनीयता पनि एक वर्षपछि नै चुनावमा जाने कुरा हुँदैन । तेस्रो कुरा अन्तर्राष्ट्रिय विश्वसनीयता पनि हुँदैन’, पौडेलले भने, ‘स्थायित्व पनि हुँदैन । जानुहुँदैन ।’ उनले एमाले अहिले संसद्को दोस्रो ठुलो दल रहेको भन्दै मध्यावधिमा गएपनि भयंकर ठुलो पार्टी हुने सपना नदेख्न सुझाव दिए । ‘अहिले नै ठुलो दल छ त एमाले । देश बरबाद भयो भनेर भन्नुको कुनै अर्थ छैन । किनभने उहाँले देश चलाएको पनि हेरेको हो । त्यसैले अहिले यस्ता कुरा गर्नुभनेको सत्ता नहुँदाको छटपटीमात्र हो’, पौडेलको भनाइ छ ।

नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रमुख विपक्षी एमालेका नेताले सत्ता गठबन्धन भत्काउँछु भन्ने परम्परागत अभिव्यक्ति भएको बताउँछन् । ‘प्रमुख प्रतिपक्षमा रहेको दलको नेताले गठबन्धन भत्काउँछु । सरकार ढाल्छु भन्नु परम्परागत अभिव्यक्ति हो । त्यसबाट सत्ता गठबन्धनमा रहेका दलहरु विचलित भएको जस्तो लाग्दैन’, नेता विश्वकर्माको भनाइ छ ।

उनले अहिले सत्ता गठबन्धनभित्र कुनै किसिमको खटपट नरहेको पनि दाबी गरे । ‘यो गठबन्धन सरकार बनाउनका लागि मात्र होइन । यसले मुलुकको सबै परिवर्तनहरुलाई संस्थागतरुपमा कार्यान्वयन गर्नका लागि बनेको गठबन्धन हो,’विश्वकर्माले रातोपाटीसँग भने ।

आसन्न माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरेर ओलीले अभिव्यक्ति दिएको विश्वकर्माको बुझाइ छ । ‘राष्ट्रियसभा निर्वाचन आइराखेकाले चुनावी मसलाका लागि फण्डा गर्न बोल्नु भएको हुनसक्छ । गठबन्धनमा त्यस्तो अवस्था छैन,’ विश्वकर्माको बुझाई  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप