बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

सिटौलालाई कांग्रेसको किचलोले टाउको दुखाइ

एमालेले राप्रपा, नेकपा एकीकृत समाजवादी र जसपा कार्ड फ्याँक्दै
शुक्रबार, ०५ माघ २०८०, ०८ : ३६
शुक्रबार, ०५ माघ २०८०

विराटनगर । कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाहा शुक्रबार समापन गर्दैछन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गत पुस २३ गते मनोनयन दर्ता गरेसँगै सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाहा सुरु गरेका थिए ।

उनले हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुङ्गाको कार्यक्रम सकेका छन् । अब सोलुखुम्बुमा कार्यक्रम बाँकी छ । सोलुखुम्बुमा शुक्रबार कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षले मतदान गर्नेछन् । उनीहरुसँग भोट माग्ने र आफ्नो स्थितिको आकलन गर्न सिटौलाले अभियान सञ्चालन गरेका हुन् ।

‘भोलि सोलुखुम्बुमा कार्यक्रम आयोजना गरिएको छ । सोलु बाहेक आजसम्ममा १० वटा कार्यक्रम सकिएको छ,’ कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले भने, ‘मतभारले गठबन्धन नै अगाडि छ । समस्या हुँदैन । चलखेल भए पनि हामीलाई जितबाट रोक्न कसैले सक्दैन ।’

उनले यो पटक सिटौलालाई जिताउन कांग्रेस एकढिक्का रहेको पनि दाबी गरे । ‘समग्रमा रेस्पोन्स राम्रो छ । कांग्रेसभित्र गुटबन्दी पनि देखिएको छैन । उहाँलाई कांग्रेसले एक ढिक्का भएर सहयोग गर्छ । गठबन्धनका अरु दलमा पनि कुनै समस्या देखिएको छैन,’ थापाले भने ।

सिटौलालाई केही समय अगाडिसम्म कांग्रेस नेता डाक्टर शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा निकटकाहरुबाट असहयोग हुने हो कि भन्ने आशङ्का थियो । तर, जिल्ला–जिल्लामा भएको कार्यक्रमबाट उक्त आशङ्का र भ्रम मेटिएको थापाले बताए ।

उता, कांग्रेसकै कतिपय नेताहरु भने सिटौलाका लागि निर्वाचन सजिलो नरहेको बताउँछन् । एमालेले गर्ने चलखेल र राजनीतिक कदमले सिटौलालाई यस पटक पनि असजिलो हुनसक्ने ती नेताको तर्क छ । एमालेले राप्रपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्रहरुको मत तान्ने परिस्थिति बनेको खण्डमा सिटौलासँगै गठबन्धनकी अर्की उम्मेद्वार चम्पादेवी कार्कीलाई धक्का लाग्न सक्ने उनीहरुको आकलन छ ।

एमालेले नेकपा एकीकृत समाजवादीको सांसदको भन्दा पनि स्थानीय तहका प्रमुख उपप्रमुखको मत तान्ने रणनीति बनाएको स्रोतले बतायो । त्यस्तो परिस्थितिमा नेकपा एकीकृत समाजवादीको १३३ मत आफूलाई आउने एमालेको आकलन छ ।

कोशी प्रदेशमा एमालेको मतभार ४ हजार २१०, राप्रपाको ३९४, नेकपा (एकीकृत समाजवादी)को ३४५, जसपाको १२९ र स्वतन्त्रहरुको ५७ छ । एमालेले साना यी पार्टी र स्वतन्त्रहरुलाई एकत्रित गर्नसके ५ हजार १३५ मतभार प्राप्त गर्न सक्नेछ । त्यस्तो परिस्थितिमा गठबन्धनको उम्मेदवार रहेका सिटौला र कार्कीका लागि कांग्रेस र माओवादीको मात्रै मत केन्द्रित हुनसक्छ ।

त्यस्तो अवस्थामा कांग्रेसको ३ हजार ७२२ र माओवादीको १ हजार २७८ मात्रै मतभार रहन्छ । यी दुई पार्टीको मतभार ५ हजार मात्रै हुन्छ । यद्यपि एमालेलाई नेकपा एकीकृत समाजवादीको सबै मत र स्वतन्त्रको सबै मत प्राप्त गर्न भने कठिन हुनेछ । स्वतन्त्रमा धरानका प्रमुख हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली छन् । प्रमुख साम्पाङको झुकाव कता छ भन्ने सक्ने अवस्था छैन भने कुलुङ एमाले र रुम्दाली कांग्रेस निकटका हुन् ।

एमालेले नेकपा एकीकृत समाजवादीको सांसदको भन्दा पनि स्थानीय तहका प्रमुख उपप्रमुखको मत तान्ने रणनीति बनाएको स्रोतले बतायो । त्यस्तो परिस्थितिमा नेकपा एकीकृत समाजवादीको १३३ मत आफूलाई आउने एमालेको आकलन छ ।

राप्रपाको मत तान्नका लागि भने एमालेले राप्रपाकै उम्मेद्वारलाई सहयोग गरेर महिला उम्मेदवार जिताउने रणनीति बनाएको स्रोतको दाबी छ । राप्रपाका पुरुष अन्यमा उद्धव पौडेल र एमालेको महिला उम्मेदवार रुक्मिणी कोइराला उम्मेदवार छन् । तर, एमालेको कुनै पनि योजना सफल हुन नसक्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले बताए । ‘उहाँहरूको यस्तो इच्छा पूरा हुँदैन, गठबन्धनले सानदार ढङ्गले निर्वाचन जित्छ । हामीले हाम्रा भोटहरुलाई सुरक्षित राखेका छौँ,’ उनले भने, ‘एमालेले राप्रपासँग मिलेर जाने भन्ने हामीले पनि सुनेका छौँ । त्यसो हुँदा पनि गठबन्धनलाई सहज छ ।’

कोशी प्रदेशमा पुरुष अन्य र महिला कोटामा निर्वाचन हुन लागेको हो । उक्त कोटामा गठबन्धनबाट सिटौला र माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । दुवै जनाले एकीकृत ढङ्गले अभियान चलाइरहेका छन् । एमालेले भने पुरुष अन्यमा परशुराम अधिकारी र महिलामा रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउँदा राप्रपाले भने उद्धव पौडेललाई मात्रै उम्मेद्वार बनाएको छ । एमालेले अधिकारीलाई ब्याक गराएर राप्रपाका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सम्बन्धलाई पनि सन्तुलनमा राख्न खोजेको कतिपयको भनाइ छ । राप्रपाका उम्मेद्वार पौडेल लामिछानेकी श्रीमती निकिता पौडेलको बुबा हुन् ।

सिटौलालाई सघाउँदै नेताहरू

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै जोडबलमा राष्ट्रियसभाको अध्यक्ष बनाउने योजनाका साथ सिटौलालाई अगाडि सारिएको कतिपय बताउँछन् । त्यसका लागि प्रचण्डले कांग्रेस संस्थापनइतर पक्ष शेखर कोइराला तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत कन्भिन्स गरेको कांग्रेसकै नेताहरु बताउँछन् । ‘यसपटक सिटौलालाई निःशर्त समर्थन गर्ने कुरा नेताहरुबाटै आएको छ,’ शेखर कोइराला निकट एक नेताले भने, ‘अहिले सिटौलालाई जिताउँदा उहाँको सहज व्यवस्थापन हुन्छ र फेरि हामीले झेल्नु पर्दैन भन्ने कुरा हो ।’

उमेरले ७७ वर्ष पुगिसकेका सिटौला विजयी बने अबका ६ वर्ष राष्ट्रियसभा मै बिताउने छन् । जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटक मात्रै विजयको स्वाद चाखेका छन् ।

त्यही भएर पनि गठबन्धनका उम्मेदवारलाई जसरी पनि निर्वाचनमा विजयी बनाउन कांग्रेस नेताहरु शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय नेता प्रदिप पौडेलसम्म निर्वाचन प्रचार अभियानमा खटिएका छन् । झापा, मोरङ, सुनसरीमा कोइराला र शर्माले हरेक कार्यक्रममा सिटौलालाई समर्थन गर्दै भाषण गरेका थिए । यस्तै पौडेल भने पहाडी जिल्ला पनि उक्लिएका छन् ।

यस्तै सिटौला र कार्कीको साथमा माओवादी नेताहरू राम कार्की, इन्द्रबहादुर आङ्बो, हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका नेता बलदेव चौधरीलगायतका नेताहरु पनि लागेका छन् । सिटौलालाई निर्वाचनमा सघाउन कै लागि महामन्त्री गगन थापा आउँदो माघ ९ गते विराटनगर आउने बताइएको छ ।

उमेरले ७७ वर्ष पुगिसकेका सिटौला विजयी बने अबका ६ वर्ष राष्ट्रियसभा मै बिताउने छन् । जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटक मात्रै विजयको स्वाद चाखेका छन् । निर्वाचन आयोगले ११ माघमा राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदका लागि निर्वाचन गर्दैछ । जहाँ आफ्नो जित सुनिश्चत गर्न सिटौला वृद्धाअवस्थामा पनि दौडिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप