सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किन उपेक्षित छन् सहिद, बिदा दिँदा के जान्थ्यो ?

मङ्गलबार, १६ माघ २०८०, १७ : ३१
मङ्गलबार, १६ माघ २०८०

सन् १७६३ को डिसेम्बर १७ मा अमेरिकामा प्रकाशित समाचारको अंश हो यो (फोटोमा दिइएको) । त्यतिबेला हामी बाइसी तथा चौबीसी राज्यमा विभाजित थियौँ । यस समाचारको अंशमा ती अमेरिकी छोराछोरीको प्रशंसा गरिएको छ, जसले देशको स्वतन्त्रताका लागि जीवन बलिदान गरे । यसरी जीवन बलिदान गर्नेमध्ये अमेरिकी स्वतन्त्रता सेनानी स्यामुअल अडाम्स एक हुन् । उनको अगुवाइमा सुरु भएको स्वतन्त्रताको लडाइँले सन् १७७६ को जुलाई ४ का दिन अमेरिकालाई बेलायती उपनिवेशबाट स्वतन्त्रता दिलायो । यसै कारण आज संयुक्त राज्य अमेरिकाका नामले उक्त मुलुक ५० वटा राज्यमा समाहित छ । 

Sons-of-Liberty

स्वतन्त्रता सेनानीका सन्तानलाई मात्र होइन, आज पनि अमेरिकामा कुनै पनि सरकारी सुविधाका लागि आवेदन माग्दा भेटेरान अथवा सैनिक पृष्ठभूमिका मानिस वा निजका सन्तानलाई पहिलो प्राथमिकतामा राखिन्छ । अमेरिकी पूर्वविदेश मन्त्री कोलिन पावेल पनि चारतारे जर्नेल थिए । 

यता भारतमा सन् १८५७ मा भएको सिपाही विद्रोहलाई स्वतन्त्रताको पहिलो लडाइँका रूपमा लिइन्छ । मेरठबाट सुरु भएको उक्त विद्रोहमा बंगाल आर्मीका सिपाही मंगल पाण्डेयले बेलायती हाकिममाथि गोली प्रहार गरेर विद्रोह सुरु गरेका थिए । उनलाई तुरुन्तै गोली हानेर मारियो । यस आन्दोलनमा बंगाल आर्मीका ७४ मध्ये ४५ जना सहभागी थिए, धेरै सैनिक मारिए । यो विद्रोह दबाउन कम्पनी सरकारलाई दुई वर्ष लागेको थियो । 

आज पनि अमेरिकीहरू अडाम्सलाई सम्झन्छन् । हरेक जुलाई ४ मा उनको सम्झना गरिन्छ । राष्ट्रिय बिदा दिइन्छ । यता भारतमा पनि स्वतन्त्रता दिवसका दिन अनिवार्य रूपमा सिपाही विद्रोहका नायकहरूको स्मरण गरिन्छ । 

हाम्रो देशमा भने हामी सहिदलाई सम्झन कन्जुस्याइँ गर्दछौँ । राणाशासनविरुद्ध लडेका ती चार सहिदहरू हाम्रा लागि अडाम्स वा पाण्डेयभन्दा कम होइनन् । यी चार सहिदलाई आदर गर्दा त्यसपछि देशका लागि बलिदान गर्ने व्यक्तित्वलाई अनादर गरेको मानिन्छ र ? के पुगेन र सरकारलाई सहिद दिवसका बिदा दिन सकेन ? देशका लागि ज्यान बलिदान गर्नेलाई सरकारले नै ‘अन्डरमाइन’ गर्न मिल्छ ? पञ्चायतकाल तथा प्रजातन्त्रको पुनरबहालीपछि लगातार रूपमा सहिद सप्ताह मनाइन्थ्यो । माघ १६ मा बिदा दिइन्थ्यो । गणतन्त्र आएपछि पनि सहिद दिवसका दिन बिदा दिइथ्यो तर वर्तमान सरकारलाई किन राष्ट्रिय बिदा दिन मन परेन ? सरकारका उच्च अधिकारीहरू देशभर सहिदका गीत गाउन व्यस्त छन् । सहिद दिवसको बिदा कटाएर सरकार प्रमुखहरू पूजाअर्चना, फूलमाला अर्पण आदिमा रमाउँदा किन लज्जित बन्दैनन् ?  

  • चुके मधेसवादी पनि 

दुर्गानन्द झा जनकपुरका युवा थिए । त्यतिबेलाका कट्टर कांग्रेसी युवा । त्यतिबेलाको कांग्रेसले राजालाई आदर्शकै रूपमा लिन्थ्यो । भर्खरै नेपालमा कू भएको थियो । कू भएको १३ महिनापछि २०१८ माघ १ गते राजा महेन्द्र जनकपुरधाम भ्रमणमा गए । दुर्गानन्दले राजामाथि बम प्रहार गरे । राजालाई केही भएन, तर गाडीमा सामान्य क्षति पुग्यो । भर्खरै पञ्चायत आएका बेला महेन्द्रको जगजगी थियो । उनले मधेसी मूलकै न्यायाधीशमार्फत झालाई मृत्युदण्डको सजाय दिने फैसला गराए । पछि त्यसलाई सर्वोच्चबाट पनि अनुमोदन गराइयो । गाथगादी ताकेको दोष लगाएर मृत्युदण्डको सजाय तोकियो । झा मिथिला ब्राह्मण भएकाले बाहुनलाई हत्या गर्नुहुन्न भन्ने कानुनी व्यवस्था थियो । राणाकालमा लागू गरेको मुलुकी ऐनले बाहुनको हत्या गर्न नहुने व्यवस्था गरेको थियो । यही कानुनका कारण राणाविरोधी आन्दोलनमा लागेकामध्ये टंकप्रसाद आचार्यलाई आजीवन कारावासको सजाय दिइएको थियो । बाँकी चारजना क्षेत्रीय तथा नेवार जातिका भएकाले वि.सं. १९९७ मा मारियो । 

दुर्गानन्द झालाई अदालतले फाँसीकै फैसला सुनाए पनि ब्राह्मण मार्न नमिल्ने कानुनका कारण राजा महेन्द्रकै इच्छा अनुसार राजद्रोह वा गाथगादी ताक्ने जुनसुकै जातको प्रजा भए पनि मृत्युदण्ड दिन सकिने कानुनी व्यवस्था गरियो । अझ यहाँ सम्झिनुपर्ने विषय के हो भने अदालतले कानुनको अभावमै फैसला सुनाएको थियो । त्योभन्दा पनि चाखलाग्दो विषय, अदालतको सजायपछि त्यसलाई पुष्टि गर्ने कानुन बनाइयो । २०१९ फागुनमा मृत्युदण्डको सजाय सुनाइएका झालाई त्यसको ६ महिनापछि २०२० भदौमा मुलुकी ऐनमै संशोधन गरी गाथगादी ताक्ने जोसुकैलाई पनि मृत्युदण्डको सजाय दिन सकिने व्यवस्था थप गरियो, तर कानुनको व्यवस्थालाई हेर्ने हो भने कानुन बनेपछि लागु हुने हो, कानुन बन्नुअघि भविष्यमा बन्ने कानुनलाई कानुन मान्न सकिँदैन । झालाई सजाय तोकिसकेपछि मुलुकी ऐनलाई राजाले असोज ६ मा लालमोहर लगाएको प्रमाण भेटिन्छ । अदालतले फैसला गरेको करिब एक वर्षपछि २०२० माघ १५ गते झालाई केन्द्रीय कारागारबाहिरको रूखमा झुन्ड्याइयो । उनको शरीर परिवारजनलाई फिर्ता समेत गरिएन । झालाई माफी माग्न दबाब दिइएको बताइन्छ, तर उनी झुकेनन् । 

यसरी गणतन्त्रका लागि ज्यान बलिदान गरेका नेतालाई राज्यले लामो समयपछि मात्र सहिद घोषणा गर्‍यो । 

तिनै सहिद झाले सुरु गरेको आन्दोलनलाई आधार मानेर अघि बढेको मधेस आन्दोलनले आफ्नो प्रदेश नै स्थापना गर्न सफल भयो, तर जानाजान हो वा अन्जानमा हो मधेस सरकारले तिनै सहिदलाई नकारात्मक रूपमा प्रस्तुत गरेको छ । मधेस प्रदेश सरकारकै लगानीमा बनेको मधेस गानमा सहिद झालाई आतंकवादी का रूपमा प्रस्तुत गरियो । 

गान सार्वजनिक भएकै दिन प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकारले नै आपत्ति जनाए । ‘मधेस गानप्रति मेरो आपत्ति छ है’ मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले फेसबुकमा लेखेका थिए । उनले मधेसी समाज शान्तिप्रिय समाज रहेको र न्याय र समानताका लागि लड्दै आएको पनि उल्लेख गरेका थिए । 

खै किन हो, राष्ट्र यसरी संकुचित बन्दछ । समाज यसरी बेहाल बन्दछ, अनर्गल बन्दछ । हाल पदमा रहेका वा पद बाहिर रहेकाहरूले कानुन नै बनाएर देशको ढुकुटीमा मस्ती मारेका छन् । हरेकपटक आयोजना गरिने कार्यक्रमहरूमा विभाजित रूपमै भए पनि सहिदको सम्झना गरिन्छ । कोही वाम सहिद, कोही कांग्रेसी सहिद, मधेसवादी सहिद, पहिचानवादी सहिद तर खै त सम्मान प्रतातन्त्रका लागि ज्यान गुमाउने सहिदहरूलाई ? यतिका दिन छुट्टी दिइँदा राष्ट्रलाई क्षति नहुने तर यिनै सहिदको नाममा छुट्टी दिँदा देश अधो गतिमा लाग्ने नै हो त ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप