शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
घुस प्रकरण

गोल्ड मेडलिष्ट उपसचिव नेपाल भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष जेल सजाय

सरकारी छात्रवृत्तिमै बेलायतमा समेत अध्ययनको अवसर
शुक्रबार, १९ माघ २०८०, १७ : ४१
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ ।  घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार शुक्रवारको सुनुवाइपछि प्रतिवादी उपसचिव प्रमोद नेपाललाई दोषी ठहर गर्ने फैसला भएको छ । प्रमोद नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।

बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो । यद्यपि बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाइ घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए ।

भएको के थियो ?

२०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परे । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए ।

पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए । 

उनै उपसचिव नेपाल २०७९ साउन १७ गते एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित पक्राउ परेका थिए । प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिने क्रममा उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा रेकी गरी पिछा गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख घुस रकम लिएर गाडीको ड्यासबोर्डमा राख्ने बित्तिकै उनलाई पक्राउ गरिएको थियो । 

३ वर्ष अनुमति होल्ड गरेर घुस मागेका थिए नेपालले

केही पर्यटन व्यवसायीहरूले म्याग्दीमा प्याराग्लाइडिङ उडानका लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति दिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण पछि उक्त फाइल पर्यटन मन्त्रालयमा आइपुगेको थियो । उक्त फाइलको टिप्पणी उपसचिव प्रमोद नेपालले उठाउनुपर्ने थियो । तर उनले लामो समयदेखि उक्त फाइलको टिप्पणी नउठाई बार्गेनिङ गरेर बसेका थिए । 

प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर भए पनि फाइल सदर गराउनुपर्ने दबाबमा पुगे । त्यसपछि उनीहरूले उपसचिव नेपाललाई घुस रकम दिने निधो गरे । लामो बार्गेनिङ पछि ६ लाख रुपैयाँ घुसमा काम गरिदिने सहमति बन्यो । पर्यटन व्यवसायी पनि घुस दिएर काम गराउन तयार भए । 

तर नियमसंगत गर्नुपर्ने काममा पनि उपसचिवले दुःख दिएपछि पर्यटन व्यवसायीले यो कुराको जानकारी अख्तियारमा दिए । अनि आफूहरू घुस रकम दिन जान लागेको जानकारी गराए लगत्तै अख्तियारको टोलीले सेवाग्राही र उपसचिवको पिछा गर्यो । 

२०७९ साउन १७ गते अपराह्न २ः३० बजे उपसचिव नेपाल नागपोखरीको अरण्य होटलमा पुगे । होटलमा पहिले नै एक व्यक्ति उपसचिवलाई कुरेर बसिरहेका थिए । उपसचिव र ती व्यक्तिबीच कुराकानी भयो र अर्का व्यक्तिले एउटा झोला दिए । उपसचिव नेपाल उक्त झोला आफ्नो कारमा राखेर पुनः होटलमा आए ।

त्यसको केही समयपछि प्याराग्लाइडिङका लागि अनुमति माग गरेका सेवाग्राही पनि त्यही होटलमा पुगे । अनि केही समयपछि ती सेवाग्राहीले एउटा सानो झोलामा ६ लाख रुपैयाँ दिए । उपसचिव नेपालले उक्त रकम गाडीमै गएर दिन भने । सेवाग्राही र उपसचिव नेपाल सँगै गाडीमा गए र गाडीको अघिल्लो भागमा रहेको ड्यासबोर्डमा ६ लाख रुपैयाँ राखेर निस्किए ।

त्यसलगत्तै जान लागेका उपसचिव नेपाललाई अख्तियारको टोलीले नियन्त्रणमा लियो । अख्तियारको टोलीले सोधपुछ गर्दा उपसचिव नेपालले अख्तियारका कर्मचारीलाई झर्की र फर्की गरे । सूचना तथा जानकारी माग गर्दा पनि उनले केही जानकारी दिएनन् । 

सुरुमै गाडीको अगाडि रहेको ड्यासबोर्डबाट अख्तियारको टोलीले रकम झिकी यो रकम कहाँबाट आयो भनेर जानकारी माग गर्दा उपसचिव नेपालले आफूलाई उक्त रकमबारे केही जानकारी नभएको बताए । बरु आफूलाई फसाउनका लागि कोही कसैले रकम राखिदिएको हुनसक्छ भन्दै रकमबारे अनभिज्ञता प्रकट गरे ।

अख्तियारको टोलीले सुरुमा गाडीको अगाडि भागबाट ६ लाख रुपैयाँ मात्रै बरामद गरेको थियो । त्यसपछि फेरि उपसचिव नेपालको गाडी खानतलासी गर्ने क्रममा गाडी भित्रबाट अर्को १६ लाख ५० हजार रुपैयाँ बरामद भयो । तर त्यो पैसाको स्रोत पनि उनले खुलाउन सकेनन् ।

तर पछि उक्त रकमबारे सोधी खोजी हुँदा र झोला दिने व्यक्तिको खोजी गर्दै गर्दा उक्त रकम पनि घुसबापत नै दिएको खुल्यो । हवाई इजाजत पत्र नवीकरण गर्नका लागि बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले उक्त रकम दिएको खुलेपछि हरिभक्त श्रेष्ठलाई पनि मतियार बनाएर अख्तियारले मुद्दा चलाएको थियो । 

नेपाल सरकारले छात्रवृत्तिमा पढ्न पढाएको थियो बेलायत

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गोल्ड मेडल पाए लगत्तै उपसचिव नेपाललाई नेपाल सरकारले छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायत पठाएको थियो । छात्रवृत्तिको अध्ययन सकाएर नेपाल पक्राउ पर्नुभन्दा ८ महिना अगाडि मात्रै नेपाल फर्किएर पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखामा काम गर्न थालेका थिए । उक्त महाशाखाको हवाई सम्झौता तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुख थिए, उपसचिव प्रमोद नेपाल । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप