आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

घुससहित पक्राउ परेका उपसचिव भन्छन्, ‘पैसा कसले राखिदियो थाहा भएन’

प्याटर्न बिर्सिएँ भन्दै मोबाइल खोल्न मानेनन्
बिहीबार, १९ साउन २०७९, १७ : ३१
बिहीबार, १९ साउन २०७९

मंगलबार अपराह्न साढे २२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए । 

उपसचिव नेपाल साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित पक्राउ परे । प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिने क्रममा उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा रेकी गरी पिछा गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख घुस रकम लिएर गाडीको ड्यासबोर्डमा राख्नेबित्तिकै उपसचिव नेपाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । लामो समय होटल अरण्यमा उपसचिव नेपालको रेकी गरेको अख्तियारको टोलीले ६ लाख घुस दिनुभन्दा अगाडि पनि अर्को व्यक्तिसँग पैसा लिएको देखेको थियो । तीन वर्षदेखि होल्ड थियो उडान अनुमति

केही पर्यटन व्यवसायीहरूले म्याग्दीमा प्याराग्लाइडिङ उडानका लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति दिएका थिए । नागरिक उड्डयन प्राधिकरण पछि उक्त फाइल पर्यटन मन्त्रालयमा आइपुगेको थियो । उक्त फाइलको टिप्पणी उपसचिव प्रमोद नेपालले उठाउनुपर्ने थियो । तर उनले लामो समयदेखि उक्त फाइलको टिप्पणी नउठाई बार्गेनिङ गरेर बसेका थिए । 

प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर भए पनि फाइल सदर गराउनुपर्ने दबाबमा पुगे । त्यसपछि उनीहरूले उपसचिव नेपाललाई घुस रकम दिने निधो गरे । लामो बार्गेनिङ पछि ६ लाख रुपैयाँमा काम गर्ने सहमति बन्यो र पर्यटन व्यवसायी घुस दिन तयार भए । 

तर नियमसंगत गर्नुपर्ने काममा पनि उपसचिवले दुःख दिएपछि पर्यटन व्यवसायीले यो कुराको जानकारी अख्तियारमा दिए । अनि आफूहरू घुस रकम दिन जान लागेको जानकारी गराए लगत्तै अख्तियारको टोलीले सेवाग्राही र उपसचिवको पिछा ग¥यो । 

मंगलबार अपराह्न २ः३० बजे उपसचिव नेपाल नागपोखरीको अरण्य होटलमा पुगे । होटलमा पहिले नै एक व्यक्ति उपसचिवलाई कुरेर बसिरहेका थिए । उपसचिव र ती व्यक्तिबीच कुराकानी भयो र अर्का व्यक्तिले एउटा झोला दिए । उपसचिव नेपाल उक्त झोला आफ्नो कारमा राखेर पुनः होटलमा आए ।

त्यसको केही समयपछि प्याराग्लाइडिङका लागि अनुमति माग गरेका सेवाग्राही पनि त्यही होटलमा पुगे । अनि केही समयपछि ती सेवाग्राहीले एउटा सानो झोलामा ६ लाख रुपैयाँ दिए । उपसचिव नेपालले उक्त रकम गाडीमै गएर दिन भने । सेवाग्राही र उपसचिव नेपाल सँगै गाडीमा गए र गाडीको अघिल्लो भागमा रहेको ड्यासबोर्डमा ६ लाख रुपैयाँ राखेर निस्किए । त्यसलगत्तै जान लागेका उपसचिव नेपाललाई अख्तियारको टोलीले नियन्त्रणमा लियो । 

अख्तियारको टोलीले सोधपुछ गर्दा उपसचिव नेपालले अख्तियारका कर्मचारीलाई झर्की र फर्की गरे । सूचना तथा जानकारी माग गर्दा पनि उनले केही जानकारी दिएनन् । 

सुरुमै गाडीको अगाडि रहेको ड्यासबोर्डबाट अख्तियारको टोलीले रकम झिकी यो रकम कहाँबाट आयो भनेर जानकारी माग गर्दा उपसचिव नेपालले आफूलाई उक्त रकमबारे केही जानकारी नभएको बताए । अख्तियारले सोधपुछ गर्दै गर्दा सँगै रहेका होटलका एक कर्मचारीले रातोपाटीसँग भने, ‘केही मान्छेहरु आएर सरकारी प्लेटकै गाडीलाई नियन्त्रणमा लिएर सोधपुछ गरे । अनि गाडीको अगाडिबाट पैसा निकालेर यो पैसा कसले किन दिएको भनेर सोध्दा उनले त्यो पैसाबारे आफूलाई जानकारी नभएको र कसैले फसाउनका लागि उक्त पैसा राखिदिएको हुनसक्ने भनेका थिए ।’

होटलका ती कर्मचारीका अनुसार उपसचिव नेपालले अख्तियारका कर्मचारीसँग पनि हप्कीदप्की गरेका थिए । अख्तियारको टोलीले सुरुमा गाडीको अगाडि भागबाट ६ लाख रुपैयाँमात्रै बरामद गरेको थियो । त्यसपछि गाडीको खानतलासी गर्ने क्रममा गाडी भित्रबाट अर्को १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भयो । तर त्यो पैसाको स्रोत पनि उनले खुलाउन सकेनन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालको गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटमा राखेको अवस्थामा थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेको प्रवक्ता भण्डारीले बताए । 

भण्डारीले रातोपाटीसँग भने, ‘सुरुमा हामीलाई ६ लाख रुपैयाँको मात्रै जानकारी थियो । सोही आधारमा हाम्रो टोली अनुसन्धानका लागि खटिएको थियो । तर जब ६ लाख घुस दिएर सेवाग्राही निस्किए, त्यसलगत्तै उपसचिव नेपाललाई पक्राउ गरी गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटबाट पनि थप १६ लाख ५० हजार रुपैयाँ बरामद भयो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । हामीलाई उक्त रकम पनि घुसबापत नै लिएको हो कि भन्ने शंका रहेको छ ।’

अख्तियार स्रोतका अनुसार उपसचिव नेपालले उक्त रकम पनि सोही होटलमा अर्का एक व्यक्तिबाट लिएर आफैँले गाडीमा लगेर राखेका थिए । तर उक्त रकम घुस हो कि होइन भन्ने सम्बन्धमा अझै स्पष्ट भएको छैन । यद्यपि अर्का व्यक्तिबाट पनि घुस लिएको अनुमान गरिएको अख्तियार स्रोतले बताएको छ । 

उपसचिव नेपालले भने, ‘मोबाइलको प्याटर्न बिर्सिए’

अख्तियारको टोलीले नियन्त्रणमा लिएलगत्तै नेपालमाथि अनुसन्धान सुरु गरेको थियो । होटल अरण्यमै करिब ४ घण्टा बिताएको अख्तियारको टोलीले १६ लाख ५० हजार रुपैयाँको स्रोतबारे पनि धेरै सोधखोज गरेको होटलका कर्मचारीले बताए । यद्यपि उपसचिव नेपालले उक्त रकमबारे चित्तबुझ्दो जवाफ दिन सकेनन् । 

सुरुमा उक्त रकम आफ्नै भएको र दुई दिनदेखि गाडीमै रहेको बताएका उपसचिव नेपालले पछि उक्त रकममध्ये १० लाख रुपैयाँ आफ्नै सेयर बेचेको रकम भएको र ६ लाख ५० हजार रुपैयाँ साथीसँग सापटी लिएको बताएका थिए । कुन ब्रोकरबाट सेयर बेचेको र कुन साथीबाट सापटी लिएको भन्दा उपसचिव नेपालले साथीको नाम नै बिर्सिएको बताए । मोबाइल नम्बर त होलानी भन्दा त्यो पनि याद नभएको जवाफ अख्तियारका कर्मचारीलाई दिइएको थियो ।

अख्तियारको टोलीले नेपालको मोबाइल जफत गरी प्याटर्न अनलक गर्न भन्दा प्याटर्न पनि बिर्सिएको जवाफ दिएको होटलका कर्मचारीले बताए । होटलका कर्मचारीले भने, ‘उनको मोबाइलको प्याटर्न हो कि लक कोड खोल्न अख्तियारको कर्मचारीले आग्रह गरेको थियो । तर उनले प्याटर्न नै बिर्सिए भन्ने जवाफ दिए । प्याटर्न पनि बिर्सिन्छ त भन्ने प्रश्न गर्दा यस्तो टेन्सनमा त बिर्सिहाल्छ नि भन्ने जवाफ पो दिए ।’

पहिले पनि ८ लाख घुस लिएको आरोप थियो

पर्यटन मन्त्रालयकै एक अधिकृतका अनुसार उपसचिव नेपालले पहिले पनि एक सेवाग्राहीबाट ८ लाख घुस लिएको आरोप लागेको थियो । मन्त्रालयका एक अधिकृतले रातोपाटीसँग भने, ‘हवाई उड्डयन महाशाखाबाटै उडान अनुमति दिने भएकाले पहिले पनि यस्तै साहसिक पर्यटकीय खेल वा उडानका लागि अनुमति दिने क्रममा एक सेवाग्राहीसँग ८ लाख घुस लिएको आरोप लागेको थियो । तर उक्त आरोप पुष्टी हुन सकेन । यद्यपि मन्त्रालयका सबैजसो कर्मचारीलाई उनले घुस खाएको भन्ने जानकारी थियो । उनी अझ ढिलो पक्राउ परे जस्तो लाग्छ । व्यवहारअनुसार त उनी धेरै पहिले नै पक्राउ परिसक्नु पर्ने थियो ।’

बेलायतबाट ८ महिना अगाडिमात्रै फर्किएका थिए उपसचिव नेपाल

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गोल्ड मेडल पाएलगत्तै उपसचिव नेपाललाई नेपाल सरकारले छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायत पठाएको थियो । छात्रवृत्तिको अध्ययन सकाएर नेपाल आठ महिना अगाडि मात्रै नेपाल फर्किएर पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखामा काम गर्न थालेका थिए । उक्त महाशाखाको हवाई सम्झौता तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन शाखाको उनी प्रमुख रहेका थिए । 

उपसचिवलाई कोभिड, प्रहरी अस्पतालमा भर्ना गरियो

मंगलबार अख्तियारको टोलीले पक्राउ गरेका उपसचिव नेपाललाई कोभिड पोजिटिभ देखिएपछि उनलाई बुधबार नै नेपाल प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई कोभिड भएको कारण बयान लिन नपाइएको र कोभिड नेगेटिभसँगै स्वास्थ्यमा सुधार आएपछि थप अनुसन्धान र बयानको काम सुरु हुने प्रवक्ता भण्डारीले बताए । उनलाई बुधबार मात्रै विशेष अदालतबाट म्याद थप गरी अख्तियारको हिरासतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप