बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

स्रष्टा भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र

शनिबार, २० माघ २०८०, २१ : १५
शनिबार, २० माघ २०८०

काठमाडौँ । कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औँल्याएका छन् । शनिवार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूवनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्ताबेज हुन सक्ने कुरा औँल्याइएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक सावित्री मल्ल कक्षपतिले यो कृति नीति निर्मातासम्म पुग्नुपर्ने बताइन् । कृतिमा जातीय एवम् भाषिक अध्ययनको मर्म समेत भेटिने बताउँदै कक्षपतिले ‘आकाश ओढेको डोल्पो’ जस्तै कृतिले आन्तरिक पर्यटन प्रवर्द्धन एवम् विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताइन् ।

‘पर्यटन व्यवसायीबाट सुनिन्छ, अचेल विदेशीले भन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्छन्,’ उनले भनिन्, ‘यिनै पक्षलाई प्रवर्द्धन गर्न पनि खतिवडाको कृति हरेक विकास निर्माताले पढ्नुपर्छ ।’ यो एउटा साहित्यिक वा नियात्रा कृति मात्रै नरहेर डोल्पा जिल्लाको विकासको सपना देखाउने हरेकले पढ्नुपर्ने उनको भनाइ थियो ।

समालोचक कक्षपतिले भवानी खतिवडाले आउँदा दिनमा यस्तै र अझ सशक्त कृतिहरू सिर्जना गर्दै जानुपर्ने धारणा राखेकी थिइन् । भूमि, भूगोल, भाषा, धर्म, जीवनपद्धति र रहनसहनको समेत मिहिन उत्खनन् गरेर लेखिएको ‘आकाश ओढेको डोल्पो’ नियात्रा साहित्यमा फरक एवम् मौलिक खालको पहिचान राख्न सफल हुने उनको विश्लेषण थियो ।

कार्यक्रम सञ्चालन र संयोजनको भूमिका निर्वाह गरेका पर्वतीय साहित्य समाजका अध्यक्ष, हिमालका अध्येता तथा नियात्राकार प्रतीक ढकालले हिउँसँग खेल्न नडराउने जुझारु र हिम्मतिली नियात्राकारको रूपमा भवानीले आफ्नो पहिचान स्थापित गरिसकेको टिप्पणी गरे ।

‘हिमालको धनी देशमा जन्मेर हामीले त्यसको मर्म बुझ्न सकेका छैनौँ, अब त्यो अभियानमा लाग्नुपर्छ,’ उनले भने, ‘भवानी जस्ता धेरै महिला नियात्राकारले यस क्षेत्रमा कलम चलाउन जरुरी छ ।’

हिमाललाई ‘छुरी बोकेकी सुन्दरी’को उपमा दिँदै ढकालले हिमालमा हिँड्नु, त्यसकै कथा लेख्नु र त्यहाँको जनजीवन केलाउनु साँच्चै चुनौतीपूर्ण रहेको टिप्पणी गरे । खतिवडाले ‘आकाश ओढेको डोल्पो’मा त्यो चुनौती आँकेको विश्लेषण गरेका थिए । हिमाल चिनेको दिन नेपालको विकासले शिखर चुम्न सक्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले कृतिले नियात्राको उपल्लो चुली हिमाली क्षेत्रलाई समेटेर अगाडि बढेको र सर्जकबाट भविष्यमा यस्तै कृतिको अपेक्षा गरिएको बताए । सोही क्रममा खतिवडाकी छोरी आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ सार्वजनिक गरिएको थियो ।

भट्टराईको कृतिमाथि साहित्यकार अनिता कोइरालाले समीक्षात्मक मन्तव्य राखेकी थिइन् । उनले भट्टराई युवा हुन् तर उनको लेखनीमा अनुभवको ताउलोमा खारिएर उम्रिएका दर्शनका पङ्क्तिहरू भेट्न सकिने बताइन् ।

उनको कलममा समाज, परिवार र देशप्रतिको बेजोड प्रेम रहेको पनि उनको भनाइ थियो । नेपाली सभ्यता, संस्कृति, वैभव र हिमालप्रतिको उच्च श्रद्धा छ र आस्थालाई पढ्ने पाठकको हृदयमा पनि यी तमाम कुराको बीजारोपण गर्न सक्ने ल्याकत आस्थाको कृतिमा रहेको उनको विश्लेषण थियो ।

कार्यक्रममा गङ्गाधर अर्याल, अरुण अर्याल, नीमा डोमा, साहित्यकार पवन आलोक तथा रञ्जु दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमोचन कार्यक्रममा सगरमाथा आरोही नीमा डोमाले पनि यी दुवै कृतिकारलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

‘आकाश ओढेको डोल्पो’ र ‘फूलबारीको जुके गणतन्त्र’ दुवै कृति पेज टर्नर प्रालिले प्रकाशन गरेको हो । जसको मूल्य क्रमशः ४५० रुपैयाँ र २९९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप