आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाली प्रजनकको विषयमा अध्ययन हुनुपर्नेमा जोड

आइतबार, २८ माघ २०८०, १७ : २६
आइतबार, २८ माघ २०८०

काठमाडौ । बाली प्रजनक सङ्ख्या र सो सङ्ख्याले नेपाललाई पुर्‍याउने योगदानको विषयमा अध्ययन हुनुपर्नेमा बाली प्रजनकहरुले जोड दिएका छन् । आइतबार आयोजित नेपालमा बाली प्रजनन् र आनुवंशिकीको दृष्टिकोण र रणनीति अन्तरक्रिया कार्यक्रममा देशभर करिब ९० जनाको हाराहारीमा बाली प्रजनक सङ्ख्या रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख बाल कृष्ण जोशीले जानकारी दिएका हुन् । 

‘ब्रिडरको मेट्रिक्स निकाल्न खोजेका छौँ, एउटा ब्रिडरको सेल्फ मेट्रिक्स, अर्को नेशनल लेबलमा ब्रिडरको कन्ट्रिब्युसन भएको मेट्रिक्स, सो मेट्रिक्सको आधारमा नेपाललाई र सम्बन्धित निकायले पहिचान गर्नुपर्छ,’ उनले थपे, ‘ताकि भविष्यमा ब्रिडरले फूड, न्युट्रिसन, हेल्थ, बिजनेस र इनभाइरोमेन्ट गरी यी पाँच वटा क्षेत्रमा योगदान गरोस् ।’

डा. जोशीले एक दशक पहिला नेपालका बाली प्रजनकका लागि नीतिको खाका सरकारलाई बुझाए पनि सुनुवाइ हुन नसकेको बताए । ‘१० वर्ष अगाडि ब्रिडर्स राइट भनेर समिट गरेका थियौँ,’ उनले भने, ‘पटक–पटक मन्त्रालयमा यो विषयमा कुरा राख्दा पनि क्याबिनेटले यसलाई प्रथामिकतामा राखेन ।’ 

सरकारको अस्थिरता र न्यून जनशक्तिका कारण बाली प्रजनकलाई काम गर्ने वातावरण नरहेको वरिष्ठ बाली प्रजनक डा. राम प्रताप साहले बताए । ‘बाली ब्रिडिङमा उपलब्धि हासिल गर्नका लागि सबैको एकरूपताको खाँचो हुन्छ,’ उनले भने, ‘एकरूपता र स्थिरता भएन भने काम गर्न सकिँदैन ।’ 

पछिल्लो समय बढ्दो प्रविधि अनुसार बाली प्रजनकले आफूलाई स्तरोन्नति गर्न उनले सुझाएका छन् । ‘किसानले विकासे जातको बीउ मन पराएका छन्, अहिले वातावरण बद्लिँदो छ, सोही अनुसार बाली विकास गर्नु आवश्यक छ,’ उनले भने, ‘विकासे जात उत्पादन गर्न सकेमा बाहिर पनि निकासी गर्न सक्न सकिन्छ ।’

यस्तै, छलफलमा नेपालका बाली प्रजनकको सङ्ख्या आवश्यकताभन्दा कम रहेको विषय उठेको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा १० देखि १२ जना मात्रै वरिष्ठ बाली प्रजनन वैज्ञानिक जनाएका छन् । बाली प्रजनकलाई वातावरण मिलाउनका लागि सबैले सहयोग गर्नु पर्ने उनीहरूले सुझाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप