सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अर्धवार्षिक समीक्षा

कोशीको बजेट १२ प्रतिशत कम हुने संशोधित अनुमान

पूँजीगत खर्च १७ प्रतिशतमा सीमित
बिहीबार, ०३ फागुन २०८०, ०८ : ०३
बिहीबार, ०३ फागुन २०८०

विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट १२ प्रतिशतले कम हुने संशोधित अनुमान गरेको छ । यद्यपि संघ सरकारले अनुदान कटौती हुनसक्ने बताएको कारण संशोधित अनुमान अझै कम हुनसक्ने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।

‘अर्धवार्षिक समीक्षा भइसकेको छ । प्रतिवेदन प्रकाशन गर्न मात्रै बाँकी छ । प्रकाशनको चरणमा छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘एक दुई दिनमा प्रकाशत हुन्छ । मुख्यमन्त्रीज्यूले यसको सार्वजनिक गर्नुहुनेछ ।’

गत वर्षको यो महिनासम्मको खर्च, आम्दानीको अवस्था र चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेरेर सरकारले बजेटको संशोधित अनुमान गर्दछ । बजेट कन्ट्रोल गर्नका लागि पनि बजेटको समीक्षा आवश्यक छ । केन्द्र सरकारले १७ प्रतिशतले संघ सरकारको बजेटको संशोधित अनुमान गर्दै अर्धवार्षिक समीक्षा सार्वजनिक गरिसकेको छ ।

आर्थिक मामिला मन्त्रालयका शाखा अधिकृत विदुर पौडेलले प्रदेशमा संघको जस्तो स्रोतमा त्यति धेरै फरक नपर्ने बताए । ‘तर, संघले अनुदान कटौती हुनसक्ने जनाएको छ । चिठी नआइसकेको हुँदा अहिले नै संशोधित गर्ने कुरा भएन । तर, अहिले प्रदेशको आय–व्ययको अवस्था हेर्दा भने संघको जस्तो धेरै तल अनुमान नहोला,’ उनले भने ।

प्रदेशमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट कार्यान्वयन भइरहेको छ । जसअनुसार कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोर्ने बजेटको अनुमान छ ।

उक्त बजेटमध्ये हालसम्म चालू तर्फ ५ अर्ब ७० करोड ४७ लाख ५५ हजार २२१ रुपैयाँ अर्थात् ३४.७३ प्रतिशत र पूँजीगततर्फ ३ अर्ब ५२ करोड २१ लाख २७ हजार १०१ रुपैयाँ अर्थात १७.२७ प्रतिशत बजेट खर्च भएको छ । वित्तीय खर्च नदेखिएको प्रदेशमा हालसम्म जम्मा खर्च ९ अर्ब २२ करोड ६८ लाख ८२ हजार ३२२ रुपैयाँ अर्थात् २५ प्रतिशत मात्रै भएको छ ।

यता, प्रदेशमा आम्दानी भने हालसम्म १६ अर्ब ५९ करोड ३० लाख ४१ हजार ४९८ रुपैयाँ भएको छ । प्रदेश सञ्चित कोषमा अहिले पनि ७ अर्ब ३६ करोड ६१ लाख ५९ हजार १७६ रुपैयाँ रहेको छ । प्रदेशले संघ सरकारबाट हालसम्म १३ अर्ब ५६ करोड ८० लाख २८ हजार १५३ रुपैयाँ प्राप्त गर्दा आन्तरिक राजस्वबाट ३ अर्ब २ करोड ५० लाख १३ हजार ३४५ रुपैयाँ प्राप्ति गरेको छ । प्रदेश सरकारले जम्मा आम्दानी भने हालसम्म ४५ प्रतिशत गरेको छ ।

koshi data

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप