आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पाकिस्तानकाे राजनीति

नवाज शरिफले किन गरे प्रधानमन्त्री नबन्ने निर्णय ?

शुक्रबार, ०४ फागुन २०८०, ०८ : २८
शुक्रबार, ०४ फागुन २०८०

इस्लामावाद । एक हप्ता अघि निर्वाचन भएयता पाकिस्तानको राजनीति यतिबेला चर्चामा छ । आगामी पाँच वर्षको लागि को प्रधानमन्त्री बन्ला भन्ने प्रश्न हरेकको मस्तिष्कमा छ । मंगलबार इस्लामावादमा वरिष्ठ राजनेता चौधरी शुजातको घरमा अबेर रातसम्म घण्टौँ लामो बैठक बसेको थियो । यो बैठकपछि पाकिस्तान पीपुल्स पार्टी, एमक्यूएम पाकिस्तान, पीएमएल–क्यू र आईपीपीलगायत सबै दलहरूले प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा शहबाज शरिफलाई समर्थन गर्ने निर्णय गरेको छ । पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवारका लागि पीएमएल–एनको तर्फबाट नवाज शरिफकी छोरी मरियम शरीफको नाम स्पष्ट रूपमा अगाडि राखेको काका शेहबाज शरीफले बताएका छन् । तर प्रधानमन्त्री पदका लागि आफूलाई सर्वसम्मत उम्मेदवार बनाएको स्वीकार चाँहि उनले गरेनन् ।

आफ्नो स्थानमा आफ्नो जेठो दाजु नवाज शरीफलाई अर्को प्रधानमन्त्री बनुन् भन्ने शेहबाजको चाहना छ । प्रधानमन्त्रीको पदको स्वीकार गर्न नवाजलाई उनले जोड दिइरहने पत्रकार सम्मेलनमा शेहबाजले बताएका थिए । पत्रकार सम्मेलन सकिएको केही मिनेटपछि पीएमएल–एनका प्रवक्ता मरियम औरङ्गजेबको ट्वीट आयो । उनले सामाजिक सञ्जालमा नवाज शरीफको तर्फबाट घोषणा गरेकी थिइन्  । पोष्टका अनुसार नवाजले प्रधानमन्त्रीको पदका लागि आफ्नो भाई शेहबाज शरिफको नाम मनोनीत गरेका थिए । पञ्जाब प्रान्तको मुख्यमन्त्रीका लागि उनले छोरी मरियमको नाम मनोनीत गरेका थिए ।

यी घोषणा आउनुअघि दिउँसो अन्य महत्त्वपूर्ण र अप्रत्याशित घटना भए । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले आफ्नो पार्टी मन्त्रिपरिषद्मा सहभागी नहुने बताए । गठबन्धन सरकार गठनका लागि दलहरूले साझा सूत्र ल्याउने आशा पाकिस्तानका जनताले गरेका थिए ।

छिटो छिटो फेरिरहेको छ माहौल

फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि, इमरान खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले त्रिशङ्कु राष्ट्रिय सभामा सबैभन्दा बढी सिट जितेका छन्, तर त्यो सङ्ख्या आफ्नै बलमा सरकार बनाउन पर्याप्त छैन । नवाज सरिफको पार्टी दोस्रो स्थानमा छ । तर उक्त दलसँग पनि सरकार बनाउने साधारण बहुमत छैन । बिलावल भुट्टोको पीपीपीले ५४ सिट ल्यायो । यसले उनलाई ‘किंग मेकर’को हैसियतमा त पुर्‍यायो । तर, उनको पार्टी पीटीआई र पीएमएल–एनपछि तेस्रो स्थानमा समेटियो ।

सरकारमा नजाने बिलवालको घोषणापछि सरकार गठनको प्रयास सङ्कटमा पर्ने र पाकिस्तान अर्को राजनीतिक सङ्कटमा फस्छ भन्ने चिन्ता केही बेर छायो । तर यसको केही घण्टापछि बिलावलका पिता पूर्व राष्ट्रपति आसिफ अली जरदारी चौधरी शुजात हुसैनको घरमा शहबाज शरीफको छेउमा बसेको देखियो । पत्रकारलाई सम्बोधन गर्दै उनले पीएमएल–एनप्रति बिलावलको ‘आक्रामक’ अडानलाई मध्यनजर गर्दै मुलुकलाई स्थिरता र वर्तमान सङ्कटबाट बाहिर निकाल्न पीपीपीले आफ्नो भूमिका निर्वाह गर्ने आश्वासन दिएका थिए । एकातिर कम सिट पाएका दलहरू सत्ता बाँडफाँडका लागि वार्तामा छन् । अर्कोतिर सबैभन्दा बढी सिट जितेको पीटीआईले विपक्षमा बस्ने संकेत गरिरहेको छ । इमरान खानले केही दलहरूसँग गठबन्धनको घोषणा गरेका छन् । तर यो घोषणा सत्ता प्राप्तिका लागि नभएर पीटीआई र आफ्ना सदस्यहरूलाई जोडेर राख्न मात्रै हो ।

चुनाव लगत्तै पाकिस्तानको राजनीतिमा अनिश्चयको बादल मडारिएको यी घटनाक्रमले स्पष्ट देखाएको छ । यति बेला जनताको मनमा भने नवाज शरिफले चौथो पटक प्रधानमन्त्री बन्न किन अस्वीकार गरे र बिलावल भुट्टो सरकारमा नआउनुको कारण के हो ? पीटीआईको सोच के छ र के छ ? साना दलसँगको गठबन्धनमा पीटीआईको रणनीति छ ? लगायत प्रश्नहरू उठिरहेको छ ।

नवाज शरिफ किन प्रधानमन्त्री बनिरहेका छैनन् ?

साधारण बहुमत नपाएको अवस्थामा नवाज सरकारको नेतृत्व गर्न इच्छुक छैनन् भन्ने खबरहरू आइरहेको थियो । ‘बहुमत प्राप्त सरकारले मात्रै कडा निर्णय गरेर आफ्नो कामको जिम्मेवारी लिएर मुलुकलाई वर्तमान सङ्कटबाट निकाल्न सक्छ ’ निर्वाचनको दिन मतदान गरेपछि नवाजले पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका थिए । चुनावी नतिजा आउँदै गर्दा पीएमएल–एनले २६४ सिटमध्ये ६४ सिट जित्दा नैनवाजले आफू विजयी हुने घोषणा गरेका थिए । उत्साहित र बेपरवाह बन्दै उनले चुनावमा आफ्नो पार्टी सबैभन्दा ठुलो दल भएर आएको बताए । ‘हामीहरूले बहुमत पाएको भए एकदम राम्रो हुन्थ्यो, तर ठिकै छ देशलाई यो अराजकताबाट बाहिर निकाल्न हाम्रा (पूर्व) गठबन्धन साझेदारहरूलाई एकजुट हुन हामी निम्तो दिन्छौँ,’ उनले भने । त्यतिबेला नवाजले आफू प्रधानमन्त्री नबन्ने वा पछाडि बस्ने कुनै संकेत गरेका थिएनन् । तर गएको ५÷६ दिनमै त्यस्तो के भयो र उनको मन बदलियो ? कि सुरु देखि नै यही योजना थियो ?

“आदर्श रूपमा त पार्टीले नवाज शरीफलाई चौथो पटक प्रधानमन्त्री बनाउने आशा गरिरहेको थियो तर हामीहरूले आफ्नै बलमा सरकार गठन गर्न लायक सिट पाएनौँ । त्यसैले पार्टीले गठबन्धनमा उस्ताद रहेका शेहबाज शरीफलाई अगाडि ल्याउने निर्णय ग¥यो । पीएमएल–एनका वरिष्ठ नेता तथा नवाज शरीफका निकटतम राना सनाउल्लाहले बताए ।

गठबन्धन चलाउन माहिर छन् शेहबाज शरीफ

‘सबैभन्दा कठिन समयमा १६ महिनासम्म १३ दलको गठबन्धन सरकार चलाउने अनुभव उनीसँग छ, त्यसैले चुनावपछि आफ्नो पार्टीको अवस्थाको मूल्याङ्कन गरेर गठबन्धन सरकारको नेतृत्व शहबाज शरीफले गर्नु पर्छ भन्ने सहमति वरिष्ठ नेताहरूबिच भएको छ ।’ राना सनाउल्लाहले बताए । अहिलेको स्थितिमा नवाज शरीफ सजिलै बाहिर निस्कन खोजिरहेका छन् भन्ने धारणा भने उनले अस्वीकार गरेका छन् । ‘दुर्भाग्यवश कुनै पनि दलले पूर्ण बहुमत पाएन, तर यो जनताको निर्णय हो र हामी यसलाई सम्मान गर्छौँ । शहबाज शरीफले गठबन्धनलाई अझ प्रभावकारी रूपमा सम्हाल्नेछन् भन्नेमा नवाज शरीफ र पार्टीका बाँकी सदस्यहरू विश्वस्त छन्,’ उनले भने । यसको मतलब नवाज शरीफको राजनीतिक करियर समाप्त भएकै हो त ?

pak

‘अहिले यस्तै लागिरहेको छ कि नवाज शरीफले राजनीति छोड्दै छन् । तर यस्तो होइन उनी अझै पनि राजनीतिमै छन् र उनले आगामी प्रधानमन्त्री र पञ्जाबका मुख्यमन्त्रीको बारेमा दुई महत्त्वपूर्ण निर्णय लिएका छन् ।’ पीएमएल–एनका इरफान सिद्दीकी भन्छन् । पाकिस्तानको राजनीतिक भविष्यमा उनको महत्त्वपूर्ण भूमिका भएको अनि उनी अहिले सरकारको कुनै पनि पदबाट टाढा भए पनि पार्टी र सरकारहरूलाई निर्देशन दिन जारी राख्ने सिद्धिकीको भनाई छ । यही कुरा मरियम नवाजले पनि दोहोर्याएकी छिन् ।

तर वरिष्ठ पत्रकार मन्सुर अली खानले भने कुनै ठुलो घटना नभएसम्म पाकिस्तानले भविष्यमा नवाज शरीफलाई प्रधानमन्त्रीको रूपमा हेर्न नसक्ने बताएका छन् । पीएमएलले स्पष्ट बहुमत पाएमा मात्र नवाज शरीफले सरकारको नेतृत्व लिनेछन् भन्ने चुनाव अघि नै निर्णय भएको उनको भनाई छ । अब उनी पछाडि नै बस्ने अनि देशमै बसे भने आफ्ना समर्थकलाई पार्टीसँग जोड्ने प्रयास गर्ने पनि उनले बताए । अहिले नै उनको स्वास्थ्य धेरै परिश्रम गर्न लायक नभएको पनि बताइएको छ ।

बिलावल पछि हट्नुको कारण के हो ?

टिभी पत्रकार कामरान शाहिदले बिलावल भुट्टोको घोषणालाई राजनीतिक ‘मास्टर स्ट्रोक’ भनेका छन् । बिलावलले स्पष्ट रूपमै राष्ट्रिय हितमा सरकार गठनमा पीएमएल–एनलाई सहयोग मात्रै गर्ने र बदलामा मन्त्रिपरिषद्मा कुनै पनि मन्त्रालय नलिने बताइसकेका छन् । यो सहयोग पूर्ण नभएर मुद्दामा आधारित हुने पनि उनले स्पष्ट पारेका छन् ।

बिलावलले राष्ट्रपति, सिनेट अध्यक्ष र राष्ट्रिय सभाको अध्यक्ष जस्ता प्रतिष्ठित पदका लागि आफ्नो पार्टीका उम्मेदवारहरूलाई उभ्याउने इच्छा पनि व्यक्त गरेका छन् । आगामी राष्ट्रपतिका लागि उनले पिता आसिफ अली जरदारीको नाम प्रस्ताव गरेका छन् । तर, बिलावलको अडान आक्रामक छ र अनि सम्झौताको कुनै सम्भावना देखिन्न ।

पीपीपीले दुई ओटा पत्ता खेल्ने कोसिस गरेको विश्लेषकहरू बताउँछन् । बिलावल सत्तामा भाग लिन चाहन्छन् तर पीएमएल–एनसँग दूरी कायम राख्न खोजिरहेका छन् । वरिष्ठ टिप्पणीकार मुहम्मद मलिकका अनुसार यो पीपीपीको लागि जीतको स्थिति हो । उनी भन्छन्, ‘सरकार गठनमा पीएमएल–एनलाई साथ दिइएन भने यो गतिरोध फेरि चुनावमा बदलिन सक्छ भन्ने उनीहरूलाई थाहा छ । अब पीपीपीले बुझिसकेको छ कि फेरि चुनाव भयो भने इमरान खानको पीटीआई बाहेक अरू कुनै पार्टीले अहिले पाएको जति सिट जित्न सक्दैन ।’

भावी सरकारले सुरुमै अलोकप्रिय आर्थिक निर्णयहरू लिनुपर्नेछ र पीपीपी यसको जिम्मेवारी लिन चाहँदैन । त्यसैले दलले परिस्थितिलाई राम्रो बनाउने प्रयास गरिरहेको छ । यस्तोमा पीपीपीले कयौं संवैधानिक पदहरू आफूसँग राखेर पीएमएल–एनले प्रत्येक भोट र नीतिगत निर्णयको श्रेय दिनुपर्नेछ ।

बिलावलले जनताको नाडी छामेको अपन पीएमएल–एनसँग दूरी राखेर सेनाबाट आफूलाई टाढै राख्न खोजिरहेको विश्लेषक अजज सैयदले बुझाई छ । सत्ता विरोधी लहर बढ्दै गएको छ, बिलवाल त्यसको त्यसको फाइदा लिन चाहने उनी बताउँछन् ।

बिलवालले शेहबाज शरीफको मन्त्रिपरिषद्मा विदेश मन्त्रीको पोर्टफोलियो सम्हालिसकेका छन् । आफ्नो चुनावी अभियानमा बिलावलले पीएमएल–एन र यसका नेता नवाज शरीफको कडा आलोचना गरेका थिए । आफ्नो फाइदाको लागि उनले पीटीआई समर्थकहरूलाई पनि लोभ्याउने प्रयास गरेका थिए । त्यसैले बिलावलको घोषणामा पीपीपी र पीएमएल–एन एउटै सिक्काका दुई पाटा भएको र जनतालाई थप मूर्ख बनाउन नसक्ने पीटीआई प्रवक्ताले बताएका थिए ।

साना दलसँग किन गठबन्धन गर्दैछ पीटीआई ?

पाकिस्तान तहरीक–ए–इन्साफले आफूबाट लुटिएको जनादेश फिर्ता पाएन र साधारण बहुमत प्राप्त गर्न असफल भयो भने पार्टी विपक्षमा बस्ने निर्णय गरेको छ । पीटीआईको बयानका अनुसार इमरान खानले केन्द्र र पञ्जाबमा मजलिस वाहदत–ए–मुस्लिमीन र खैबर पख्तुनख्वामा जमात–ए–इस्लामीसँग गठबन्धन बनाउन अनुमति दिएका छन् । मजलिस वाहदत–ए–मुस्लिमीन एउटा सानो शिया पार्टी हो र उसले राष्ट्रिय सभामा एक सिट पाएको छ । गठबन्धनको उद्देश्य पीटीआईको समर्थनमा स्वतन्त्र रूपमा विजयी हुने आफ्ना उम्मेदवारहरूलाई पार्टीको रूपमा मञ्च उपलब्ध गराउनु हो ।

कानुन अनुसार निर्वाचनको नतिजा सार्वजनिक भएपछि सबै स्वतन्त्र उम्मेदवारले आफ्नो सदस्यता जोगाउन ७२ घण्टाभित्र आफूले चाहेको पार्टीमा प्रवेश गर्नुपर्ने कानुनी व्यवस्था छ । यतिबेला पीटीआई कानुनी र प्राविधिक कारणले निष्क्रिय छ । यस्तोमा पीटीआई समर्थित स्वतन्त्र उमेदवारहरुसँग अर्को पार्टीमा आबद्ध हुनुको विकल्प छैन । इमरान खानले पीपीपी, पीएमएल–ए र एमक्यूएमसँग गठबन्धन अस्वीकार गरिसकेका छन् ।  त्यसैले दलसमक्ष सीमित विकल्पहरू मात्रै छ । गठबन्धनको अर्को कारण चाँहि आरक्षित सिट सुरक्षित गर्नु हो । आम निर्वाचनमा जितेको सिटको अनुपातमा दलहरूले महिला र अल्पसङ्ख्यकका लागि आरक्षित सिट पाउँछन् ।

राष्ट्रिय सभामा महिलाका लागि ६० र अल्पसङ्ख्यकका लागि १० सिट आरक्षित छन् । पीटीआई समर्थित उम्मेदवारहरूले सबैभन्दा बढी सिट जितेकाले आरक्षित सिटमा उनीहरूको ठुलो हिस्सा रहनेछ, तर कुनै पार्टीमा सामेल भए मात्र दलले यो सिट लिन सक्नेछ । तर, यसमा केही कानुनी अवरोध पनि हुन सक्ने विज्ञहरूको भनाइ छ । यतिबेला आरक्षित सिट नै पीटीआईले साना दलहरूसँग गठबन्धन गर्नुको ठुलो कारण बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप