बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गगनको प्रतिवेदनले देउवालाई तनाव : पदाधिकारी बैठक रोकेर प्रचण्डसँग भेट

सोमबार, ०७ फागुन २०८०, २२ : ०४
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदन टाउको दुखाइको विषय बनेको छ । आइतबारदेखि महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनबारे सहमति खोज्न छलफलमा जुटेका देउवा सोमबार साँझसम्म पनि सहमति हुने छाँटकाँट नभएपछि तनावमा परेका हुन् ।

आफ्नै निवासमा पदाधिकारी बैठक चलिरहेका बेला देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा केहीबेर छलफल गरी पुन देउवा पदाधिकारी बैठकमा सहभागी छन् । 

‘बैठक जारी रहेका बेला सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार जानुभएको थियो के के छलफल भयो भन्ने जानकारी भएको छैन’, बुढानीलकण्ठ स्रोतले रातोपाटीलाई बतायो ।

 जारी कांग्रेस महासमिति बैठकमा मंगलबारबाट प्रतिवदनमाथि छलफल गर्ने कार्यसूची छ । पार्टीको विधि बनाउने भनिएको महासमिति बैठकमा पेस गर्ने दस्तावेजमै नेताहरुबिच दन्तवझान चुलिएपछि महासमिति बैठक कर्मकाण्डीमा सीमित हुने त होइन ? भन्ने प्रश्न उठ्न पुगेको छ । 

दस्तावेजले सभापति देउवा तनावमा पर्नुको कारण भने सत्ता गठबन्धनसँग जोडिएको छ । महामन्त्री थापाको प्रतिवेदन नसच्चाई महासमितिबाट पारित भएमा मुखैमा आएको प्रधानमन्त्री पद गुम्ने भय देउवामा छ । सोही कारण उनी भविष्यमा हुने चुनावमा अहिले नै गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा निर्णय गर्न उपयुक्त नभएको बताइरहेका छन् । तर महामन्त्री थापा भने उक्त विषय महासमिति बैठकबाटै निर्णय गरेर जानुपर्ने पक्षमा छन् र सोही अनुसारको प्रतिवेदन तयार गरेका छन् । तर देउवा र उनी निकटका नेताहरु अहिले नै 

भविष्यको गठबन्धनबारे निर्णयमा पुग्न नहुने अडानमा छन् । अहिले नै यसबारे निर्णय गर्दा हालको राजनीतिक समीकरण नै परिवर्तन हुनसक्ने देउवाको बुझाई छ । 

महासमिति बैठक ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको हो । बुधबारसम्म चल्ने बैठकको उद्घाटन गर्दै सभापति देउवाले  कांग्रेसलाई जनताले आशा र भरोसा गरेको पार्टी भएको भन्दै जनताको भरोसालाई कायम गरेर अघि बढ्नुपर्ने बताए । 

संविधान कार्यान्वयनमा जोड दिएका देउवाले कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको दाबी गरे ।

जनतामा देखिएको निराशाको प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिने र जनतामा विश्वास र भरोसा दिलाउने सकिने देउवाको विश्वास छ । ‘जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन, लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । विधिको शासन र सुशासनमा जोड दिनुपर्दछ’, देउवाको भनाइ छ । त्यसक्रममा देउवाले देशको सार्वभौमिकता अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालिन न्यायजस्ता विषयमा सबै लोकतान्त्रिक पार्टीको समान धारणा हुनुपर्ने बताए । यसका निम्ति संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नु पर्नेमा सभापति देउवाको जोड छ । 

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले केही कमीकमजोरी भए महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए । 

पार्टीको सांगठनिक संरचना सुधार गर्ने अधिकार महासमितिले राख्ने उल्लेख गर्दै उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनु पर्दछ । मुसाले धेरै बच्चा जन्माउँछ, तर हात्तीले एउटा जन्माउँछ र पनि त्यही एउटा शक्तिशाली हुन्छ ।’ कानुन मन्त्री समेत रहेका गुरुङले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रिय लगायतका नीतिहरु बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हुनुपर्ने र झुपडी र महलमा बस्नेलाई जोड्ने किसिमको हुनुपर्ने बताए । उनले वडादेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नसकेमात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने भन्दै त्यसका लागि महासमितिले निर्णय गर्नुपर्ने प्रस्ताव अघि सारे । कांग्रेस प्रवक्ता मीन विश्वकर्माले मंगलबार बिहान ८ बजे सुरु हुने बैठकमा नेताहरुले विभिन्न प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल केन्द्रित हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप