सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आर्थिक अपराध

मिटरब्याजले दमादिगी बस्तीका आधा दर्जन घर परिवारको उठिबास !

निमुखाको घरबार खोस्नेलाई भएन कारबाही
बुधबार, ०९ फागुन २०८०, ०७ : ४९
बुधबार, ०९ फागुन २०८०

विराटनगर ।  विराटनगर महानगरपालिका १८ नम्बर वडाको दमादिगी बस्तीका आधा दर्जन घरपरिवार मिटरब्याजको फन्दामा परेर घरबारविहीन हुने अवस्थामा पुगेका छन् । सोही ठाउँका सुनिल साहले गरिब र निमुखालाई मिटरब्याजमा ऋण दिने र घरबारविहीन बनाउने धन्दा नै चलाएका छन् । जुन धन्दाले सो बस्तीका दर्जनौँ मानिसहरू घरबारविहीन हुने अवस्थामा पुगेको पीडितहरू बताउँछन् । 

विराटनगर महानगरपालिकाको कानुन महाशाखामा उजुरी बोकेर आइपुगेका सोही बस्तीका ४८ वर्षीय दिलीपकुमार अमातले ४ वर्ष अगाडि आमा र बाबुको काजक्रिया गर्न र घरखर्च चलाउन भन्दै उनै सुनिलसँग तमसुक बनाएर ४ लाख रुपैयाँ लिए । त्यसबेला सुनिलले १० कट्ठा जग्गा आफ्नो नाममा (धितो बन्धकी) लिएर मात्रै ४ लाख रुपैयाँ ऋण दिएका थिए ।

सुनिलले दिएको मिटरब्याजको ऋणले अहिले अमात सडकमा आइपुगेका छन् । आफूले चार वर्षको अवधिमा ३ लाख रुपैयाँ साहलाई बुझाइसकेको दाबी गर्ने दिलिपको १० कट्ठा जग्गा भने ढिलो गरी पैसा दिएको भन्दै सुनिलले एक वर्ष अगाडि नै बेचिदिए । आफ्नो जग्गा साहले विक्री गरेको दिलिपले एक वर्षपछि मात्रै थाहा पाए । जग्गा बेचिएको थाहा पाएपछि उनी वडाका जनप्रतिनिधिसँग पुगे । त्यहाँबाट पनि पार नलागेपछि उनी विराटनगर महानगरपालिकाको कानुन शाखामा आइपुगेका हुन् । मिटरब्याज धन्दामा लागेका सुनिलले दिलिपलाई अब २२ लाख रुपैयाँ दिएमात्रै जग्गा फिर्ता दिने बताउँदै आएका छन् । 

दमादिगी टोलमा सुनिल साहको मिटरब्याज धन्दाले दर्जनौँ पीडित छन् । सोही ठाउँका ४५ वर्षीय रमानन्द मण्डलले ४ कट्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज तिरे । तर, सुनिलले अझै ८ लाख रुपैयाँ बुझाएपछि मात्रै चार कट्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । जग्गाको लालपुर्जा सुनिलसँग छ । जग्गाको मूल्य करिब २० लाख छ । आफ्नो जग्गा उकास्न अब ८ लाख बुझाउनुपर्ने भएपछि मण्डल परिवार विक्षिप्त छन् । उनी पनि न्यायको खोजीमा न्यायिक निकायहरू धाइरहेका छन् । 

रमानन्द र दिलीप उदाहरण हुन् । विराटनगर १८ दमादीगीकै ४७ वर्षीय नारायण साहको सम्पत्ती पनि सुनिलले उसैगरी हडप्ने प्रयास गरिरहेका छन् । सुनिलसँग उनले पनि तीन वर्ष अगाडि ७ लाख रुपैयाँ ऋण लिए । उनले २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कट्ठा जग्गा फिर्ता दिए । उनकी आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी अझै लडाइँमा छन् । नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा धितो राखेर सुनिलसँगै एक लाख २५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसकिन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् । 

यस्तै विराटनगर–१८ कै ६८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिर सके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । ‘ऋण बढिरहेको छ । गरिखाने जग्गा पनि गयो तर ऋण सकिन्न,’ महेशले पनि नगरपालिकाको कानुन शाखामा आएर भने । 

उनीहरूलाई सुनिलले पैसा तिर्न दबाब दिइरहेका छन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रस्ट्याउँछ’ विराटनगर महानगरपालिका कानुन शाखाकी प्रमुख शारदा थपलिया बताउँछिन् । यसअघि महानगरपालिकामा भएको पटक–पटकको छलफल निष्कर्षमा नपुगेपछि थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पठाउने तयारी गरिएको उनले बताइन् । ‘मेयर सावको रोहबरमा धेरै पटक छलफल भयो । नमिलेपछि थप कारबाहीको लागि प्रशासन पठाउने तयारी गरिएको छ,’ उनले भनिन् । सुनिलबाट पीडित भएका आधा दर्जन पीडितहरूले भने जिल्ला प्रशासन कार्यालयमा बुधबार दिउँसो उजुरी दिने जनाएका छन् । 

उता जिल्ला प्रशासन कार्यालय मोरङमा भने हालसम्म  २५० जनाले उजुरी दिएका छन् । जसमध्ये ९७ वटा मिलापत्र गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जनाए । प्रशासन कार्यालयले दुई दर्जन बढी निवेदन दुवै पक्षबिच सहमति हुन नसकेपछि अदालत पठाएको छ । अन्य उजुरीहरू विचाराधीन छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप