आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सभामुख लगातार रुलिङ गरेको गर्‍यै, सरकार सुनेको नसुन्यै !

सोमबार, १४ फागुन २०८०, २१ : ४८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु’, सभामुख देवराज घिमिरेले एउटै विषयमा चौथो पटक सोमबार यस्तो रुलिङ गरेका हुन् ।

केही दिनदेखि प्रमुख प्रतिपक्षले विवादित मन्त्रीहरुको राजीनामा माग्ने तर मन्त्रीहरुले राजीनामा नदिने र प्रधानमन्त्रीले पनि उनीहरुलाई नहटाएपछि संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबिच दोहोरी चलिरहेको छ । 

बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र कपिलवस्तुको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामासहित प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षले आंशिक रुपमा संसद बैठक अवरोध गर्दै आएका छन् ।

विपक्षीको यस्तो मागपछि सभामुख घिमिरेले फागुन १० गतेको बैठकमै घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए । तर सरकारले फागुन ११, १३ र १४ गतेको बैठकमा पनि जवाफ दिन चाहेन ।

तीन वटा बैठकमा लगातार राजीनामा मागेको प्रतिपक्षले फागुन १४ को बैठकमा पनि सोही माग दोहोर्यायो । फागुन ११ देखि नै एमालेको कदमलाई साथ दिँदै अन्य विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि मन्त्रीहरुको राजीनामा र प्रधानमन्त्रीको जवाफ मागे ।

सत्तापक्ष र प्रतिपक्षको दोहोरीले फागुन १४ गतेको पहिलो बैठक नियमित कार्यसूचीमै प्रवेश गर्न सकेन । सोमबारको पहिलो बैठकमा एमालेका सांसदले नाराबाजी गरे । त्यसपछि १५ मिनेट स्थगित भएको बैठक सरकारलाई अर्को बैठकमा जवाफ दिन सभामुखले कडा रुलिङ गर्ने सहमतिका आधारमा सञ्चालन भयो । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्ताव पेस गर्न पाए ।

सत्तापक्ष र प्रतिपक्षका आ–आफ्नै तर्क

एउटै विषयमा सभामुखले पटकपटक रुलिङ गर्नुपर्ने अवस्था आउनुमा सत्ता र प्रतिपक्षका सांसदहरुको आ–आफ्नै तर्क छ । प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका सांसद पदम गिरीले सरकारले संसदप्रति बेवास्ता गरेको आरोप लगाए ।

उनले सुरुमा प्रधानमन्त्री आफैँले संसद बैठकमा बालकुमारी घटनाबारे प्रतिवेदन अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउँछु भनेर प्रतिवद्धता जनाए पनि त्यसअनुसार कार्यान्वयन नगर्दा समस्या भएको बताए ।

‘प्रधानमन्त्री आफैँले प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु भन्नुभएको हो । तर कारबाही पनि गर्नुभएन, संसदलाई जवाफ पनि दिनुभएन’, प्रमुख सचेतक गिरीले प्रश्न गरे, ‘सरकार जवाफदेही बन्नु पर्दैन ?’

उनले प्रधानमन्त्रीले संसदमा गरेको प्रतिवद्धता मात्र नभएर सभामुखको रुलिङप्रति पनि सरकारले बेवास्ता गरेको बताए । ‘संसदमा उठेका विषयको जवाफ नदिनु भनेको सरकार संसदप्रति जवाफदेही छैन भन्ने होे’, गिरीले भने, ‘सरकारकै कारण संसद अनिर्णयको बन्दी हुने स्थिति सिर्जना हुँदैछ ।’

उनले सरकार जिम्मेवार नबने प्रतिपक्ष थप कडा हुने चेतावनी दिए । ‘संसदीय अभ्यासमा संसदको रुलिङ सरकारले नमान्ने, नटेर्ने कुराले सिङ्गो लोकतन्त्रमा गम्भीर आघात पुग्नसक्छ । यो गम्भीर विषय हो, त्यसैले सरकारले समयमै सम्बोधन गर्दैन भने हामी अझ कडा कदम चाल्न बाध्य हुनेछौँ’, गिरीको चेतावनी छ ।

तर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे संसद चलिरहेको दाबी गर्छन् । ‘संसद अवरुद्ध भएको छैन, लगातार चलिरहेको छ’, पाण्डेले कुनै पनि दिन संसद नचलेर रोकिएको अवस्था नभएको बताए ।

उनले अहिले संसदको कार्यतालिका अनुसार संसद बैठक सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै त्यसका लागि केही जटिलता पनि आएको बताए । उनले प्रतिपक्षले केही मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सरकारले त्यसको जवाफ दिने तयारी गरिरहेको बताए ।

‘सरकारले जवाफ दिन्छ’, पाण्डेको भनाइ छ । उनले राजनीतिक दलहरुले आफ्नो पक्षमा निर्णय खोजिरहेकाले यो अवस्था आएको बताए । ‘आफ्नो पक्षमा विषयबस्तु र निर्णय आउँछ–आउँदैन भनेर राजनीतिक दलहरु बसेका छन् । अहिले भइरहेको अवस्था त्यहीमात्र हो’, उनले भने ।

संसदमा माग राख्ने, छलफल गर्ने र सुनाउने प्रक्रिया सामान्य भएको पाण्डेको भनाइ छ । उनले यसअघि सबै सांसद जतिखेर मन लाग्यो त्यतिखेर बोल्ने र हिँड्ने गरे पनि अहिले कार्यतालिकामा बस्नुपरेकाले सकस परिरहेको बताए ।

ढुंगाना भन्छन्– मेरै बेइज्जत होलाजस्तो भयो !

पूर्व सभामुख दमननाथ ढुंगानाले सरकार, प्रतिपक्ष, सभामुख र सचिवालयमाथि टिप्पणी गर्नु नै बेकार हुने बताए । ‘यिनीहरुको बारेमा बोल्दा पनि मलाई त आफ्नै बेइज्जत होलाजस्तो भइसक्यो’, ढुंगानाले दिक्क मान्दै भने, ‘यिनीहरुको संसदीय काम कारबाही हेर्दा मलाई त बोल्न नपरे पनि हुन्थ्यो ।’

कुनै पनि पक्षले संसदको गरिमा र मर्यादा राख्न नसकेको ढुंगानाको भनाइ छ । ‘संसदको गरिमा र मर्यादा राख्नुपर्छ भन्ने यिनीहरुलाई छँदै छैन’, उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष, सभामुख र सचिवालय कसैले पनि ख्याल राखेनन् ।’

संसदमा उठेको एउटै विषयवस्तुमा सभामुखले पटकपटक रुलिङ गर्नुपर्ने अवस्था आउनुमा संसदलाई प्रभावकारी बनाउनतर्फ कसैको चासो नरहेको हो कि भन्ने प्रश्न सबैमाथि उठेको ढुंगानाको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप