बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अस्पतालमा लापरबाही

बयोधा अस्पतालले उपचारमा लापरबाही गरेको अदालतको ठहर, क्षतिपूर्ति भराउने फैसला

उपचारमा लापरबाही भएको थाहा पाएको मितिबाट नै हदम्याद लागु हुने
मङ्गलबार, १५ फागुन २०८०, ०९ : ४६
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ। उपचारमा लापरबाही गरेको कसुरमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर दोषी ठहर भएका छन् । उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा फागुन १० गते बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झालाई दोषी ठहर गर्दै उनीहरूबाट पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । 

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अनुसार न्यायाधीश घिमिरेको इजलासले उपचारमा लापरबाही भएको ठहर गर्दै पीडितलाई ३ लाख ५२ हजार ८३० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । उक्त रकम बयोधा अस्पताल र गलत उपचार गर्ने डाक्टर शशीकुमार झाबाट भराउने गरी फैसला भएको छ । यद्यपि फैसलाको पूर्णपाठ भने आइसकेको छैन । 

सामान्य दुर्घटना भई उपचारका लागि वल्खुस्थित बयोधा अस्पतालमा पुगेकी चन्द्रागिरिकी पल्लबी श्रेष्ठको उपचारमा लापरबाही भएको थियो । डाक्टरले गलत डायग्नोसिस गरी उपचार गर्दा पल्लबीको घाउमा इन्फेक्सन भई हलचल गर्नै नसक्ने अवस्थामा पुगेकी थिइन् । बयोधापछि पल्लबी ग्वार्कोको बीएण्डबी अस्पताल र त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको आहुजा अस्पतालमा उपचार गराएकी थिइन् । त्यहाँ उपचार गराउँदा मात्रै पल्लबीले आफ्नो गलत तरिकाले उपचार भएको र डाक्टरले गलत डायग्नोसिस गरेको थाहा पाएकी थिइन् । 

त्यसपछि मेडिकल काउन्सिलमा उजुरी गरी त्यहाँबाट भएको छानबिनमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाले उपचारमा लापरबाही गरेको पुष्टि भएको थियो । त्यसलगत्तै उनले काठमाडौँ जिल्ला अदालतमा क्षतिपूर्ति र गलत उपचार गर्ने अस्पताल तथा डाक्टरलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेकी थिइन् । उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालका डाक्टरले लापरबाही गरेका कारण आफूले लामो समय उपचार गर्नुपरेको र त्यसबापत ठुलो आर्थिक क्षति बेहोरेको भन्दै पल्लबीले काठमाडौँ जिल्ला अदालतमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टरविरुद्ध उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत रही क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा बयोधा अस्पताल ‘हदम्याद नाघेका कारण खारेज हुनुपर्ने’ माग गर्दै रिट लिएर उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । तर उच्च अदालतले मुद्दा दर्ता गर्ने काठमाडौँ जिल्ला अदालतको निर्णय सदर गर्‍यो । उच्च अदालतको आदेश पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेको बयोधा अस्पतालले सर्वोच्च अदालतबाट समेत मुद्दा हारेको थियो । सर्वोच्च अदालतबाट रिट खारेज हुँदा पीडित पल्लबी श्रेष्ठले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको क्षतिपूर्तिको मुद्दामा ‘थाहा पाएको मितिले ६ महिना नकटेको’ कारण उक्त मुद्दा हदम्यादमै रहेको ठहर सर्वोच्चले गरी मुद्दा चल्ने आदेश भएको थियो ।

  • के हो बयोधा अस्पतालको लापरबाही प्रकरण ? 

२०७७ कात्तिक ९ मा काठमाडौँको कलङ्की चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोले काट्दा चन्द्रागिरि बस्ने पल्लबी श्रेष्ठको दाहिने गोडाको गोलीगाँठामुनि घाउ भएको थियो । त्यसपछि उपचारका लागि पल्लबी बल्खुस्थित बयोधा अस्पतालमा पुगेकी थिइन् ।

बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबीलाई डा. अभय यादवले उपचार गर्ने भनी टिकट काटेको भएपनि उनको उपचार भने बिरामीसँग अनुमति नै नलिई डा. शशीकुमार झाले गरेका थिए । घाउका सम्बन्धमा डाक्टरले प्रोपर डायग्नोसिस नगरी उपचार गरेपछि पल्लबीको घाउमा इन्फेक्सन भई दाहिने गोडा हलचल गर्न नसक्ने भएको थियो ।

बयोधा अस्पतालमा उपचार गराउँदा समस्या बढ्दै गएपछि पल्लबीले ग्रान्डी इन्टरनेसनल अस्पताल र बीएन्डबी अस्पतालमा पनि उपचार गराइन् । तर दुवै अस्पतालमा राम्रोसँग उपचार हुन नसकेपछि पल्लबी भारतको लखनउमा रहेको आहुजा अस्पतालमा उपचारका लागि गइन् ।

बीएन्डबी अस्पतालले सुरुवाती उपचारमा लापरबाही भएको र समयमै थप उपचार नभए गोडा नै चल्न नसक्ने बताएपछि पल्लबी थप उपचारका लागि लखनउ गएकी थिइन् । आहुजा अस्पतालले पनि सुरुवाती उपचारमा लापबाही भएको संकेत दिएको थियो । २०७७ मङ्सिर ५ गते लखनउमा अपरेसन गरेपछि उनी लामो समय त्यहीँ बसेर उपचार र फलोअप गराइन् ।

लखनउबाट नेपाल फर्किएपछि पल्लबीले २०७८ वैशाख १० गते बल्खुस्थित बयोधा अस्पतालले उपचारमा लापरबाही गरेको सम्बन्धमा छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी गरिन् । उजुरी गरेको ८ महिनापछि २०७८ मङ्सिर २० गते काउन्सिलले पल्लबीलाई इमेल पठाएर उपचारका क्रममा लापरबाही भएको जानकारी दिएको थियो । 

नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरबाही भएको पाइएको रिपोर्ट दिएसँगै पल्लबीले आफ्नो उपचार गर्ने डा. शशीकुमार झा, आफूले उपचार गराउन चाहेको डाक्टर अभय यादव र बयोधा अस्पतालविरुद्ध नै १४ लाख १६ हजार ८३० रुपैयाँको क्षतिपूर्ति मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा उपभोक्ता संरक्षण ऐनअन्तर्गत मुद्दा दायर गरिन् । 

पल्लबीले क्षतिपूर्ति मागदाबी लिँदा उपचारका क्रममा खर्च भएको ३ लाख ५२ हजार ८३० रुपैयाँ, थप उपचारका लागि लाग्ने खर्च ३ लाख, कानुन व्यवसायीको खर्च २ लाख र उपचारका लागि हालसम्म १ वर्ष २ महिना छुट्टीमा बसिसकेको कारण तलबबापत प्राप्त हुने कुल ५ लाख ६४ हजार रुपैयाँ गरी कुल १४ लाख १६ हजार ८३० रुपैयाँको क्षतिपूर्ति माग गरेकी थिइन् । पल्लबीले कुरुवाको खर्च, मानसिक तनावबापतको क्षतिपूर्तिको भने मागदाबी लिएकी थिइनन् । 

तर पल्लबीले काठमाडौँ जिल्ला अदालतमा दायर भएको क्षतिपूर्तिको मुद्दाको हदम्याद कटेको भन्दै विपक्षी बयोधा अस्पतालले उक्त मुद्दा खारेज हुनुपर्ने मागदाबी लिई उच्च अदालत पाटनमा रिट दर्ता गरायो । उच्च अदालत पाटनले उपचारमा लापरबाही जानकारी पीडितलाई औपचारिक जानकारीमा आएको मितिबाट गणना गर्नुपर्ने भन्दै मुद्दा हदम्यादभित्रै रहेका कारण नियमअनुसार सुनुवाइका लागि पेस गर्न काठमाडौँ जिल्ला अदालतको नाममा आदेश जारी गरेको थियो ।

बयोधा अस्पताल र उपचारमा संलग्न डाक्टरहरूले भने उपभोक्ता संरक्षण ऐनमा क्षतिपूर्ति दाबी गर्ने हदम्याद ६ महिनाको मात्रै रहेको र पल्लबीले आफ्नो अस्पतालमा उपचार गराएको ६ महिना कटिसकेको भन्दै हदम्याद नाघेर आएको मुद्दा दर्ता गरिएकाले दर्ता खारेज गरिपाऊँ भन्ने माग लिएको थियो । तर बयोधा अस्पतालका डाक्टरले उपचारमा लापरबाही गरेको थाहा पाएको मिति २०७८ मङ्सिर २० गतेका दिनबाट हदम्यादका लागि गणना हुनुपर्ने भएकाले क्षतिपूर्तिको मुद्दा हदम्यादभित्रै रहेको भन्दै पल्लबीले प्रतिउत्तर समेत फर्काएकी थिइन् ।

  • उच्च र सर्वोच्च अदालतबाट पनि हारेको थियो मुद्दा

बयोधा अस्पताल उच्च अदालतमा मात्रै रोकिएन, हदम्याद नाघेर आएको मुद्दा दर्ता गरिएको भन्दै अस्पताल सर्वोच्च अदालतसम्मै पुग्यो । बयोधा अस्पतालले लिएको जिकिरमा ‘सेवाग्राहीले रोजेको डाक्टरबाटै सेवाग्राहीको उपचार हुँदै आए अनुसार मिति २०७७।०७।०९ गते बिहान विपक्षीले इमर्जेन्सीमा उपचारका लागि आउँदा सो दिन डा. अभय यादव बिदामा रही ‘डक्टर अन कल’ मा रहेका अर्थोपेडिक्स डा. शशीकुमार झाले निज बिरामीलाई हेर्नु भएको थियो र पछि निज फलोअपमा आउँदा पनि इमर्जेन्सीमा हेर्नुभएको डा. शशीकुमार झाबाटै देखाउनुभएको कुरालाई स्वयं स्वीकार गर्नुभएकी, विपक्षीले अस्पतालले प्रत्येक डाक्टरलाई उपलब्ध गराउने अस्पतालमा रहने लेटरहेडमा एउटा डाक्टरको लेटरहेडमा अर्को डाक्टरबाट उपचार गराई ट्रिटमेन्ट रेकर्डविपरीत उपचार गराएको, स्वास्थ्य सेवालाई व्यापार बनाएको, डाक्टरको कामको निगरानी नगरेको भन्ने उजुरी बनावटी रहेको छ र विपक्षीलाई हामीले क्षतिपूर्ति दिनुपर्ने होइन । विपक्षीले दिएको उजुरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० को म्याद भित्रसमेत नरहेकाले प्रथम दृष्टिमै विपक्षीको उजुरी खारेजभागी छ’ भनी जिकिर लिएर सर्वोच्च अदालत पुगेको थियो ।

तर सर्वोच्च अदालतले पनि बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टरको जिकिर खारेज गर्दै पीडितले औपचारिक रूपमा थाहा पाएको मितिबाट मात्रै हदम्यादको गणना हुने ठहर गर्दै मुद्दा सुनुवाइका लागि पेश गर्न काठमाडौँ जिल्ला अदालतको नाममा आदेश जारी गर्‍यो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासबाट भएको फैसलामा भनिएको छ,

‘... मुद्दा गर्नु पर्ने कारण परेको मिति कहिलेलाई मान्ने र उजुरी हदम्याद भित्र रहेको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा, मिति २०७७।०७।०९ मा काठमाडौँ कलङ्की चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोमा अल्झी दाहिने खुट्टाको गोलीगाँठामुनिको भागमा घाउ भएकाले उपचारका लागि विपक्षी पल्लबी श्रेष्ठ निवेदक बयोधा अस्पतालमा उपचार गर्न गएको र निजको उपचार सो अस्पतालका डा. शशीकुमार झाले गरेको भन्ने देखिन्छ । उक्त अस्पतालमा उपचारपश्चात् बिरामीलाई सन्चो नभएपछि ग्रान्डी अस्पताल, बीएन्डबी अस्पताल हुँदै सन् २०२० जनवरी १० (वि.सं. २०७७ मङ्सिर ५) मा भारतको लखनउस्थित आहुजा अस्पतालमा उपचार गराएको देखिन्छ । नेपाल फर्किएपछि बयोधा अस्पतालले उपचारमा लापरबाही गरे नगरेको विषयमा यकिन हुनका लागि मिति २०७८।०१।१० गते विपक्षी पल्लबी श्रेष्ठले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको देखिन्छ । नेपाल मेडिकल काउन्सिलले मिति २०७८।०८।२० मा बयोधा अस्पतालले उपचारमा लापरबाही गरेको भनी विपक्षी पल्लबी श्रेष्ठलाई जानकारी दिएकाले निज पल्लवी श्रेष्ठले आफूले जानकारी पाएको मिति २०७८।०८।२० उल्लेख गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० बमोजिम सो जानकारी पाएको मितिले ६ महिनाभित्र भनी मिति २०७८।०९।०७ मा काठमाडौँ जिल्ला अदालतमा क्षतिपूर्तिका लागि उजुरी दर्ता गरेको देखियो ।’

सर्वोच्चको फैसलाको प्रकरण २२ मा चिकित्सकीय लापरबाही र त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्या तत्काल वा प्रकारान्तरमा कहिले कसरी हुन्छ भन्ने विषयको पनि व्याख्या गरेको छ । फैसलामा भनिएको छ,

‘चिकित्सकीय लापरबाही जस्तो प्राविधिक विषयसँग सम्बन्धित सेवामा रोगको उपचार गर्ने बित्तिकै निको हुन्छ वा परिणाम देखिन्छ भन्ने हुँदैन । उपचार र औषधिको प्रभावहरू सामान्यतया केही समयपश्चात् मात्र देखिने र कुनै औषधोपचार केही समयसम्म निरन्तर रहन सक्ने हुँदा तोकिएको समय भित्र नै उजुरी गर्न सकिन्छ भन्नु न्यायोचित पनि हुँदैन । यसपूर्व पनि यस अदालतले दिनेश विक्रम शाहविरुद्ध सिर्जना केसी (ने.का.प. २०६६, अङ्क ११, नि. नं. ८२६२) भएको क्षतिपूर्ति मुद्दामा ‘डाक्टरले जाँची औषधि सिफारिस गरेको दिन वा औषधी खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नु नहुने, हानि नोक्सानी भएको कुरा जुनबेला जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने, औषधि सेवनको कारणबाट उत्पन्न विवादमा अन्य मुद्दामा जस्तो औषधि खाएको पहिलो दिनबाट हदम्याद गणना गर्ने व्याख्या ब्दकगचम क्ष्लतभचउचभतबतष्यल हुन्छ । औषधि सेवनपछि क्रमशः असर गर्न थालेको जानकारी पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने’ भनी चिकित्सा लापरबाही (Absurd Interpretation) को विषयमा हदम्याद निर्धारण गर्ने न्यायिक दृष्टिकोणको विकास भएको देखिन्छ ।’

उपचारका क्रममा चिकित्सकीय लापरबाहीका कारण कुनै बिरामी वा उपभोक्तालाई हानि भएमा लापरबाही भएको थाहा पाएको मितिलाई नै हदम्यादको गणनाका लागि सुरुवाती मितिका रूपमा लिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख थियो । फैसलाको प्रकरण ३४ मा भनिएको छ,

‘... काठमाडौँ जिल्ला अदालतबाट मिति २०७२।०२।१२ मा यी उजुरीकर्ता उपर विपक्षीहरूको कार्यबाट हानि नोक्सानी भएको यकिन जानकारी नेपाल मेडिकल काउन्सिलको मिति २०७८।०८।१९ को पत्रबाट उजुरीकर्ता वादीले थाहा जानकारी पाएको भन्ने देखिएको सो मितिबाट प्रतिवादीहरूको सेवाबाट हानि नोक्सानी पुगेको यकिन भई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० को म्यादभित्र प्रस्तुत उजुरी परेको हदम्यादभित्रको देखिँदा प्रस्तुत मुद्दालाई नियमित सुनुवाइका लागि नियमअनुसार पेस गर्नु’ भनी भएको आदेश सदर हुने गरी उच्च अदालत, पाटनबाट मिति २०७९।०४।१९ मा भएको आदेश मिलेकै देखिँदा निवेदन मागबमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

सर्वोच्च अदालतबाट समेत बयोधा अस्पताल र डा. शशीकुमार झा ले मुद्दा हारेपछि बल्ल काठमाडौँ जिल्ला अदालतमा उक्त फिरादमाथि सुनुवाइ सुरु भएको थियो । २०७९ वैशाख १२ गतेबाट बल्ल सुनुवाइको सुरुवात भएकामा २०८० फागुन १० गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उपचारमा लापरबाही भएको कारण पीडितले क्षतिपूर्ति पाउने फैसला सुनाएको हो । अदालतले क्षतिपूर्ति भराउँदा भने उपचारका लागि विभिन्न अस्पतालमा भएको खर्चलाई मात्रै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । उपचारमा क्रममा भएको सबै अस्पतालको खर्च बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाबाट नै भराउने गरी फैसला भए पनि यातायात, खानपिन तथा उपचारका क्रममा लापरबाही भएको कारण बिदामा बस्नुपरेको समयको तलब भने भराउन अस्वीकार गरेको छ । 

फिरादमा विपक्षी बनाइएका डा. अभय यादवलाई भने सफाइ दिइएको छ । अस्पतालले टिकट काट्दा अभय यादवबाट उपचार गराउने भनी टिकट दिएको भए पनि उपचारमा उनी संलग्न नभएकाले उनले अभियोगबाट सफाइ पाएका हुन् । फैसलाको पूर्णपाठ भने आउन बाँकी नै रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप