आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, सहिद दिलबहादुर रम्तेल स्मृति पार्क

शुक्रबार, १८ फागुन २०८०, १० : ४८
शुक्रबार, १८ फागुन २०८०

गोरखा बजारबाट करिब ३० किलोमिटर उत्तरपश्चिम छिचोलेपछि बारपाक सुलिकोट गाउँपालिका– ८,  पन्द्रुङस्थित जराङडाँडामा रहेको ‘सहिद दिलबहादुर रम्तेल स्मृति पार्क’मा पुग्न सकिन्छ । जनयुद्धका क्रममा २०५२ फागुन १४ गते तत्कालीन राज्यपक्षबाट मारिएका प्रथम सहिद रम्तेलको सम्झनामा निर्माण गरिएको यस पार्कलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गरिने योजना छ । 

यो पार्कलाई तीनवटा अवधारणाबमोजिम निर्माण गरिएको छ— १) युद्ध अनुसन्धानात्मक सङ्ग्रहालय,  २) मानिस घुमफिरका लागि फन पार्क, ३) युद्ध पर्यटक हब । 

नौ रोपनी जग्गामा फैलिएको यस पार्कको डीपीआरअनुरूप जम्मा लागत ८ करोड रुपैयाँ रहेको छ । पहिलो चरणको निर्माण कार्यका लागि संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालय र बारपाक सुलिकोट गाउँपालिकाबाट पाँच करोड समपुरक बजेट छुट्ट्याइएको थियो । जसमा ७० प्रतिशत संघीय सरकार र ३० प्रतिशत गाउँपालिकाको लगानी छ । २०७८ साउनमा टेन्डर आह्वान गर्दा ओम सत्य साई कन्ट्रक्सन प्रालि चितवनले तीन करोड ३७ लाख रुपैयाँमा सम्झौता गरी कार्य सम्पन्न गरेको थियो ।

यही आर्थिक वर्षबाट पार्कको थप भौतिक पूर्वाधार र युद्ध सङ्ग्रहालयका लागि काम भइरहेको छ । यसका लागि दुई करोड (संघ सरकारको सहरी विकास मन्त्रालयबाट एक करोड र प्रदेश सरकारबाट एक करोड) बजेट विनियोजन गरिएको छ । 

संघ सरकारबाट निकासा भएको बजेटबाट ई–लाइब्रेरी र क्याफेटेरिया सञ्चालनका लागि दुईतले भवन निर्माण गर्ने सम्झौता भई काम सुरु हुँदै छ । प्रदेश सरकारबाट निकास भएको एक करोड बजेटबाट युद्ध सङ्ग्रहालय विस्तारसम्बन्धी अन्य आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गरिएको छ । सो रकम गाउँपालिकाले कार्यान्वयन गर्ने गरी प्रदेश सरकारबाट हस्तान्तरण भएको हो । 

यो पार्क त्यही ठाउँमा बन्दै छ, जहाँ सहिद दिलबहादुर रम्तेल जन्मे–हुर्केका थिए । यही पार्कमुनि सहिद रम्तेलको परिवारको घर र त्यसभन्दा मुनि उनले पढ्ने ब्रह्मचारिणी निमावि छ । 

पार्कमा सहिद रम्तेलसँगै गोरखा जिल्लाका सम्पूर्ण सहिद तथा बेपत्ताहरूका नाम शिलालेखमा राखिएको छ । सहिदका सम्झनामा पुरानो र परम्परागत शैली झल्किने गरी पार्कको डिजाइन गरिएको छ । 

यो पार्कलाई तीनवटा अवधारणाबमोजिम निर्माण गरिएको छ— १) युद्ध अनुसन्धानात्मक सङ्ग्रहालय,  २) मानिस घुमफिरका लागि फन पार्क, ३) युद्ध पर्यटक हब । 

यस पार्कलाई दशवर्षे जनयुद्धको अनुसन्धानका लागि अध्ययन गर्ने थलोका रूपमा विकास गर्न खोजिएको छ । भावी पुस्तालाई जानकारी दिनका लागि युद्ध सङ्ग्रहालयको अवधारणा ल्याइएको हो । यसअन्तर्गत वाल आर्ट (पर्खाल चित्र)बाट जनयुद्ध कसरी र किन सुरु भयो भन्ने कथा प्रस्तुत गरिएको छ । जसमा चित्रमार्फत युद्ध हुनुको कारण, तत्कालीन अवस्थाको दमन, छुवाछुतको व्यवहार, जमिनदारले साधारण मानिसमाथि गर्ने भेदभावको प्रवृत्तिलाई झल्काइएको छ ।

यसरी नै पर्खालमा एक–एक गर्दै जनताले आवाज उठाएको र क्रमशः जनताहरू संगठित हुँदै जनमुक्ति सेनामा विस्तार भएको चित्रमार्फत देखाइएको छ । अन्तिममा राजतन्त्र ढलेर संविधान बनेको आदि घटनालाई ‘हिस्टोरिकल टाइमलाइन’मा देखाइएको छ । 

यस्तै, भित्रपट्टि लामो वालमा युद्ध लडेर प्राप्त भएको विकास, गाउँगाउँमा आएको जागरणलाई चित्रमार्फत देखाइएको छ । यसको अगाडिपट्टि यी सबै विवरण झल्किने गरी तीन सेटका ६ वटा डमी तयार गरिएको छ । दुई सेट राखिसकेका छौँ । सुरुको सेटमा पेन्टिङकै प्रतिनिधित्व हुन्छ । जसमा जमिनदार हुने–खाने मानिसले गरिबलाई दमन गरेको चरित्र चित्रण गरिएका छन् । दोस्रो डमीमा आर्मी ब्यारेकका सेन्ट्री पोस्टमाथि आक्रमण गरेका र भिडन्त भएका दृश्य राखिएका छन् । शान्ति सम्झौता हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हात मिलाएको सेट राख्न बाँकी छ । 

सङ्ग्रहालय हलभित्र जनयुद्धसम्बन्धी घटनाक्रमसँग जोडिएका वस्तु तथा विवरणलाई राख्ने योजना छ । यसका लागि जनयुद्धमा प्रयोग भएका सञ्चार सेट, युद्धका क्रममा प्रयोग गरिएका कमब्याट पोसाकदेखि अन्य सामग्रीको संकलन भइरहेको छ । 

अर्को अडिटोरियम हल बनाएका छौँ । हलभित्र छिरेपछि दर्शकले लगभग आधा घण्टाको डकुमेन्ट्री हेर्न सक्नेछन् । डकुमेन्ट्रीमा वालमा देखिएका दृश्यसँगै जनयुद्ध हुनुका कारण, फागुन १४ गते रम्तेलको हत्या भएको प्रसंग, दशवर्षे जनयुद्धका झलक, शान्ति सम्झौता र त्यसपछिको उपलब्धिलाई मितिसहित देखाइनेछ । 

अर्कोतर्फ युद्धमाथि लेखिएका किताबहरूको ‘कलेक्सन सेन्टर’ बनाएका छौँ । जहाँ इतिहासका विद्यार्थी र अनुसन्धाताले अध्ययन गर्न सक्नेछन् । अहिलेसम्म ५०÷६० वटा किताब संकलन भइसकेका छन् । त्यतिबेला कमान्डरलाई लेखिएका पत्र, बाबुआमाले लडाकु छोराछोरालाई लेखेको पत्र लगायत संकलन भइरहेका छन् । 

त्यतिबेला छापामारले दुई किसिमका पोसाक प्रयोग गरेका थिए— सादा हरियो र छिर्केमिर्के हरियो । यी पोसाकसँगै युद्धमा प्रयोग भएका हतियारमध्ये प्राप्त भएसम्म सक्कली र नभए डमी राख्ने योजना छ । 

यी लगायत दृश्य हेरिसकेपछि दर्शकहरु पार्कमा पुग्ने छन् । जहाँ दुईवटा भ्यु–डेक बनेका छन् । जहाँबाट भीमसेनथापा गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिकाका केही भू–भाग देख्न पाइन्छ र बेलुकीको सूर्यास्त अवलोकन गर्न सकिनेछ ।  

बिचमा  सहिद तथा बेपत्ता जनहरूको नामवली छ । डिजाइन परम्परागत नै हो । सुरुमा गाउँपालिका अध्यक्ष विष्णु भट्टज्यूले ल्याएको अवधारणालाई यो स्तरसम्म ल्याउनका लागि काम गर्न पाउँदा मलाई खुसी लागेको छ । 

(ई. गौतमसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको संवादमा आधारित । गौतम बारपाक सुलिकोट गाउँपालिका, गोरखामा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई. अभिनव गौतम
ई. अभिनव गौतम
लेखकबाट थप