आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश सरकार

लुम्बिनीका एमाले–माओवादी नेताहरू केन्द्रको निर्णय कुर्दै

सोमबार, २१ फागुन २०८०, १६ : ५२
सोमबार, २१ फागुन २०८०

बुटवल । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने भएको हो ।

हाल लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार छ । उनलाई प्रदेशसभाका रहेका १० दलमध्ये एमाले र राप्रपाबाहेक सबै दलले समर्थन जनाएका छन् ।

केन्द्रमा समीकरण फेरबदल भएसँगै अब प्रदेश सरकार पनि फेरबदल हुने देखिन्छ । माओवादी, एमालेसहितको सरकार बन्ने अवस्थामा मुख्यमन्त्री कुन दलले पाउने भन्नेबारे छलफल हुने नेताहरू बताउँछन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ११ सांसद छन् । प्रस्ट बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । यो अवस्थामा एमाले र माओवादी केन्द्रले थप चार सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको चार, जनमत, जसपा नेपाल र लोसपा नेपालका तीन÷तीन सांसद छन् । यिनै दलमध्येबाट एमाले–माओवादी केन्द्रले बहुमत जुटाउन सत्ता साझेदार बनाउन सक्ने आकलन गरिएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसको २९ सांसद छन् । यस्तै, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एक–एक सांसद छन् । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले अन्य साना दललाई समेटेर सरकार निर्माण गर्ने बताए ।

नयाँ गठबन्धनको विषयमा लुम्बिनीमा औपचारिक छलफल भएको छैन । केन्द्रमा भइरहेको छलफल त्यसबाट आउने भागबण्डाको खाका कुरेर प्रदेश तहका नेता बसिरहेका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रमा नयाँ गठबन्धन बने पनि प्रदेशमा कसरी लैजाने, कसले नेतृत्व गर्ने भन्नेमा स्पष्ट सहमति नभएको बताउँछन् । केन्द्रको समझदारी अनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा सदस्य श्रेष्ठले पनि केन्द्रबाट निर्देशन आएपछि मात्र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बताए ।

भागबण्डामा लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो केन्द्रबाटै लाग्ने एमाले–माओवादी केन्द्रका नेताहरूको भनाइ छ । एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा स्वाभाविक रूपमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने छन् भने माओवादीले नेतृत्व लिने अवस्थामा माओवादी संसदीय दलका नेता जोग बहादुर महरा मुख्यमन्त्री बन्ने छन् ।

गिरीले यसअघि माओवादीसँग गठबन्धन गर्दा पनि मुख्यमन्त्री बनेका थिए भने महरा सोही बेला अर्थमन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप