आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आहा ! सहिद स्मारक

मङ्गलबार, २२ फागुन २०८०, १४ : १५
मङ्गलबार, २२ फागुन २०८०

कतिबेला सबै कुरा सबैसामु सेयर गरौँ भन्ने भएको थियो, तर समय व्यवस्थापनमै अलमल भयो ।  नियमित कक्षा, कोचिङ कक्षा व्यक्तिगत व्यस्तताले गर्दा साता नै बित्न थालेछ । कुरा हो, २०८० फागनु १५ गते स्कुलबाट गएको शैक्षिक भ्रमणको । हेटौँडा— २ स्थित सिद्धार्थ माविको कक्षा ७ मा अध्ययरत हामी ७१ जना विद्यार्थी र दुईजना गुरुहरू शैक्षिक भ्रमणका सिलसिलामा हेटौँडा– ११ मा रहेको ‘सहिद स्मारक’ पुगेका थियौँ । 

एक महिनादेखि नै हामी कहीँ न कहीँ शैक्षिक भ्रमणमा जाने तयारीमा थियौँ । पढाइको कोर्स पूरा नभएको, परीक्षा मिति नजिकिँदै गरेको र समय नमिलेका कारण भ्रमणमा निस्किहाल्न सकेका थिएनौँ । अघिल्लो दिन जब गुरुले सहिद स्मारक जाने निर्णय सुनाउनुभयो, म धेरै खुसी भएँ । घर फर्कनासाथ आमा–बाबालाई सुनाएँ, आमाले भन्नुभयो, ‘घुमेर फर्कंदा मलाई कोसेली चाहिन्छ ।’ आमाको त्यो कोसेलीको अर्थ घुमेर फर्केपछि त्यहाँका बारेमा केही लेख्नुपर्छ भन्ने थियो । मैले सहमति जनाएँ ।

हुन त मेरा लागि सहिद स्मारक नौलो थिएन । यसअघि पनि पटक–पटक म स्मारक गएकी थिएँ, तर नौलो अनुभूति यसपटक के होला, नयाँ थाहा पाएको कुरा के लेखौँ भन्ने चिन्ता मलाई भयो, तर मनले हरेश मानेन । मेरी आमा सधैँ भन्नुहुन्छ, ‘जीवनमा जे भइरहेको छ, राम्रो भइरहेको छ, जे हुन्छ राम्रोकै लागि हुन्छ, भोलि जे हुन्छ, त्यो पनि राम्रै हुनेछ, हर परिस्थितिलाई खुसी–खुसी स्वीकार गरेर अघि बढ्नुपर्छ ।’ 

Group

भोलिपल्ट बिहान, कोचिङ कक्षामा सहभागी भएँ;  सदा नै ९ बजे घर आइपुगेर खाना खाई पुनः स्कुल निस्केँ । अनि सुरु भयो हाम्रो स्कुलको प्रार्थना समय । त्यसपछि हामी कक्षामा हाजिर भएर लामबद्ध भई विद्यालयको बस चढ्यौँ । बिहानको ११ः३५ बजे विद्यालयको मूल गेटबाट स्मारकका लागि हाम्रो बस पश्चिमतर्फ अघि बढ्यो । विद्यार्थी धेरै भएकाले बस खचाखच थियो, जाडो मौसममा पनि हप्प तातेझैँ भएको थियो । बस्ने ठाउँ नपाएर कतिजना उभिनुपरेको थियो, तर कसैलाई आपत्ति थिएन, थियो त केवल रमाइलो मात्रै । गीत बजाउँदै, चिच्याउँदै र रमाइलो गर्दै हामी लगभग १५ मिनेटमा स्मारकको गेटअगाडि पुग्यौँ ।

गुरुहरू स्मारकभित्र जानका लागि टिकट काट्न काउन्टरतिर अघि बढ्नुभयो । यसैको फाइदा उठाउँदै हामी कोही पसलतिर लाग्यौँ भने कोही फोटो खिच्न र घुम्नतिर । पार्किङको बिचमा गैँडाको मूर्ति छ र त्यसको माथि रहेको डिस्प्ले बोर्डमा केही नियम प्रस्तुत गरिन्छ । हामीले त्यसमा ध्यान दियौँ । गुरुहरूले टिकटको व्यवस्था भएको इसारा गर्नुभएकाले फेरि लामबद्ध भएर भित्र प्रवेश ग¥यौँ । लामबद्ध हुँदै अवलोकन गर्नतिर लाग्यौँ । मानिसहरूको उत्तिकै भिड भित्र पनि थियो । हामी अवलोकन गरिरहेकै थियौँ, गुरुहरूले त्यहाँ रहेको चिडियाखाना हेर्न जाने भन्नुभयो र हामी त्यतैतिर लाग्यौँ । केही साथीहरूले मोबाइल समेत ल्याउनुभएको थियोे । उनीहरू फोटो र भिडियोमा व्यस्त देखिन्थे । म र साथी सांसारिका गुरुहरूसँग कुरा गर्दै अवलोकन गर्दै अगाडि बढ्यौँ ।

हामीले चिडियाखानामा हुचिल, गिद्ध, इमु, मृग, चितुवा, खरायो, मयुर, गोही, कछुवा, कालिज, कुखुरा, परेवा, बेलायती, मुसा, हरिण आदि देख्यौँ । मलाई भने गोहीको मुख देखेर निकै अनौठो लाग्यो, चुच्चो परेको मुखमा कति धेरै दाँत ? यसअघि गोही देखेकी थिएँ तर दाँत याद गरेकी थिइनँ । केहीबेर विश्राम गर्न हामी प्रतीक्षालयमा बस्यौँ । साथीहरू नाच्न, खेल्न र फोटो खिच्न थाले । साथी संसारिका र म भने गुरुहरूसँग अनुमति लिएर वरपर घुम्ने र देखेका कुरा कपीमा नोट गर्न भनेर लाग्यौँ । 

त्यहाँबाट हामी प्रजातान्त्रिक पार्क गयौँ । जुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । त्यहाँ विश्वेश्वरप्रसाद कोइरालाको सालिक पनि छ । उहाँ वि.सं. १९७१ मा जन्मनुभएको र वि.स २०३९ मा बित्नुभएको पनि सालिकसँगै उल्लेख गरिएको छ । यसैगरी मनमोहन अधिकारी (वि.सं. १९८६–२०५६), गणेशमान सिंह (वि.सं. १९७२–२०५४) र पुष्पलाल श्रेष्ठ (वि.सं. १९८१–२०३५) को सालिक देख्यौँ । उहाँहरूको नाम सुनेकी थिएँ, तर उहाँहरूबारे धेरै जानकारी मलाई अझै छैन । यति मात्रै थाहा छ, उहाँहरू हाम्रो देशका लागि महान् योद्धा हुन् । तलैबाट देखिने गरी नेपालको नक्सा र सहिद स्तम्भ बनाइएको छ, सँगै विभिन्न खेल उद्यानहरू पनि छन् । 

त्यसपछि हामीले सहिद स्तम्भको अवलोकन ग¥यौँ । जहाँ नेपालका मुख्य चार सहिदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलगायत अन्य सहिदका एउटै ढुंगामा कुदिएका स्मारक छन् । चार सहिदका बारेमा हामीले किताबमा पनि पढेका थियौँ । उहाँहरूका कामलाई सम्मान गरेर यहाँ स्मारक बनाइएको हो । हाम्रो देशका सहिदलाई देखेर मन गौरवले भरियो, नमस्कार गरेँ ।

त्यसपछि हामी सभाहलहरू भएको ठाउँतर्फ लाग्यौँ । जहाँ दिनहुँजसो तीन–चारवटा कार्यक्रम हुने रहेछ । साथै त्यस दिन मगर दिवस परेकाले सबैजसो हल भरिएका थिए । त्यसपछि हामी सानो फलामे भ्युटावरतर्फ लाग्यौँ । जहाँबाट हामीले सहिदहरूको स्तम्भ, झोलुङ्गे पुल, फूलका बगैँचा देख्यौँ । भ्युटावरको पछाडि साना–साना चौतारा थिए । त्यसपछि हामी अलि पर रहेको शौचालयतर्फ गयौँ । शौचालय गएको कुरा पनि के लेख्या भन्ठान्नु भयो होला है ! सार्वजनिक स्थल भए पनि शौचालयको राम्रो व्यवस्था रहेछ, मलाई मन प¥यो । शौचालय सफा थियो, सरसफाइमा हामीले हर–हमेसा ध्यान दिनुपर्छ, स्वास्थ्य र सरसफाइ नै हाम्रो सभ्यताका परिचायक हुन् ।

त्यसपछि हामी विभिन्न फूलहरू भएको बगैँचातर्फ गयौँ । त्यहाँका रङ्गी–विरङ्गी फूलहरू देखेर मनै खुसी थियो । यति मात्रै नभई त्यहाँ वनभोज क्षेत्र, मदन स्मारक (मदन भण्डारीको सालिक), मनोरञ्जन पार्क, सहिद स्मारक स्तम्भ, पोखरी आदि थिए । त्यहीँ स्व. शिलादेवी सिंघल र श्री राजेन्द्र सिंघलद्वारा निर्मित पुण्य स्मृति देवी मन्दिर पनि थियो । पर्यटकलाई सहजताका लागि स्मारकभित्रै एटीएम पनि रहेछ, यो व्यवस्था पनि राम्रो लाग्यो । यहीँ रूपचन्द्र विष्टको स्मृतिमा २०६१ सालमा निर्मित थाहा स्तम्भ पनि रहेछ । रूपचन्द्र विष्टका बारेमा मैले आमाबाटै सुनेकी थिएँ, मकवानपुर जिल्ला पालुङ भन्ने ठाउँमा जन्मनुभएका उहाँ कम्युनिस्ट नेता थिए रे । उहाँले सबै मान्छेले सबै कुरा थाहा पाउनुपर्छ भनेर एउटा अभियान नै चलाउनुभएको थियो रे । उहाँको अभियानको नाम नै पछि ‘थाहा अभियान’ भन्ने रहन गयो । अहिले त्यही पालुङलाई समेत समावेश गरी थाहा नगरपालिका बनाइएको छ ।

DSC01126

अँ, म स्मारकको कुरा गर्दै थिएँ, यहाँ बिरुवाको नर्सरी पनि रहेछ । पर्यटक सूचना केन्द्र पनि रहेछ, तर हामीले त्यो सूचना केन्द्रको सदुपयोग गर्ने अवसर पाएनौँ । फेरि जाँदा अवसर मिल्यो भने त्यहाँ के के छ भनी फेरि लेखौँला । अर्को अनौठो कुरा, यहाँ हेटौँडा–१७ निवासी जितबहादुर विश्वकर्माले आफ्नै हातले बनाएको पितलको धरहरा छ । २०७४ चैत १५ गते निर्मित यस धरहरा हेरेर अचम्म लाग्यो । हातैले पनि कस्तो राम्रोसँग बनाउन सकिँदो रहेछ, आहा ! त्यसपछि हामी फेरि चिडियाखाना हेर्दै यतीको ठुलो मूर्ति भएको ठाउँमा पुग्यौँ । त्यसको अर्कोतर्फ नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा २०७६ माघ १४ गते उद्घाटन गरिएको रजत स्तम्भ छ ।

आहा ! कस्तो राम्रो फाउन्डेसन पनि त्यहीँ नजिकै छ, हामी त्यसको नजिक पुगेर पानीमा एकछिन खेल्यौँ । फूलबारी हुँदै घुमेर हामी गौरीशङ्कर हिमालतर्फ गयौँ । केही समयअघि म, आमाका साथीहरू र उहाँहरूका छोराछोरीसँग यहाँ पारिवारिक ड्राई पिकनिक गएका थियौँ, त्यही बेला आमाले भन्नुभएको गौरीशंकर हिमाललाई नै आधार मानेर नेपालको समय निर्माण गरिएको रे, मैले यो कुरा मेरो साथी सांसारिकालाई सुनाएँ, यो कुरा सुनेर उनी दङ्ग परिन् । यहाँ हिमालको फेदीमा गाउँबस्ती, कान्लैकान्ला भएका बारी, घरहरू, कुलो, गोरेटो बाटो— कति राम्रो आर्ट गरिएको छ, हेरिरहन मन लाग्छ ।

अहो ! हामी गुरुहरूबाट छुट्टिएको निकैबेर भएछ, हामी फक्र्यौं । के के टिप्यौ, निकैबेर हरायौ त भनेर गुरुहरू हाँस्नुभयो, गाली गर्नुभएन । देखेसम्मका सबै कुरा टिपोट गरेर प्रतीक्षालयमा आएपछि एकछिन विश्राम ग¥यौँ । त्यहाँ हाम्रो हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको टोली पनि भ्रमण गर्न आउनुभएको मैले देखेँ र सबैलाई भनेँ, हामी सबैले उहाँसँग सामूहिक फोटो खिच्यौँ ।

त्यसपछि हामी खाजा खानतिर लाग्यौँ । खाजापछि नाचगान ग¥यौँ, गुरुहरूलाई पनि नाच्न कर गरीगरी हामी पनि सँगै नाच्यौँ, करिब एक घन्टा जति नाचगान गरेर हामी थकित भयौँ, औधि रमाइलो भयो । फेरि केहीबेर विश्राम ग¥यौँ । समय बितेको पत्तै भएन, हामी त फर्कने बेला पो भएछ, त्यसपछि गुरुहरूले हामी सबैलाई एक–एकवटा फ्रुटी दिनुभयो, खाँदै हामी बसमा चढ्यौँ । फेरि पनि बसमा चिच्याउँदै रमाउँदै हामी करिब १५ मिनेटपछि स्कुल आइपुग्यौँ, र आ–आफ्नो घरको बाटो लाग्यौँ ।

मैले भ्रमणमा जे जे देखेँ, यहाँहरूसँग पनि सेयर गरेकी छु । आशा छ, सुझाव पाउनेछु । अझै धेरै छुटाएँ होला, सिक्दै छु सिक्ने अवसर दिनुहुनेछ । मेरो स्कुलका गुरुहरूलाई यो अवसरका लागि धन्यवाद । आमाले भन्नुभएको— यो स्मारकको परिकल्पनाकार हाम्रो हेटौँडाका डोरमणि पौडेल हुनुहुन्छ, जो बागमती प्रदेशको पहिलो मुख्यमन्त्री समेत हुनुभयो । उहाँले कति मजाले कुन कुन ठाउँमा के के बनाउने भनेर प्लानिङ गर्नुभएको रहेछ । वाह ! मलाई त धरै मन प¥यो । हजुरहरू पनि आउनुभयो भने राम्रोसँग अवलोकन गर्नुहोला । यहाँ के छैन र ? सबै थोक छ । पिकनिक खानका लागि सबै व्यवस्था छ, विभिन्न जातीय पोसाकमा फोटो खिचाउन पाइन्छ, पुर्खाहरूको योगदान पढ्न र अवलोकन गर्न पाइन्छ, सयौँ हजारौँ फूलहरूले मन नै हराभरा बनाउँछ, पानीको फोहोरामा फोटो खिचँुखिचुँ लाग्छ, भ्युटावर चढेर वरपरको संसार पनि हेर्न पाइन्छ, मैले सबै कुरा भन्न छुटाएँ होला, आफू आउँदा नछुटाई हेर्नुहोला ल, धन्यवाद ।

(कक्षा– ७ सिद्धार्थ मावि, हेटौंडा २, मकवानपुर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वरूपा गुरागाईं
स्वरूपा गुरागाईं
लेखकबाट थप