मुक्तिको अन्तिम तयारीमा

मुक्तिको अन्तिम तयारीमा
पाखा–पखेरा कान्लाहरू
हिमाल पहाड तराइहरू
अनि देशका अङ्गअङ्ग र अवयवहरू
परिवर्तनको दृढ शंखघोष गर्दै
एकसाथ कसिलो र दर्बिलो बाहुपासमा
दिनको पहिलो प्रहरलाई स्वागत गर्न
गर्वले हिमालझैँ उँचो शिर बनाउँदै
आचारविहीन भ्रष्टको अन्त्यका लागि
नयाँ बिहानी जन्माउने
प्रशवपीडामा छटपटाइरहेछन् सपनाहरू
मुक्तिको अन्तिम तयारीमा ।
राजनीतिले परिभाषित गरेको भाष्य
जनताको भाषासँग एकाकार हुन नसक्ने
नयाँ भाष्य निर्माणमा जुटिरहेको छ ।
जनताको दिनचर्या नफेरिने परिभाषा
जन–जनका आशा र अभिलाषा
सीमित घेराकै गणेश भएपछि
युवाका सपनाहरू नाङ्गो सर्वाङ्ग नाङ्गो
गन्तव्यविहीन दगुरिरहेछन्
स्वछन्द, यत्रतत्र, अविराम
सपनाको झिनो संकल्प पूरा गर्न
छरपस्ट सपनाहरू समेट्दै
सुन्दर भोलिको आशमा
जुटिरहेछन् युवा
मुक्तिको अन्तिम तयारीमा ।
शान्त मनहरू आवेग र आक्रोशमा
उद्वेलित हँुदै
वीररसको भावभङ्गीमा
नीलो आकाशलाई बादलले छोपेझैँ
अनिष्टको भविष्य चित्र कोर्दै
पीडाको आवरणमा लुटुपुटु
विस्फोटको नयाँ परिभाषा लेख्न
कलम र शब्दका बारुदहरू जुट्दै छन्
मुक्तिको अन्तिम तयारीमा ।
माटो दुखिरहेको छ
सार्वभौम स्वाभिमानको पर्खाइमा
देश युवाको पलायनले छटपटीमा
हिमाल आफ्नै अस्मिताको खोजीमा
सुस्ताको पीडा
परचक्रीको आँगन बनेकामा
चुच्चे नक्सा फगत कोरिएको चित्र
वारि र पारिको माटोसँग
नाता खोजिरहेको छ ।
बानेश्वरको वरिपरि
माटो जोगाउनेहरू
ज्यान जोगाउने दाउमा
सत्ता जोगाउने दाउमा
पीडितहरू अस्मिता जोगाउने आशमा
विद्रोहको बिउ अंकुरित हुँदै
मुक्तिको अन्तिम तयारीमा ।
(काठमाडौँ १४, कुलेश्वर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’