शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मान्छेको चरित्र

बुधबार, २३ फागुन २०८०, १८ : २५
बुधबार, २३ फागुन २०८०

मेरै सहाराले उठेको ऊ
आज म पछारिएको हेर्न आतुर छ
मेरो पसिनाले बनाएको महलमा बसेर ऊ
मेरो झुपडीमा आगो झोँस्न आतुर छ
उसको हातमा देखिरहेछु झर्झराउँदो आगो ।

मेरो लुङ्गीमा लुक्दै बाँचेको ऊ
म नाङ्गिएको हेर्न आतुर छ
मुटु बचाउने मेरो तरिका सिकेर
मेरै हर्ट–अट्याक देख्न आतुर छ
हातमा सिस्नु लिएर ऊ मलाई भीरतिर लखेट्न खोजिरहेछ ।

मेरो सहाराले अघि बढेको ऊ
मलाई बेसहारा देख्न आतुर छ
मेरो भाग्यले कमाएको सम्पत्तिमा रमेर
मलाई भिखारी देख्न आतुर छ
मेरै सहयोगले गगन चुम्न सफल ऊ
मलाई धर्तीबाटै नामेट पार्न आतुर छ
मेरो रगतले बाँचेको मान्छे ऊ
मेरो लास जलेको हेर्न आतुर छ ।
ऊ शववाहन राखेर ढोकामा 
भित्र कोसँग के के मन्त्रणा गरिरहेछ ।

उसलाई एउटा खबर पठाउन मन छ—
कोठाकोठामा भेटेर सबैलाई आफ्नो बनाएजस्तो 
यमराज तिम्रो हुनेछैन
त्यो शव वाहनमा मभन्दा पहिले 
तिमी नै चढ्नुप¥यो भने के गर्छौ ?
(शान्तिनगर काठमाडौँ ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुनबाबु दाहाल
अर्जुनबाबु दाहाल
लेखकबाट थप