सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको रमणीय पाखामा गुन्जिँदै नेपथ्य

आइतबार, २७ फागुन २०८०, १० : ०५
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोक भाका गुन्जिने भएको छ । चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठुला सहर बजारमा नभई इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदै छ । लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

जतिबेला नेपालमा काठमाडौँ उपत्यका बाहिर विरलै वृहत् साहित्यिक कार्यक्रम हुन्थ्यो त्यो बेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरू भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ ।

नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो । कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई अनि मुलुककै मूर्धन्य कला समीक्षक  नारायणबहादुर सिंहजस्ता हस्तीहरू प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्यास २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए ।

यो मैदानमा बर्सेनि राष्ट्रिय स्तरकै फुटबल प्रतियोगिता समेत आयोजना हुँदै आएको छ । ‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एक पटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलोदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यस पटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ ।’

मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा अर्थात् सूर्योदय नगरपालिका अन्तर्गत पर्छ । कुनै समय दुइ वर्षसम्म जिल्लाको सदरमुकाम (खलंगा) रहेको यो स्थान विक्रम सम्वत १८७५ सालमा नामसालिङ हुँदै हालको सदरमुकाम अर्थात इलाम बजारमा सरेको हो ।

नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुँदै विश्वका ठुला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ । नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरूमा ८० भन्दा बढी साङ्गीतिक प्रस्तुति दिइसकेको छ । करफोकको प्रस्तुति पनि केहि महिनाअघि मात्र जापान र क्यानाडाका शृङ्खलाबद्ध भ्रमण सम्पन्न भएपछि र अब केहि समयमै युरोपको अर्को शृङ्खलाबद्ध कन्सर्ट आयोजना हुनुको मध्यमा आयोजना गर्न लागिएको हो ।

‘केहि वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरोनिम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ ।’  

शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीन तल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केहि कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो ।

करफोक कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ । कन्सर्टका हकमा विदेशका ठुला सहरहरूमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँवस्तीसम्म पनि एकरूपता दिन आफूहरू सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महसुस गर्न सक्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्मा बताउँछन् ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप