शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘नो अब्जेक्सन लेटर’ लिने ठाउँको दृश्य : भिडभाडले सेवा दिनै सकस (भिडियो)

शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । सानो ठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र कार्यालयमा अचेल दैनिक २ हजारभन्दा बढी सेवाग्राही ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिन आउने गरेका छन् । सेवाग्राहीको भिडभाडका कारण कार्यालयका कर्मचारीलाई सेवा दिन हम्मेहम्मे हुन्छ । पढाइसँगै आर्थिक आर्जनसमेत हुने भएकाले पनि नेपाली विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न जान बाध्य बनेको विद्यार्थीकै गुनासो छ ।

एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भिड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै कार्यालय प्रमुख शान्तिराम पौडेलले भने राजीनामा दिएका छन् ।

एनओसी कार्यालय शाखा अधिकृत चन्द्र प्रसाद अधिकारीका अनुसार दिनमा सेवा माग्नेमध्ये लगभग एक हजार ५०० विद्यार्थीले एनओसी प्राप्त गर्ने गरेका छन् । सेवाग्राहीको भिडभाड धेरै हुने र सर्भर पनि कहिलेकाहीँ नचल्ने, ढिलो हुने भएकाले अलिकति कठिनाइ हुने उनले बताए ।

सेवाग्राहीको अकांक्षा अनुसार सेवा दिन नसकेको उनले स्वीकार गरे । सेवा सुविधा व्यवस्थित गर्न र भिडभाड कम गर्न कुन समयमा आउने भनेर एसएमएस पठाउने गरे पनि टाइम अनुसार नआइदिएकाले भिडभाड धेरै भएको उनको भनाइ छ ।

जापानका लागि एनओसी लिन आएका एक विद्यार्थीले रातोपाटीसँग कुरा गर्दै नेपालमा अवसरको कमी भएकाले विदेश जान लागेको बताए ।

यसैगरी, अमेरिकाका लागि एनओसी लिन आएका विद्यार्थीले नेपालमा शिक्षकदेखि ‘सिलेबस’सम्मलाई लिएर गुनासो गरेका छन् । लाइन बसेर सेवासुविधा लिने अवस्थालाई सुधार्न खासै गाह्रो नभए पनि कसैले गर्न नचाहेको भन्दै नेपालमा धेरै कुरा अव्यवस्थित हुने गरेको उनीहरुको भनाइ छ ।

उनीहरु स्नातकको पढाइका लागि एक हजार ८०० सिट र त्यही विषयको स्नातकोत्तरको पढाइका लागि २०० सिट हुनु भनेकै देशले आफ्ना विद्यार्थीलाई सिधै विदेश जाऊ भनेको जिकिर गर्दछन् ।

एनओसी लिन आएका अर्का विद्यार्थीले कार्यलयमा सधैँ भिडमात्र हुने गरेको बताए । एनओसी लिन अनलाइन सिस्टममा मिलाइदिएको भए दिनभरि लाइन बसेर सास्ती भोग्नु नपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया