शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

हामीले के बनायौ?

शनिबार, ०३ चैत २०८०, १४ : २४
शनिबार, ०३ चैत २०८०

न हामीले सगरमाथा बनायौँ
न पहाड बनायौँ 
न त खोला बनायौँ
नदी पनि आफैँ बनेको हो
हामीले दुःखै नगरी
के हामीले नै बनाएका हौँ त 
यो आकाश !
कि बनायौँ हामीले 
बादलका टुक्राहरूलाई !
ढुङ्गा बनाउन खै त मानिसको योगदान !
न त हामीले 
मानिस नै बनाउन 
कुनै योगदान गर्‍यौँ ! 
हामीले बनाउनुपर्ने के हो ?
हामीले बनाएको के हो ?
हामी बन्नुपर्ने कस्तो ? 
हामी बनेका छौँ कस्तो ?
प्रश्न आफैँतिर ।

मानिसहरू खेतीपाती गरिरहेका थिए
आनन्दले बाँचिरहेका थिए 
नाचिरहेका थिए 
हामीले धर्म र जात बनायौँ
तर मानिसलाई मानिस बन्न दिएनौँ 
कि त अर्कोभन्दा ठुलो बनायौँ 
कि त अर्र्कोभन्दा सानो 
कि त ज्ञानी 
कि त मूर्ख बनायौँ
अनि रच्यौँ— 
अन्धविश्वास 
विभेद
अपमान 
बहिष्कार 
असमानता 
आदिको खेल र खाडल ।
अनि निर्माण गर्‍यौँ—
हिंसाको छानो भएको 
विभेदकारी 
मस्तिष्क र समाज ।

हामीले कोर्‍यौँ— 
मानिसहरूबिच कहिल्यै नभेटिने 
समानान्तर रेखाहरू, 
रेखाहरूको गति 
झन्झन् बढ्दै छ
तीव्र वेगले ।

यही समाजका मानिसलाई
विभेद र अपमानका रङहरूले 
थिचिरहेको छ युगौँदेखि 
निरन्तर निरन्तर 
हरेक सासहरूमा 
मरेका लासहरूमा ।

मानिसलाई बाँचुन्जेल मूर्ख बनाउनु छ भने 
उसको मस्तिष्कमा 
धर्म, जात, लिङ्ग र राष्ट्रियताको 
विष घुसाइदिए पुग्छ 
मानिसको मस्तिष्क स्वस्थ बनाउने हो भने 
उसको मस्तिष्कबाट 
धर्म, जात, लिङ्ग र राष्ट्रियताको 
भ्रमलाई बिदा गरिदिए पुग्छ ।

हामीले हाम्रो मस्तिष्कलाई 
के बनायौँ ?
कस्तो बनायौँ ?
किन बनायौँ ? 
र मानिसलाई मानिस भएर किन बाँच्न दिएनौँ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविन परियार
रविन परियार

rabin

लेखकबाट थप