सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षअघि जलेर मरेको भनिएका व्यक्ति जब जीवित भेटिए..

सोमबार, ०५ चैत २०८०, १३ : २३
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । भारतमा २० वर्षअघि जलेर मरेको भनिएका एक व्यक्ति जीवित फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानको जोधपुर सहरस्थित डांगियावास थाना क्षेत्रमा एउटा ट्रकमा आगलागी हुँदा दुई जना जिउँदै जलेर मरेका थिए । प्रहरीले सो आगलागीमा जलेर मरेका भनिएका दुईमध्ये एक जनालाई हालै जीवित फेला पारेको हो ।

डांगियावास थानाका सबइन्स्पेक्टर मनोज कुमारका अनुसार २००४ मे १ का दिन एक ट्रकमा आगजनी हुँदा दुई जना जलेर मरेको सूचना आएको थियो ।

परिवारजनले सनाखत गरेको आधारमा प्रहरीले एक जना मृतकको पहिचान गरेको थियो । ट्रक चालक पूर्व सैनिक बालेश कुमारका परिवारजनले गरेको सनाखतका आधारमा उनको पहिचान खुलेको थियो । जलेर मृत्यु भएका अर्का व्यक्तिको भने सनाखत हुन सकेको थिएन ।

जोधपुर प्रहरीको रिपोर्टकै आधारमा बालेश कुमारकी पत्नीले पतिको मृत्यु प्रमाणपत्र लिइन् र सोही प्रमाणपत्रका आधारमा पूर्व नौसेना कर्मचारीका रुपमा पतिले पाउने पेन्सन पनि दाबी गरिन् ।

२० वर्षअघि मरेको भनिएका बालेश कुमारलाई गत अक्टोबरमा दिल्ली क्राइम ब्राञ्चले पक्राउ गरेको थियो । त्यसपछि थप रहस्य खुलेको हो ।

बालेश कुमारले प्रहरीलाई दिएको बयानमा आफूले दुई मजदुरलाई ट्रकमा जलाएको र आफू भूमिगत भएको जनाएका छन् । पत्नीलाई मृतकका रुपमा आफ्नो सनाखत गर्न भनेको र सोही आधारमा पत्नीले सनाखत गरेपछि कानुनी रुपमा आफू मरेको प्रमाणित गर्न सफल भएको उनले खुलासा गरेका छन् ।

त्यसपछि बालेश कुमार दिल्लीको नजफगढ क्षेत्रमा अमन सिंह नाम राखेर बस्न थालेको र सोही नामबाट चालक अनुमति प्रमाणपत्रसहित विभिन्न आवश्यक दस्तावेज बनाएको पनि उनले बयान दिएका छन् ।

प्रहरीका अनुसार कानुनी रुपमा मृत घोषित भइसकेका उनले समयसमयमा पत्नीसँग भने भेट गर्दै आएका थिए । गोप्य सूचनाका आधारमा क्राइम ब्राञ्चले छानबिन अघि बढाएपछि गत अक्टोबरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सन् १९९६ मा नौसेनाबाट सेवानिवृत्त भएपछि बालेश कुमारले आफ्नो भाइ सुन्दरलालसँग मिलेर ट्रान्सपोर्टको काम थालेका थिए । उनी आफैँ ट्रक चलाउँथे । यस क्रममा उनको मित्रता राजेश (खुसीराम)सँग भयो । खुसीरामकी पत्नीसँग बालेशको सम्बन्ध बढ्न थाल्यो । मदिरा पिएको समय एक दिन खुसीराम र बालेशबिच यही विषयमा विवाद भयो । बालेशले भाइ सुन्दरलालसँग मिलेर खुसीरामको हत्या गरे । सुन्दरलाललाई केही समयमै प्रहरीले पक्राउ गरेको थियो भने बालेश फरार भए ।

हत्याको सोही आरोपबाट बच्नका लागि बालेशले आफू मरेको नाटक मञ्चन गर्न ट्रकमा आगजनी गरेका थिए । आगजनीका कारण ट्रकमा रहेका दुई मजदुरको मृत्यु भएको थियो । तिनै मृतकमध्ये एक जना आफ्नो पति रहेको भन्दै बालेशकी पत्नीले सनाखत गरिदिएपछि बालेश कानुनी रुपमा मृत घोषित भएका थिए ।

प्रहरीले हत्याका दुवै घटनामा बालेशको संलग्नता रहेको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यस क्रममा झुटो सनाखत गरेको आरोपमा बालेशकी पत्नी पनि अनुसन्धानको दायरामा तानिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप