शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारी ढिलासुस्ती

दुई सयभन्दा बढी घर जलिसके, आगलागी नियन्त्रणका सामग्री खरिदमै अलमल

प्रदेश सरकार भन्छ – यो वर्ष आइपुगेन भने त्यो सामान अर्को वर्षलाई हुन्छ
मङ्गलबार, ०६ चैत २०८०, ०९ : ३८
मङ्गलबार, ०६ चैत २०८०

विराटनगर । कोशी प्रदेशमा फागुन ११ यता तीन सय बढी आगलागीको घटना भएका छन् । आगलागीबाट ५ जनाको मृत्यु, १६ जना घाइते र २ सयभन्दा बढी घर जलेको प्रहरीले तथ्याङ्क दिएको छ । यस्तै भौतिक सम्पत्ति कति क्षति भयो भन्ने हिसाब निस्कन बाँकी छ । प्रारम्भिक अनुमान अनुसार २० करोडभन्दा बढीको भौतिक सम्पत्ति क्षति भइसकेको छ । 

प्राकृतिक विपद् बाढी, पहिरो, हावा हुरी तथा आगलागी नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने दायित्व स्थानीय, प्रदेश र सङ्घ सरकारको हो । सानोतिनो विपद्का घटना स्थानीय तहबाटै समाधान हुन सक्छन् भने मध्यमस्तरका विपद्को पूर्वतयारी गर्ने जिम्मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हो । कोशी प्रदेशको उक्त मन्त्रालयले भने आगलागीको मौसम सुरु भएर यति ठुलो क्षति भइसक्दा पनि सामान्य राहतका सामाग्रीबाहेक अन्य जोहो नगरेको पाइएको छ ।

सकेसम्म आगलागी हुन नदिने र भएको खण्डमा पनि छिटो नियन्त्रण गर्न नयाँ–नयाँ प्रविधिको विकास भएको छ । तर, नेपालमा भने आगलागी नियन्त्रणको पारम्परिक तरिकाहरू मात्रै उपलब्ध छन् । नयाँ प्रविधिको उपयोगमा प्रदेश सरकार चुकिरहेको छ । पहाडमा दमकल जान सक्दैन । त्यसठाउँमा फायर एक्सटिङ्ग्युसर, वाटर ब्यागलगायत प्रयोग गर्न सकिन्छ । तर, त्यो सामान खरिद गर्ने विषयमा प्रदेश सरकार अल्झिरहेको छ । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आफूहरूले साना अग्नि नियन्त्रक सिलिण्डर र वाटर ब्यागहरू खरिद गरेर सबै स्थानीय चौकीहरूसम्म पुर्‍याउने लक्ष्य लिएको बताए । ‘ती सामानहरू खरिद प्रक्रिया चलिरहेको छ । सामान खरिदको लागि केही समय लाग्छ । करिब–करिब छिट्टै उपलब्ध हुनसक्छ,’ उनले भने । 

सामान आइपुग्दासम्म त जेठ लाग्छ कि भन्ने प्रश्नमा उनले भने, ‘हामीले यही मौसमलाई लक्षित गरेर सामान खरिद प्रक्रिया अगाडि बढाएका हौँ । यदि समयमै आइपुगेन भने त्यो सामान अर्को वर्षलाई हुन्छ,’ मन्त्री राईले भने । 

मन्त्रालयले आगलागीका घटना बढेपछि सचेतनाका अभियानहरू सुरु गर्न लागेको मन्त्री राईले सुनाए । ‘कतिपय आगलागी विद्युत् सर्टबाट पनि भइरहेको छ भन्ने भएपछि हामीले विद्युत्को क्षेत्रीय डाइरेक्टरसहितको छलफल बसेका छौँ । उहाँहरूले सन्देशमूलक सूचनाहरू रेडियो, टिभी, अनलाइनमार्फत प्रसारण गर्ने कुरा भएको छ । प्रदेश सरकारको तर्फबाट पनि आगलागीबाट कसरी बच्न सकिन्छ भन्ने प्रकारको सन्देश प्रवाह गर्नुपर्‍यो भनेर तयारी गरेका छौँ । आगलागी हुन नदिनका लागि स्थानीय तहहरूलाई समेत सन्देश प्रवाह गर्ने कुरामा सशक्त लाग्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘आगलागी भइसकेपछिको कुरामा राहत उपलब्ध गराउने हो । त्यो अवस्था अनुसारको हुन्छ । स्थानीय सरकार पनि जवाफदेही भएका कारण समन्वय गरेर काम गरिरहेका छौँ ।’

  • क्षतिपूर्ति बढाउन सकिँदैन

आगलागीबाट पीडितहरूले क्षतिपूर्ति माग गर्दै निवेदन दिनेहरू दिनदिनै बढिरहेका छन् । तर, सरकारले भने न्यून मात्रै क्षतिपूर्ति दिने गरी नियम बनाएको छ । घरको क्षति भएको खण्डमा प्रहरी सर्जिमिन मुचुल्काका आधारमा १५ हजार, ३० हजार र ५० हजारसम्म सहयोग क्षतिपूर्ति दिने गरेको मन्त्री राईले जानकारी दिए । ‘६ लाखसम्मको क्षति भएकोलाई १५ हजार, ८ लाखसम्मको क्षति भएकोलाई ३० हजार र ८ लाखभन्दा माथिको क्षतिलाई अधिकतम ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने गरेको छ । त्यो पनि सिडियो कार्यालयमार्फत हुन्छ, प्रहरी मुचुल्काको आधारमा,’ उनले भने । 

कोशी प्रदेशमा फागुन ११ गते यता भएको आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौँ मानिस घरबारविहीन बनेका छन् भने करोडौँको क्षति भएको छ ।

भोजपुरमा आगलागीबाट तीन जना बालबच्चाको ज्यान गयो । ‘आगलागीमा परी ज्यान गुमाएको परिवारलाई सहानुभूति स्वरूप १ लाख रुपैयाँ दिने गरिएको छ । त्यही अनुसार हामीले राहत वितरण गरिरहेका छौँ,’ राईले भने, ‘धेरै क्षति भएको हुन्छ । तर, राहत एकदमै काम भएको कुरा सत्य हो । तर, यो भन्दा धेरै ठुलो राहत उपलब्ध गराउने कुरामा हामीले थेग्न सक्दैनौँ कि भन्ने कुरा छ ।’

उता, आगलागीका घटना बढिरहेको सन्दर्भमा एक अपिल जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारले विपद्बाट नागरिकलाई जोगाउने काम गरिरहेको जनाएका छन् । यस्तै आगामी वर्षबाट बीमाको अवधारणा अगाडि सारेर राहतलाई प्रभावकारी बनाउने काममा जुटेको उनको भनाई छ । अहिले आगलागीमा परेर विक्षिप्त भएका नागरिकलाई राहत र उद्धारको लागि प्रदेश सरकारले के गरिरहेको छ भन्ने विषयमा भने उक्त अपिलमा उल्लेख छैन ।

  • आगलागीको घटना निरन्तर बढ्दै

कोशी प्रदेशमा फागुन ११ गते यता भएको आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौँ मानिस घरबारविहीन बनेका छन् भने करोडौँको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार गरी दुई दिनमा मात्रै ४४ वटा आगलागीका घटना भएका छन् । 

सोमबार पनि सोही अनुपातमा आगलागीका घटना भएका छन् । सोमबार पाँचथर, सुनसरी, खोटाङ लगायतका जिल्लामा ठुला आगलागीका घटना भएका छन् । 

त्यसअघि भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको थियो । प्रहरीका अनुसार फागुनको ११ गतेयता मात्रै आगलागीका ३ सयभन्दा बढी घटना भएका छन् । जसमा परी अनुमानित २ सय वटा घर जलेको छ र २० करोडभन्दा बढीको क्षति भएको छ । 

हिउँदयाम सकिएर प्रिमनसुन सुरु हुन लाग्दा पनि वर्षा नहुनु, गर्मी बढ्नु र हावा चल्दा आगलागी बढिरहेको उनले बताए । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको बताएको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको प्राधिकरणले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप