आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

अचाक्ली आगलागी वर्षाका कारण नियन्त्रण

फागुनयता लगातार भइरहेका आगलागीका घटना बिहीबार शून्य, बालीनालीलाई वरदान साबित हुने
बिहीबार, ०८ चैत २०८०, २१ : ४१
बिहीबार, ०८ चैत २०८०

विराटनगर । फागुनको दोस्रो हप्तादेखि अचाक्ली बढेको आगलागीका घटना पानी परेसँगै रोकिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी चन्द्रकुबेर खापुङले आगलागीका घटना रोकिँदा ठुलो राहत महसुस भएको बताए । 

‘आगलागी आज काहीँ पनि भएको सुनेको छैन । हिजो फाट्टफुट्ट थियो । आजदेखि आनन्द भइरहेको छ,’ डीआइजी खापुङले भने, ‘आगलागीसँगै किसानलाई पनि पानी परेर वरदान नै भयो । हामीलाई पनि आगलागी नियन्त्रणमा टोली कुदाउनुपर्ने खटाउनुपर्ने, अनेक व्यवस्थापन गर्नुपर्ने अवस्था थियो ।’ 

प्रदेश भरमा फागुन ११ यता तीन सय बढी आगलागीका घटना भएका थिए । आगलागीबाट ५ जनाको मृत्यु, १६ जना घाइते र २ सय बढी घर जलेको प्रहरीले तथ्याङ्क छ । यस्तै करोडौँको क्षति भएको छ । मौसम विज्ञान विभागका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भएको छ र पहाडी केही क्षेत्रमा हिमपात पनि भएको छ ।

शुक्रबार पनि हल्का वर्षा हुने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै शनिबार पनि कोशी  प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

चैत महिनाको यो अवधिमा परेको पानीले आगलागी र डढेलोको घटनालाई नियन्त्रण गरेको मात्रै छैन किसानहरूको लागि आशा पनि जगाएको छ । ‘प्रदूषण भएको ठाउँमा पानी पर्दा पनि बालीनालीलाई नै फाइदा गर्छ । राहत धेरै गर्नुपर्ने हो । अहिलेको अवस्था खराब भइसकेको थियो । माटो फुटेर चौपट थियो,’ कृषि विज्ञ राजेन्द्र उप्रेतीले भने, ‘मुख्य कुरा माटो भिजाउन आवश्यक पनि थियो ।’

यो सिजनमा पसाउन लागेको मकै, पाक्न लागेको मकै, बढ्दै गरेको मकै, कोशे बाली, मुङ दाल, बाली लगाउने तयारी गरिरहेका किसानलाई सजिलो हुने उनले बताए । यस्तै सिमी, बोडीहरूमा देखिँदै गएको किराको प्रकोप पनि पानी परेपछि कम हुने उनको भनाइ छ । ‘लहरे बालीलाई पनि राम्रो गर्‍यो । अहिले पानी पर्दा क्षति गर्ने अवस्था पनि थिएन । ठिक्क बेलामा पानी पर्‍यो,’ उप्रेतीले भने । 

तराई क्षेत्रमा मात्रै नभएर पहाडी क्षेत्रमा पनि पानी र हिमपातले बालीनालीमा सहयोग गर्ने त्यहाँका किसान बताउँछन् । भोजपुरका किसान विष्णु लुइँटेलले पानी नपरेका कारण मकै बालीलाई समस्या देखिएको बताए । तर, अहिले परेको पानीले सहयोग हुने उनको भनाइ छ ।

‘यो बेलासम्म मकै उम्रिसक्नुपर्थ्यो, असोजदेखि पानी नपर्दा बाँझो जोत्नै पाइएन अब भने कम्मर कसेर काममा लाग्न पाइने भयो,’ उनले भने, ‘अहिले पानी पर्दा मकै छर्न, चैते धान रोप्न र यसअघि लगाइएका गहुँ र आलु बालीलाई फाइदा पुग्छ ।’

यस्तै ताप्लेजुङस्थित फालेलुङ–५ का चौंरीपालक किसान चन्द्रलाल नेपालले पनि पानी परेका कारण आफू खुसी भएको बताए । ‘मान्छेलाई शीतल त भयो नै पानी नपर्दा लागि रहेको डढेलो र आगलागी पनि नियन्त्रणमा आयो, वसन्तको सुरुवातमा परेको पानीले गुराँस राम्ररी फुल्छ, खर्कमा घाँस पलाउँछ अनि सबै खाले रुख बुटामा पालुवा पलाउँछन्,’ उनले भने । 

पहाडी जिल्लामा असोज पहिलो साता मनसुन निष्व्रिय भएसँगै निरन्तरको खडेरी परेको थियो । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने छरेको मकै पनि राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो । 

मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन नपाएको कतिपय किसान बताउँछन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुने बित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । यस्तै अहिले भएको वर्षाले नगदे बाली अलैँची, फलफूल खेतीलगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसानले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप