सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

के यो कलियुग नै भएर होला त !

शनिबार, १७ चैत २०८०, १० : १९
शनिबार, १७ चैत २०८०

हैन के यो कलियुग नै भएर होला त?
यहाँ श्रीमान् को कुरा श्रीमतीलाई मन पर्दैन 
बाउको कुरा छोरालाई मन पर्दैन 
दाजुले भाइलाई सहँदैन 
भाइले दाजुलाई टेर्दैन 
बुढापाकाको भनाइजस्तै के यो युग विध्वंस हुन तिर जाँदैछ त?

सुनिन्छ, श्रीमानले श्रीमती मार्‍यो रे
छोराले बाउआमा मार्‍यो रे
प्रेमीले प्रेमीका मार्‍यो रे 
कसैले परिवार नै सखाप पार्‍यो रे 
मेयर,डाक्टर, शिक्षक कुटिए रे
आखिर यो सब किन?

विद्यालयमा हेर्‍यो धेरै बच्चाबच्ची मानसिक रोगी 
अनि समय अगावै प्रेम सम्बन्ध मा विवादहरू 
समाचार सुन्यो दैनिक औसत चौध आत्महत्याका घटनाहरू 
के यो सामाजिक सञ्जालहरूको नकारात्मक प्रभाव होला त?
पश्चिमा देशहरू अत्याधुनिकता तिर लम्किँदै छन् 
चन्द्रमामा जग्गा धावा बोल्न थालिसके 
महिलाहरू अन्तरिक्ष पुगिसके 
तर हामी भने अझै छोरी/चेलीलाई साँझ एक्लै बाहिर पठाउन डराउनुपर्ने 
त्यो पनि आफ्नै नेपाली दाजुभाइ सँग 
किन यस्तो समाज सिर्जना गर्‍यौँ त हामीले ?

यहाँ विश्वास शब्द नै थिचोमिचो मा पर्दैछ 
शब्दकोशबाट बाहिरिएला की भन्ने डर लाग्दैछ 
परिवारकै एक सदस्य ले अर्कोलाई विश्वास गर्दैन 
आफ्नो पराइ छुट्याउन सकिँदैन 
आखिर यति धेरै अविश्वास किन?

सहन सक्ने क्षमतामा ह्रास 
बच्चाबच्ची देखी परिपक्व सबै आफ्नै सुर आफ्नै जिद्दीमा 
हरेकलाई आफ्नै कुरा लाद्नु छ 
न अरूको सुन्नु छ न मान्नु छ 
गर्नु छ त सिर्फ आफ्नै मन लागी मात्र 
अनि कसरी बढ्छ त एकआपसमा समझदारी?

समाजमा हेर्‍यो घरपरिवार मा कलह
विद्यालयमा हेर्‍यो गुरु विद्यार्थीबिच कलह
अस्पताल मा हेर्‍यो डाक्टर बिरामीबिच कलह
राजनीति हेर्‍यो कलह नै कलह 
किन यती धेरै असन्तुष्टि?
ओहो! किन यस्तो हाम्रो देशको अवस्था 
कहिले सुध्रिने हामी 
अनि कहिले गर्ने सुदृढ समाजको परिकल्पना।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शाम्भवी वाशिष्ठ
शाम्भवी वाशिष्ठ
लेखकबाट थप