बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम र बझाङको उम्मेदवार टुंग्याउन बुढानीलकण्ठमा जुट्यो कांग्रेस

मङ्गलबार, २० चैत २०८०, १५ : १३
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा साढे २ बजेबाट बैठक सुरु भएको हो । 

उपनिर्वाचन हुन लागेको इलाम—२ र बझाङ प्रदेशसभा १ को अवस्थाबारे सोमबार सभापति देउवाले शीर्ष नेताको बैठक राखेर ग्राउण्ड रिपोर्ट लिएका थिए । ग्राउण्ड रिपोर्टका आधारमा कांग्रेसले आज इलाम—२ र बझाङ प्रदेशभा—१ का लागि उम्मेदवार टुंग्याउन लागेको हो ।  कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् ।

इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

टिकटका लागि मुख्य प्रतिस्पर्धा खड्का र आचार्यबिच देखिन्छ । सभापति देउवा खड्कालाई टिकट दिने मुडमा छन् भने नेता शेखर कोइरालाले आचार्यका लागि लबिङ गरिरहेका छन् । खड्का र आचार्यको विकल्पमा नागेन्द्र कुमालको नाम पनि चर्चा छ । आदिवासी जनता महासंघका पूर्व अध्यक्ष समेत रहेका कुमाल संविधानसभाका सदस्य समेत भएका थिए । कांग्रेसले केही दिनअघि कुमालाई पार्टीको आदिवासजी जनजाति विभागको सदस्यमा मनोनित गरेको छ ।

यस्तै कांग्रेसका मातहत कमिटीले बझाङ प्रदेशसभा (१) का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी,  विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।

बझाङ प्रदेशसभा १ मा जगत जोशी र अभिषेक सिंहबिच टिकटका लागि हानथाप छ । जोशी कांग्रेसका पुराना नेता हुन् भने सिंह यसअघि निर्वाचित स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा हुन् ।  एमालेले इलाम— २ मा सुहाङ नेम्बाङ, रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राई, जनमतले पे्रमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएका छन् । यस्तै पहिचानवादी समूहले डकेन्द्र थेगिमलाई स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

यस्तै बझाङ प्रदेशसभामा एमालेले दमनबहादुर भण्डारी, एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र प्रदेश कमिटीले इलाम— २ मा धिरेन्द्र शर्मा र बझाङ प्रदेशसभा १ का लागि जनक बुढाको नाम सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप