शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने

शनिबार, २३ जेठ २०८३, १८ : ३९
शनिबार, २३ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।

वडा र पालिका तहका निर्वाचनहरू सम्पन्न भएसँगै आज र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ । 

पार्टीले तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने अभियान अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि महत्त्वपूर्ण खुड्किलो भएको बताएका छन् । उनले भने, 'हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मानेर नेतृत्व दाबी गर्ने प्रवृत्तिको अन्त्य स्वच्छ निर्वाचन प्रक्रियाबाटै हुनेछ ।'

निर्वाचनलाई निष्पक्ष बनाउन प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको उनले जानकारी दिए । 

केन्द्रीय निर्वाचन आयोगको पोर्टलका अनुसार हालसम्म निम्न विवरण अद्यावधिक भएका छनः 

सम्पन्न वडा अधिवेशनः ४,२४६ वडा समितिहरू (थप ४ तदर्थ वडा समिति अद्यावधिक) ।
सम्पन्न पालिका अधिवेशनः ५१२ पालिका समितिहरू (थप ४ तदर्थ पालिका समिति अद्यावधिक) ।

जिल्ला अधिवेशनको कार्यतालिकाः

राष्ट्रिय महाधिवेशन अगावै देशका ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको कार्यतालिका छ, जसको विवरण निम्न अनुसार छः 

जेठ २३ गते (आज) : सातवटै प्रदेशका गरी जम्मा ३८ जिल्लाहरूमा मतदान तथा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।
जेठ २४ गते (भोलि) : विभिन्न प्रदेशका थप २७ जिल्लाहरूमा निर्वाचन हुनेछ ।
जेठ २६ गते : विशेष साङ्गठनिक परिस्थितिका कारण थप १ जिल्लाको निर्वाचन जेठ २६ गते हुनेछ । सोही दिन बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको समेत सुरुवात गरिने पार्टीले जनाएको छ । कार्यतालिकामा समावेश नभएका देशका बाँकी १० जिल्लाहरूको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपश्चात् क्रमशः गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

आयोगले यस आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप