आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

वीरमा जनशक्ति अभाव, ३६० शय्या प्रयोगविहीन

बुधबार, २१ चैत २०८०, १६ : ०२
बुधबार, २१ चैत २०८०

काठमाडौँ । जनशक्ति अभावका कारण वीर अस्पतालले पूर्ण क्षमतामा सेवा दिन सकिरहेको छैन । ९६० शय्या क्षमताको अस्पतालले हाल ६ सय शय्या मात्रै सञ्चालन गरेको हो । जनशक्ति अभावमा ३६० शय्या प्रयोगविहीन रहेको हो ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले विशेष गरी इमर्जेन्सी, आईसीयू र अप्रेसन थिएटरमा जनशक्ति अभावले सेवा प्रभावित भएको जानकारी दिए । गत असोजमा २७६ जनशक्ति हटिसकेपछि सेवा प्रवाहमा समस्या भएको उनले बताए ।

करोडौँ रुपैयाँ पर्ने मेडिकल सामग्री जनशक्ति अभावमा प्रयोगविहीन भएको पौडेलले सुनाए । ‘हामीले डाइलासिसका लागि ५ वटा मेसिन थप्यौँ,’ उनले भने, ‘ती मेसिन जनशक्ति अभावका कारणले प्रयोग हुन सकेको छैन ।’

  • ६० शय्या आईसीयू २७ मा झर्‍यो

वीर अस्पतालमा ६० शय्या आईसीयू सञ्चालन हुँदै आएको थियो । तर नेपाल सरकारले नर्सिङ जनशक्ति कटौती गर्दा हाल आईसीयू २७ शय्या मात्रै सञ्चालन भएको डा.पौडेलले बताए । ‘आईसीयूको सेवा ५० प्रतिशतभन्दा बढी कटौती भयो, अप्रेसनको सुविधा ३० प्रतिशतभन्दा बढी कटौती भयो,’ उनले भने, ‘असोज अगाडि मासिक एक हजारभन्दा बढी सर्जरी हुन थालेको थियो, हाल ६५० मा झर्‍यो ।’

  • वंशाणुगत रोगको पहिचान प्रयोगशाला सञ्चालन गर्न कठिनाइ

वंशाणुगत रोगको पहिचान गर्ने सरकारी प्रयोगशाला देशभरमा एउटामात्र छ । त्यो प्रयोगशाला पनि वीर अस्पताल अन्तर्गत पर्छ । जनशक्ति तथा आर्थिक अभावका कारण सो प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पौडेल बताउँछन् ।

dr. santosh paudyal  (1)

डा. पौडेलले आगामी आर्थिक वर्षका लागि ९९ करोड रुपैयाँ बजेटको सिलिङ आएको बताए । योमध्ये ६३ करोड रुपैयाँ तलबमै सकिने र संस्थागत विकासका लागि अपुग हुने उनको गुनासो छ ।

  • के कारणले भयो जनशक्ति अभाव ?

बजेट र जनशक्तिको कमीका कारणले अस्पतालसँग भौतिक क्षमता भएर पनि स्वास्थ्य उपचार दिन सकेको छैन । अस्पतालको वार्षिक तलबमा मात्रै ६३ करोड रुपैयाँ खर्च हुने डा. पौडेलले बताए । ‘चालु आर्थिक वर्षका लागि हामीले १ अर्ब ५६ करोड रुपैयाँ बजेट प्रस्ताव गर्‍यौँ तर ७३ करोड रुपैयाँमात्रै प्राप्त भयो,’ उनले भने, ‘६३ करोड रुपैयाँ वार्षिक तलबमा मात्रै खर्च हुन्छ । पानी, बिजुलीको बिल, सरसफाइ, मर्मत लगायत व्यवस्थापनमा खर्च हुन्छ, त्यति रकमले कसरी पुग्छ ?’

कोरोना महामारीको समयमा अस्पतालले विभिन्न विभागमा करारमा कर्मचारी नियुक्त गरेको थियो । त्यतिबेला ६ महिनाको करारका लागि भन्दै डाक्टर, नर्स, पारामेडिक्ससहित जम्मा २७५ जनालाई करार नियुक्ति दिइएको थियो । गत असोजमा ती कर्मचारी हटाइएकाले जनशक्ति अभाव भएको डा. पौडेलको भनाइ छ ।

  • कति जनशक्ति अभाव ?  

वीर अस्पतालमा १८ सयको हाराहारीमा जनशक्ति आवश्यक छ । तर अस्पतालमा ११ सय देखि १२ सयको हाराहारीमा पदपूर्ति भएको डा. पौडेलले बताए । यसमध्ये पनि अधिकांश नर्सको दरबन्दी खाली रहेको उनले बताए ।

‘सरकारले ८३१ जना नयाँ जनशक्ति छुट्याएकोमा एक सयमात्रै पूर्ति हुन सकेको छ,’ उनले भने, ‘लोकसेवाबाट २४६ जनाको पदपूर्ति हुँदा पनि ३ सय जनशक्तिमात्रै भयो, यसमा पनि ५ सयको हाराहारीमा खाली नै छ ।’

डा. पौडेलका अनुसार अस्पतालमा ६ सय शय्या सञ्चालन गर्न ३७२ जना नर्समात्रै छन् । उनले भने, ‘यसमध्ये पनि सुत्केरी बिदा, पढाइ बिदा लगायत औसतमा १५ देखि २० प्रतिशत जनशक्ति बाहिर नै हुन्छ ।’

नर्सको जनशक्तिको अभावका कारणले स्वास्थ्य सेवामा सम्झौता गरिएको उनले उल्लेख गरे । ‘नर्सको सङ्ख्या एकदमै कम छ, कार्यालय सहयोगी जस्ता पद बढी छन्,’ उनले भने, ‘तिनले हामीलाई आर्थिक भार धेरै बढाएका छन्, प्रशासनिक कार्यालय सहयोगी, कम्प्युटर अपरेटर धेरै छन् । कार्यालय सहयोगी नै दुई सयको हाराहारीमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप