शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ब्राजिलमा बाढीका कारण मर्नेको सङ्ख्या ५६ पुग्यो

आइतबार, २३ वैशाख २०८१, १० : ५१
आइतबार, २३ वैशाख २०८१

रियो द जेनरियो । ब्राजिलमा मुसलधारे वर्षापछि आएको बाढीका कारण अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । हजारौँ मानिस घरबारविहीन भएका छन् । उद्धार र राहत कार्य निरन्तर जारी रहेको समाचार एजेन्सी एएनआईले अल जजिरालाई उद्धृत गर्दै समाचारमा लेखेको छ । 

दर्जनौँ अझै बेपत्ता रहेको बताइएको छ । उद्धारकर्मीहरूले घर, सडक र पुलको भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेको बताइएको छ । रियो ग्रान्डे डो सुलमा पानीको उच्च स्तरका कारण बाँधहरूमा भार बढ्दै गएको छ । जसका कारण आसपासका सहरहरूमा त्रास बढेको छ ।

बाढी प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । बेपत्ता हुनेको सङ्ख्या उच्च रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । गएको केही दिन यताको भारी वर्षा र आँधीका कारण रियो ग्रान्ड दू सुल राज्यका ४९७ शहरमध्ये दुई तिहाई सहर प्रभावित भएका छन् । 

७४ जना बेपत्ता रहँदा ६९ हजार भन्दा धेरै विस्थापित भएको बताइएको छ । राज्यका कयौँ क्षेत्रमा बाढीले सडक र पुल ध्वस्त पारेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रमा पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । प्रभावित क्षेत्रमा मानवीय र भौतिक स्रोतको अभाव नहुने उनले बताएका छन् ।

अगाडि थप खतरा

मौसमविद्हरूले थप विपत्ति आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । राज्यको मुख्य नदी गुएबा खतराको निशानमा पुग्न सक्ने र यसले विद्यमान त्रासदीलाई अझ बढाउने सम्भावना रहेको बताइएको छ । लगातारको अविरल वर्षका कारण त्यहाँको पूर्वाधार नराम्ररी प्रभावित भएको छ । खानेपानीलगायत आधारभूत सुविधा पनि प्रभावित भएका छन् । अवस्था यति खराब बनेपछि उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सरकारले सुरक्षित स्थलमा जान आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप