आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कपाल स्ट्रेट गर्दा महिलाको मिर्गौला फेल

बिहीबार, २२ चैत २०८०, ११ : ०४
बिहीबार, २२ चैत २०८०

बेलायत । सैलुनमा गएर कपाल स्ट्रेट गराउनु महिलालाई अभिसाप भएको छ । न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिशिनले यो केस सार्वजनिक गरेको हो । जर्नलका अनुसार सैलुनमा कपाल स्ट्रेट गराउन प्रयोग गरिने एउटा केमिकलको बारम्बार प्रयोगका कारण महिलाको किड्नी फेल भएको छ । सौन्दर्य प्रसाधन उद्योगमा कपाल स्ट्रेट गराउन ग्लायोक्सोलिक एसिडको प्रयोग गरिन्छ ।

यो केसले कपाल सिधा बनाउन प्रयोग गरिने केमिकल कम्पाउन्डले मानव स्वास्थ्यमा उत्पन्न गराउन सक्ने सम्भावित खतरा र यी रसायनिकहरूले हाम्रो शरीरको कार्यमा कस्तो हस्तक्षेप गर्छन् भन्ने उजागर गरेको छ । बारम्बार कपाल स्ट्रिट गराएकै कारण मिर्गौला फेल हुने युवतिको उमेर २६ वर्ष भएको बताइएको छ । महिलामा पहिला मिर्गौलासम्बन्धी कुनै समस्या नभएको जर्नलमा भनिएको छ । ती युवति जून २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा कपाल सीधा पार्न सैलुन गएकी थिइन् ।

हरेक पटक सैलुन जाँदा उनलाई बान्ता आउने, पखाला लाग्ने, ज्वरो आउने अनि ढाड दुख्नेलगायत समस्या देखियो । कपाल सीधा गर्दाखेरि टाउकोमा जलन महसुस भयो अनि घाउहरू पनि आयो । परीक्षण गर्दा युवतिको पिसाबमा रगत पनि आइरहेको  थियो । तर कुनै खाले सङ्क्रमणको लक्षण चाँहि नभेटिएको बताइएको छ । सिटी स्क्यान गर्ने क्रममा महिलाको पिसाब प्रणालीमा पनि कुनै अवरोध नभएको पाइयो । कपाल स्ट्रेट गर्ने क्रममा ग्लायोक्सोलिक एसिड केमिकल रहेको अनुसन्धानबाट खुलेको छ । युवतिको टाउकोमा जलन हुन र घाउ उत्पन्न हुनुको कारण पनि यही रसायन थियो ।

मुसामा प्रयोग

यो मामिलालाई राम्रोसँग बुझ्न डाक्टरहरूले मुसामा एउटा परीक्षण गरेका थिए । यो एसिड टाउकोको छाला हुँदै शरीरभित्र पसेर मिर्गौलासम्म पुगेको अनि क्षति पुर्याएको चिकित्सकहरूको भनाई छ । प्रयोगमा महिलाको कपाल सीधा बनाउने प्रडक्टलाई मुसाको ढाडमा लगाइएको थियो । यो हेयर स्ट्रेटनिङ जेलमा १० प्रतिशत ग्लाइओक्सिलिक एसिड थियो । दोस्रो समूहका मुसामा पेट्रोलियम जेलीको प्रयोग गरियो ।

हेयर स्ट्रेटनिङ जेल लगाइएको मुसाको पिसाबमा गल्तिले इथिलीन ग्लाइकोल नामक खतरनाक रसायन पिएका मानिसको पिसाबमा पाइने जस्तै क्रिस्टलीय पदार्थहरू भेटियो । इथिलीन ग्लाइकोल कयौं घरेलु र औद्योगिक चिजमा पाइन्छ । उक्त मुसाको रगतमा क्रिएटिनिन नामक पदार्थ पनि उच्च स्तरमा पाइयो । मृर्गाैलामा क्याल्सियम अक्सालेट मोनोहाइड्रेटको मात्रा पनि धेरै थियो । पेट्रोलियम जेली लगाइएको मुसामा यीमध्ये कुनै चिज पनि भेटिएन ।

ग्लाइसोलिक एसिड खतरा चेतावनी

हरेक पटक सैलुन गएर आउँदा युवतिमा देखिएको समस्या छिटै निको पनि भइरहेको थियो । युवतिको उपचार गर्ने डाक्टरका अनुसार कपाल सिधा बनाएपछि देखिएका लक्षणहरु कपाल सिधा बनाउन प्रयोग हुने ग्लायोक्सोलिक एसिडको खतराबारे चेतावनी सङ्केत थियो । यस्ता उत्पादनबाट टाढा रहनुपर्ने र सकियो भने बजारबाटै हटाउनु पर्ने चिकित्सकहरूको भनाई छ ।

कपाल सिधा पार्ने प्रडक्टहरूमा फर्मलाडेहाइडको सुरक्षित विकल्पको रूपमा ग्लायोक्सोलिक एसिडको प्रयोग भइरहेको छ । यी उत्पादन मिर्गौला रोगसँग जोडिएको हुन सक्ने केही रिपोर्टहरूले बताएका छन् । इजरायलमा पनि मिर्गौला फेल भएका २६ जना बिरामीमाथि हालै गरिएको अध्ययनमा केहीले ग्लायोक्सोलिक एसिड भएका उत्पादनहरू प्रयोग गरेको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप