शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन : पुरुषतर्फ पुन र महिलातर्फ श्रेष्ठलाई उपाधि

शनिबार, २४ चैत २०८०, १३ : १९
शनिबार, २४ चैत २०८०

बुटवल  । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जितेका छन् । शनिबार लुम्बिनीमा भएको कार्यक्रममा पुनले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पुरा गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान प्राप्त गरेका छन् । उनले नगद ३ लाखसहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली (जुम्ला)का दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा सो दुरी पुरा गर्दै तृतीय स्थान प्राप्त गरे । उनले उपाधिसँगै २ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा अनीश थापाले चौथो स्थान हासिल गरेका छन् ।

उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा किरण बोगटी पाँचौँ, सुशीलकुमार शाही छैटौँ, होमलाल श्रेष्ठ सातौँ, जुनेश खड्का आठौँ, राजन चौधरी नवौँ र प्रकाश गैरेले दसौँ स्थान हासिल गरे । पाँचौँदेखि १० औँ स्थान प्राप्त गर्नेले क्रमशः ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धाविका श्रेष्ठले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् । त्यस्तै, नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा सो दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेकी छन् । उनीहरू लुम्बिनीबाट विमानस्थल पुगेर फर्केका थिए।

एपीएफकी पुष्पा भण्डारी सो दुरी १ घण्टा २५ मिनेट १४ सेकेन्डमा पुरा गर्दै तेस्रो भइन् । विजेता श्रेष्ठले  स्वर्ण पदक सहित २ लाख, न्यौपानेले रजत पदक र १ लाख ६० हजार तथा भण्डारीले कांस्य पदक र १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिषकुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराइले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए ।

५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । म्याराथन, हाफ म्याराथन तथा पाँच किमी दौडको सुरुवात तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । यस्तै लुम्बिनीमा बुद्धकालीन खेल कुस्ती र आचरी खेल पनि प्रदर्शन गरिएको छ ।

 लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप