बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

सोमबार, ०३ वैशाख २०८१, ११ : १८
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । 

प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘हामीले त्रिभुवन विश्वविद्यालयमा जुन किसिमको भिसीले जुन किसिमको टिम बनाउन चाहनुभएको छ, त्यो बनाउन सहज गरिदिनु भयो । प्रधानमन्त्रीले त्यसको लागि धन्यवाद दियौँ । विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्छ, कुनै राजनीतिक गन्ध आउनुभएन । त्यसका लागि अरू राजनीतिक पार्टीहरूलाई पनि बोलाएर होला, छलफल गरेर प्रतिबद्धता जनाउनु पर्छ । कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण हुँदैन, हस्तक्षेप र खेलबाड हुने छैन भनेर निवेदन गरेका छौँ ।’

प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता,क्षमता र प्रतिविद्धताकै आधारमा छान्नुपर्ने बताए । उनले दलीय निकटताको हिसाबले नभएर योग्य मानिस र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे । 

उनले भने, ‘दलीय निकटताको हिसाबले नभएर योग्य मानिस र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुन्छ । विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्त्वपूर्ण पक्ष हो । विश्वविद्यालय प्राज्ञिक संस्थाहरूमा भएको पाठ्यक्रममा समयानुकूल परिवर्तन, रूपान्तरण र शिक्षकहरूलाई आकर्षित गर्ने टिकाउने अनुसन्धानको क्रियाकलापमा संलग्न गराउनेदेखि क्याम्पसको परिसरभित्र प्राज्ञिक संस्कृति, बौद्धिक वातावरण निर्माण गर्ने कुरामा ध्यान नदिने हो भने माथिको मात्रै ठिक मान्छे ल्याएर स्वतः सुधार हुन्छ भन्ने अपेक्षा गर्नु हुँदैन । समग्रतामा हेर्नुपर्छ ।’

त्यस्तै उद्यमी र वैज्ञानिक डा. प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिबद्धता रहेको भन्दै सबै राजनीतिक दलहरूले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिबद्धता जनाउनुपर्ने बताइन् । उनले सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाए मात्रै देशले फड्को मार्ने बताइन् । 

उनले भनिन्, ‘हेर्दा शैक्षिक संस्थालाई सुधार गर्नुपर्छ भन्नु भनेको शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण गर्ने हो र देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने हो भने यो सम्भव छैन । नैराश्यजनक स्थितिलाई हामीले आशाजनक स्थितिमा लैजानुपर्छ । त्यसका लागि राजनीतिक हस्तक्षेप नभई योग्यताको आधारमा शैक्षिक संस्थाहरूमा राम्रो मान्छे लिएर आए सुधार हुन्छ । देश बनाउने हो भने शैक्षिक संस्था अर्थात् जरालाई नै पानी र मल दिनुपर्छ । युवाहरूको पलायन हुँदै जाने र फर्किन नैराश्य हुने स्थिति परिवर्तन गर्नुपर्छ ।’

भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गर्ने बताए । प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान् कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप