शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

फ्लेचर र चार्ल्सको अर्धशतक, नेपालसामु विशाल लक्ष्य

बिहीबार, २० वैशाख २०८१, १३ : ४७
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि दुई सय १० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यारेबियन टोलीले टस जिती पहिले ब्याटिङ गर्दै केवल तीन विकेट गुमाएर दुई सय नौ रन बनाएको हो ।

पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान फ्लेचरले अविजित ८४ रन बनाए । उनले केवल ५४ बलको सामना गरी चार छक्का र नौ चौका पनि हिर्काए ।

त्यसअघि ओपनर ब्याट्सम्यान चार्ल्सले पनि टोलीको खातामा ५८ रन थपेका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान फाबियन एलनले पनि अविजित ३३ रन बनाए ।

एलनले केवल १९ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । नेपाली बलरको प्रदर्शन निराशाजनक रह्यो । कुशल भुर्तेलले दुई विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । प्रतिस जिसीले एक विकेट हात पारे । उनले चार ओभरमा ४३ रन खर्चिए ।

ललित राजवंशी र अविनाश बोहरा पनि महँगा साबित भए । ललितले चार ओभरमा ५३ रन दिएका थिए । अविनाशले चार ओभरमा ४२ रन खर्चिए । गुलसन झाले पनि दुई ओभरमा २५ रन खर्चिए । नेपाली टोलीका बलरले अतिरिक्त रूपमा मात्र २५ रन दिएका थिए ।

वेस्ट इन्डिजको पहिलो विकेट प्रतिस जिसीले लिएका थिए । उनले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान एलिक एथेन्जलाई पाँच रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको पहिलो बलमा एथेन्ज आउट हुँदा वेस्ट इन्डिजले नौ रन बनाएको थियो ।

वेस्ट इन्डिजको दोस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर जोन्सन चार्ल्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि चार्ल्सले अर्धशतक बनाएका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन जोडे ।

१०औँ ओभरको अन्तिम बलमा चार्ल्स आउट हुँदा वेस्ट इन्डिजले एक सय एक रन बनाएको थियो । अघिल्लो खेलमा पनि उनले टोलीका लागि शतकीय पाली खेलेका थिए । उक्त खेलमा उनले अविजित एक सय १९ रन बनाएका थिए ।

440430626_858176306338751_7350761412662415497_n

वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । १३.२ ओभरमा कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको थियो ।

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी आईसीसी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । वेस्ट इन्डिज भने समूह ‘सी’ मा छ । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन् । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप