सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन : महामन्त्री थापा

सोमबार, ०३ वैशाख २०८१, १९ : २७
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न पनि नहुने बताएका छन् । सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताएका हुन् । 

महामन्त्री थापाले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए । उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए । उनले सरकारमा नयाँ आएकाहरूले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए । 

महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘अहिले नयाँ आएका सरकारका साथीहरूले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म काँग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि । म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो । हामी देको देइ गर्न थाल्यौँ क्या । २०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ । महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरू मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् ।’

महामन्त्री थापाले नागरिकहरूको न्यायको लागि काँग्रेसले आवाज उठाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप