बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
रामनवमी

रामनवमी : आदर्श र पराक्रमको महोत्सव

बुधबार, ०५ वैशाख २०८१, १० : ०३
बुधबार, ०५ वैशाख २०८१

सनातन जगतका अनेक ग्रन्थहरूमा भगवान् श्रीरामको सम्पूर्ण जीवन वृत्तान्त भेटिन्छ । रामायणहरू पनि अनेक छन् । अनेक पुराण श्रीरामको आख्यान, उपाख्यान र कथाहरूले भरिएको छ । नेपालका आदिकवि भानुभक्तले संस्कृत रामायणको खस भाषामा अनुवाद गरेका छन् । श्रीराम एक लोकप्रिय आराध्य देवताको रूपमा प्रतिष्ठित छन् । रामायण पाठ हिन्दु धर्मावलम्बीहरू श्रद्धापूर्वक गर्दछन् ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णले भनेका छन् कि धरतीमा जब जब धर्मको हानी हुन्छ र अधर्म बढ्दछ तब तब अधर्मीको विनाश गरेर धर्मको रक्षाको लागि मेरो अवतरण हुन्छ । भगवान् विष्णु सृष्टि धर्मको संस्थापना र निरन्तरताका लागि सत्ययुगमा मीन, कुर्म, वाराह र नरसिंहको, त्रेतायुगमा वामन, परशुराम र रामको तथा द्वापरयुगमा कृष्ण र बुद्धको रूपमा अवतरित भए । श्रीराम भगवानको सातौँ अवतार हो । उनले अधर्मी रावणसहित रक्षकुलको नाश गरे । तत्पश्चात् आदर्श राजनीतिको स्थापना गरेर मर्यादा पुरुषोत्तम श्रीराम कहलाए ।

अवतारी पुरुष श्रीरामको अवतरण तिथि समस्त संसारका लागि उल्लासको विषय रहेको छ । भगवानको जन्म तिथिको गणना विद्वानहरूको विषय हो तर सर्व साधारणका लागि रामनवमी । अर्थात् विक्रम सम्वतको चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथि ।

ग्रन्थ पुराणहरूका अनुसार श्रीरामको जन्म चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा भएको थियो । महर्षि वाल्मीकि कृत रामायणको बाल काण्डमा श्री रामको जन्म चैत्र शुक्ल पक्षको नवमी तिथि पुनर्वसु नक्षत्र, कर्क राशि, अभिजीत महूर्तमा भएको उल्लेख छ । तुलसीदास रचित रामचरितमानसले पनि यसलाई शिरोधार्य गरेको छ । वाल्मीकिको गणनाको आधार तारा मण्डल चक्र हो । वाल्मीकि रामायणको पुष्टि दिल्लीस्थित इन्स्टिट्युट अफ साइंटिफिक रिसर्च अन वेदाले गरेको छ । उसले खगोलीय गणनाको आधारमा श्रीरामको जन्म १० जनवरी ५११४ इसा पूर्वमा भएको निकालेको छ । वाल्मीकिले देखाएको ग्रह नक्षत्रको स्थितिको आधारमा प्लेनेटेरियम सफ्टवेयरले गरेको अनुमान अनुसार श्रीरामको जन्म ९३४९ सालअघि भएको थियो ।

रामनवमीको उत्सव उमंगका साथ विश्वभर फैलिँदो छ । नेपाल र भारत त रामनवमी उत्सवको आधारभूमि नै हो ।

आधुनिक कम्प्युटर प्रविधिद्वारा गणना गर्दा यो २१ फरवरी, ५११५ ईसा पूर्व निकलेको छ । युनिक एग्जीबिशन अन कल्चरल कन्ट्युटी फ्रॉम ऋग्वेद टू रोबटिक्स नामको यो एग्जीबिशनमा प्रस्तुतकर्ताका अनुसार श्रीरामको जन्म १० जनवरी, ५११४ ईसा पूर्व बिहान बारह बजेर पाँच मिनेटमा भएको थियो ।

श्रीराम अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र थिए । उनको आमा दशरथकी जेठी रानी कौशल्या थिइन् । दशरथका माहिली रानी केकैयबाट भरत र कान्छी रानी सुमित्राबाट लक्ष्मण र शत्रुघ्नको  जन्म भयो ।

रामनवमीमा देशभर उल्लास र उत्सवको माहौल रहन्छ । हिन्दु बस्तीको केन्द्र वा आसपासमा राम जानकी मठमन्दिर अवश्य रहन्छ्न् । मठमन्दिरमा भव्यताका साथ रामनवमीको विशेष पूजा अर्चना गरिन्छ ।

रामनवमीको उत्सव उमंगका साथ विश्वभर फैलिँदो छ । नेपाल र भारत त रामनवमी उत्सवको आधारभूमि नै हो । भारतको अयोध्या भगवान् रामको जन्मभूमि हो भने नेपालको जनकपुरधाम उनको पत्नी देवी सीताको जन्मभूमि हो ।

अयोध्याको रामललाको मंदिरमा र जनकपुरधामको जानकी मन्दिरमा रामनवमीको विशेष कार्यक्रम आयोजन हुन्छ । श्रीरामको बालरूपको नाम रामलला हो । अयोध्याको प्राचीन रामजन्म भूमि मन्दिर पाँच सय वर्षदेखि अतिक्रमणमा थियो । अतिक्रमणबाट मुक्त भएपछि हाल भव्य मन्दिर निर्माण गरिएको छ । जनवरी २२, २०२४ मा रामललाको प्राण प्रतिष्ठा भयो ।

रामनवमी चैत्र नवरात्रको नवौं दिवस हो । नवरात्र आद्य शक्ति नवदुर्गा देवीको पर्व हो । चैत्र, आषाढ, आश्विन र माघ महिनाको शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको  चारवटा नवरात्र आद्य शक्ति भगवतीलाई समर्पित छ । नवरात्रको नौ दिन देवी दुर्गाको नौ रूपको क्रमशः आराधना गरिन्छ । नवदुर्गाको नौ रूप क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्रि र महागौरी हुन् । शारदीय नवरात्र र दीपावली पनि रामकथासँग जोडिएको छ ।

राजघरानाको हर्षोल्लासमय वातावरणमा रामललाको जन्म भयो । माता पिता नाता कुटुम्ब प्रजा सबै हर्षविभोर भए ।

रामकथा श्रीरामको जीवन, चरित्र, आदर्श, पराक्रमको साहित्य हो । रामकथालाई रामायण भनिन्छ । महर्षि वाल्मिकिले संस्कृत महाकाव्य रामायणको रचना गरे । तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना अवधि भाषामा गरे । यी रामायण र मानसको विभिन्न भाषामा अनुवाद भयो ।

तुलसीदासले श्रीरामको जीवनका आयामहरूलाई सरल भाषामा जनसमक्ष ल्याए । जस्तो कि भगवानको जन्म, शिक्षा, विवाह, वनवास, राज्यभिषेक । राजा दशरथ रघुवंशी (सूर्यवंशी) इक्ष्वाकु कुलका थिए । आफ्नो वचनप्रति समर्पित आदर्श राजा दशरथले पुत्रप्राप्तिको कामना गरी अश्वमेध यज्ञ तथा पुत्रकामेष्टि यज्ञ गरे । उनैको सन्तान भगवान् विष्णुका सातौँ अवतार श्रीराम भए ।

राजघरानाको हर्षोल्लासमय वातावरणमा रामललाको जन्म भयो । माता पिता नाता कुटुम्ब प्रजा सबै हर्षविभोर भए । भगवान् रामले जन्म लिँदा माता कौशल्याले गरेको वन्दना “श्री रामचन्द्र कृपालु भजुमन, हरण भवभय दारुणं  । नव कंज लोचन कंज मुख, कर कंज पद कंजारुणं“ जग प्रसिद्ध छ । यो वन्दना सुन्दर काण्ड, रामचरितमानस कथा, हनुमान आराधना, अखंड रामायणको पाठ गर्दा प्रमुखताले वाचन गरिन्छ । रामललाको जन्मको बेला वर्णन गरिएको अनेकौं लोक गीत अवधि, भोजपुरी, मैथिली, मागधि, वज्जी आदि पश्चिमोत्तर भारत र नेपालमा निकै लोकप्रिय रहेको छ । लिहले जनम रघुरइया हो रामा.... ।

ऋषि वशिष्ठबाट राम दाजुभाइहरूको शिक्षादीक्षा भयो । गुरु वशिष्ठको शिक्षा पूरा भएपछि ऋषि विश्वामित्रले राम र लक्ष्मणलाई आफ्नो शिष्य बनाए । उनले दुबै भाइलाई तपोवन (सुन्दर वन) स्थित आफ्नो आश्रममा लिएर गए । त्यहाँ उनले राजनीति र युद्धको शिक्षा दिए । तपोवनमा यज्ञादि कार्यमा राक्षसहरूले उपद्रव मचाइरहेका थिए । गुरु विश्वामित्रको आदेशमा रामले राक्षसहरूलाई मारे ।

तपोवनको अभिभारा पूरा भएपछि विश्वामित्रले राम–लक्ष्मणलाई विभिन्न राज्य, नगर, ग्राम, वन, नदी पर्वत, आश्रम, तीर्थहरूको भ्रमण गराए । गुरु विश्वामित्रको साथ भ्रमणमा रहँदै श्रीरामले मिथिला (जनकपुर) का राजा जनककी पुत्री सीतासँग स्वयंवर गरे ।

राम र सीताको विवाहको केही समयपछि राजा दशरथले रामको राज्याभिषेक गर्न खोजे । महारानी केकैयले आफ्नो छोरा भरतलाई राजगद्दीमा बसाउन भन्दै रामलाई १४ वर्षको लागि वनवासमा पठाए । वनवासमा रहँदा लंकाका राजा रावणले सीताको अपहरण गर्यो । श्रीरामले हनुमान, सुग्रीव लगायत किष्किन्धा राज्यसित मैत्री सम्बन्ध कायम गर्दै लंकामाथि विजय प्राप्त गरी पत्नी सीतालाई ल्याए । त्यसपछि श्रीराम अयोध्या फर्किए । गुरु वशिष्ठले साइत हेरेर श्रीरामको राज्याभिषेक गरे । तत्पश्चात् उनले अयोध्या राज्य विस्तार गर्दै आदर्श शासन व्यवस्था सञ्चालन गरे । अन्ततः भगवान् श्रीराम मानव लीला समाप्त गरी वैकुण्ठ गए ।

श्रीरामको चरित्रका सर्वश्रेष्ठ वर्णन गोस्वामी तुलसीदासले गरेका छन् । उनले रामचरितमानसमा श्रीरामको जीवनलाई अत्यन्तै सुन्दर र भावपूर्ण ढंगले प्रस्तुत गरेका छन् ।  रामचरितमानस सनातन साहित्यको एक अमूल्य उपहार हो, जसले सदियौंदेखि श्रीरामको भक्ति जन–जनमा पुर्याइरहेको छ । रामायण एक त्यस्तो साहित्य हो, जो हरेक सनातनीलाई थाहा छ ।

श्रीराम एक आदर्श पुरुष थिए । उनी बत्तीस गुणले सम्पन्न थिए । उनी करूणा, दया, क्षमा, सत्य, न्याय, सदाचार, साहस, धैर्यको पर्याय थिए । उनी एक आदर्श पुत्र, भाइ, पति, राजा र मित्र थिए । गुरु र पिताको आज्ञा सदैव शिरोधार्य गर्ने तथा माता पिता गुरु र आफैँले दिएको वचनमा अडिग रहने उनी मर्यादा पुरुषोत्तम कहलाए । मानसको यो अंश कि “रघुकुल रित सदा चली आई, प्राण जाय पर वचन न जाई“ लोकोक्तिको रूपमा समेत प्रचलित छ ।

राजा रामले प्रजाहरूलाई आफ्नै सन्तान तुल्य पालन गरे । आज पनि हाम्रो समाजमा सुखका दिनहरूलाई “रामराज्य“ भनेको सुन्न पाइन्छ । राजा रामले सामाजिक प्रतिक्रियालाई पनि गम्भीरतापूर्वक लिन्थे । सामाजिक प्रतिक्रियाकै कारण उनले धर्मपत्नी सीताको त्याग गरे । जसको लागि उनले ज्यानको बाजी लगाएर युद्ध गरे, त्यही व्यक्तिलाई त्याग गर्न उनलाई रत्तिभर समय लागेन । राजा राम एक विशाल हिमाल थिए, जो नीति, आदर्श र वचनको पूर्तिका लागि स्थिर र अडिग थिए ।

रावण शूर्पणखाद्वारा प्रेरित सीताहरण कार्यमा सहायता माग्न जब मारीचनजिक पुग्छन् र मारीचलाई प्रोत्साहन गर्दै भन्छन् कि राम तिमी समान समर्थ छैन । तब मारीच भन्छन् कि रावण तिमीलाई यथार्थको ज्ञान छैन ।

यजुर्वेदको एक प्रार्थनामा भनिएको छ– ‘वीर्यमसि वीर्यम् महि धेहि’ अर्थात् हे परमात्मा ! तपाईँ वीर्य स्वरूप हुनुहुन्छ, मेरो जीवनमा पनि पराक्रमको स्थापना गर्नुहोस् । वीर्यवानको अभिप्राय हो, सहज पराक्रम, वीरताले युक्त । वाल्मीकिले  भनेका छन्– ‘कश्च विर्यवान्’ र जसको उत्तर श्रीराम हुन् ।

वीर्य पार्थिव बलको तथा यस धरामा प्राप्त हुने साहस र शौर्य को मूल कारण हो र यो व्यक्तित्वमा अन्तर्निहित प्रभावको मुख्य कारण पनि हो । निर्भीकता, उत्साह तथा विजय प्राप्त गर्ने उल्लासको कारण पनि हो । आत्मबल यसैमाथि निर्भर गर्दछ । वाल्मीकिको प्रश्नको उत्तर दिँदै नारद भन्छन्– ‘विष्णुना सदृश्य वीर्ये’ अर्थात् श्रीराम विष्णुका समान वीर्यवान् छन् । उनी अमोघवीर्य हुन् । उनको पराक्रम कहिले निष्फल हुँदैन ।

रावण शूर्पणखाद्वारा प्रेरित सीताहरण कार्यमा सहायता माग्न जब मारीचनजिक पुग्छन् र मारीचलाई प्रोत्साहन गर्दै भन्छन् कि राम तिमी समान समर्थ छैन । तब मारीच भन्छन् कि रावण तिमीलाई यथार्थको ज्ञान छैन । दैत्यराज बलि र नमुचि पनि युद्धमा श्रीरामको सामना गर्न सक्दैनन् । मारिच रावणको सहयोगी भएर पनि श्रीरामको महत्व र पराक्रम स्वीकार गर्दछ ।  यो रामत्वको प्रकाश हो । खर–दूषण होस् वा शूर्पणखा, श्रीरामबाट दण्डित भएर पनि श्रीरामको निंदा गर्दैनन् ।

किष्किन्धामा उपस्थित श्रीराम बालीलाई भन्छन् कि वन–पर्वत यो सारा भूमि इक्ष्वाकु वंशको हो, त्यसको रक्षाका लागि हामी प्रतिबद्ध छौँ । पराक्रमको अभिप्राय कसैलाई भयाक्रांत गर्नु होइन, अपितु लोकलाई भयमुक्त गर्नु हो । श्रीराम घोषणा गर्दछन्– ‘क्षत्रियैर्धार्यते चापो नर्तशब्दः भवेदिति ।’ अर्थात्  क्षत्रीय यस कारणले धनुष धारण गर्दछ कि कतै पीडित स्वर न सुनाई देओस् । व्यक्ति र समाजलाई अभय गर्ने यो प्रतिज्ञा श्रीरामलाई लोकरक्षक बनाएको छ ।

वस्तुतः श्रीरामको पराक्रम निर्बलहरूको बल हो । पराजित, वञ्चित, पछि छुटेका मानिसलाई साथ लिनुमा र आत्मसात गर्नुमा नै यसको चरितार्थता हो । यो पराक्रम सामाजिक शान्तिलाई अक्षुण्ण बनाई राख्ने आधार हो । श्रीरामको पराक्रमले जगतलाई निर्भीकता प्रदान गर्दछ र यस प्रकार श्रीरामलाई जन–जनको चेतनामा नायकको रूपमा प्रतिष्ठित गर्दछ ।

यज्ञको रक्षाका लागि गुरु विश्वामित्र राम–लक्ष्मणलाई सुन्दर वन (जंगल) मा लिएर गए । जहाँ ताडका, मारिच र सुबाहुको वध गरेर श्रीरामले आफ्नो पराक्रम देखाए । अहिल्याको र सबरीको उद्धार गरे । सीताको स्वयंवरमा संसारकै वीरहरूले नसकेको शिव धनुष तोडेर अद्वितीय पराक्रमको परिचय दिए । राक्षसराज रावणको वंश नाश गरे ।

राम रामेति रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं, रामनाम वरानने  । । यस मन्त्रलाई श्रीराम तारक मन्त्र र श्रीराम रक्षा स्तोत्र भनिन्छ । यस मन्त्रको जाप, विष्णु सहस्रनाम अर्थात् विष्णुको हजारौँ नामको जापको समतुल्य छ ।

राम सनातन संस्कृतिको पर्याय हो । सनातन संस्कृतिको हरेक घटनामा श्रीरामको विम्ब भेटिन्छ । मानिसले आफ्ना हरेक आचरणमा श्रीरामको आदर्श अनुकरणीय पाउँछ । मानिसको बोलीपिच्छे राम! राम राम । जय श्रीराम । हे राम! भनेर प्रकट भइरहेको हुन्छ । श्रीरामको आराधना, उपासना, कथा श्रवण र तीर्थाटन मानिसको लागि परम लक्ष्यको रूपमा रहेको हुन्छ । र अन्त्यमा पनि ’राम नाम नै सत्य हो अरू सबै भ्रम हो’ भन्दै मानिस संसारबाट बिदा हुन्छ । 

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन्  ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप