मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

मर्यादा पुरुषोत्तम श्रीराम र वर्तमान युगमा मर्यादाको अवस्था

बुधबार, ०५ वैशाख २०८१, ११ : ५६
बुधबार, ०५ वैशाख २०८१

कहीँ छैन योभन्दा ठुलो धाम, 
सबै लोक तर्छन् बोलेर श्रीराम ।
दुई अक्षरको दिव्य पवित्र नाम 
पुकारौँ सबैले बोलेर जय श्रीराम ।

धर्म, संस्कृतिले नै मानव जातिलाई सभ्यताको मार्गमा डो¥याएको हुन्छ । जति नै सापेक्षता र निरपेक्षताका कुरा गरे पनि आजको अवस्थामा आइपुग्न मानव जातिलाई धर्मको गतिलो बैसाखीको मद्दत मिलेको कुरा अकाट्य छ । 

धर्मको एक अंशका रूपमा संस्कृतिको प्रादुर्भाव भएको हो । संस्कृतिको अवलम्बन गरेर मात्र हरेक क्षेत्रका मानव जाति सभ्यताको शिखरमा आइपुगेका हुन् । सभ्यताको शिखर आरोहण गर्दा आदर्श र मर्यादा दुई सूत्रले मात्र गन्तव्य निर्धारण गर्छ, जसलाई भगवान् श्रीरामले अवलम्बन गरेका थिए, जुन आज दृष्टान्तका रूपमा हिन्दु सभ्यतामा सर्वव्यापक भएको छ । आदर्शको प्रसङ्ग उठान गर्दा जो–कोहीले पनि कार्य गर्दा आत्मा मोक्ष र समग्र मानव विकासका लागि गर्दछ भने त्यस्तो महात्मा नै आदर्श व्यक्ति हो । सधैँ असल कुरालाई आत्मसात् गरेर त्यसको सिद्धि वा प्राप्तिका निमित्त काम गरेर संसारलाई सुन्दर, सुखद बनाउने सिद्धान्तमा डुबेको गुणले युक्त विशेषता नै आदर्श हो । 

  • मर्यादा

जो–कोहीले आफ्नो अनुकूल मर्यादा शब्दको अर्थ लगाउलान् तर रामको सन्दर्भमा मर्यादाको अर्थ लगाउने हो भने शालीनता र शिष्टाचार हो । यो व्यवहारको अति उत्तम रूप हो । यो व्यवहारमा देखिने दर्शनीय विषय हो । यसलाई सामान्य अर्थमा बुझ्ने हो भने मर्यादा भन्नाले सीमाभित्र रहनु भन्ने हो । मनुष्य एक सामाजिक प्राणी भएकाले प्रत्येक समाज, समुदायमा एक निश्चित नियम, मूल्य–मान्यता हुन्छन् । समाजमा अधिक मानिसहरू हुने हुनाले सबैको एक अर्कामा सम्बन्ध हुन्छ । यस्तो सम्बन्धलाई व्यवहारमा ल्याउनका लागि केही नियम र आचार हुन्छन् । यिनै नियम र आचारको पालना गर्नु नै मर्यादा हो । मर्यादाको पालना गर्नुलाई नै मर्यादित भनिन्छ । समाजद्वारा निर्दिष्ट नियम, सीमाको उल्लङ्घन गर्नु नै मर्यादाको उल्लङ्घन हो । 

मर्यादालाई एउटै क्षेत्रमा सीमित गर्न सकिँदैन । स्थान, परिवेश अनुसार मर्यादालाई वर्गीकृत गर्न सकिन्छ । यसलाई विभिन्न आधार दिएर वर्गीकृत गर्न सकिन्छ ः

१) सामाजिक मर्यादा ।

२) कुल परिवारको मर्यादा ।

३) नातासम्बन्धी मर्यादा ।

४) सांस्कृतिक मर्यादा । 

५) धार्मिक मर्यादा ।

यी उल्लिखित मर्यादाका प्रकार व्यवहारतः दैनिक जीवनमा प्रायः प्रयोगमा आइरहन्छन् । विशिष्टीकृत ढङ्गले बुझ्ने हो भने यसका प्रकारलाई अझै विस्तृतीकरण गर्न सकिन्छ । मानव सृष्टिको यस्तो अनुपम नमुना हो, जसले अपेच्छाकृत मर्यादित रहन आवश्यक हुन्छ । जब कोही आफैँ मर्यादामा रहने प्रयास गर्दैन भने उसले अरुको मर्यादा कसरी गर्न सक्छ र ! मर्यादा कायम राख्नका लागि व्यक्तिमा आचरण वाणी, भाषा, वचनमा नियन्त्रण राख्न आवश्यक हुन्छ ।

  • महाभारतको विदुर नीति

महाभारतको विदुर नीतिमा भाषाको मधुरता व्यक्तिको आभूषण हो भनिएको छ । यसै सन्दर्भमा सन्त कविरदासको भनाइ प्रासाङ्गिक हुन आउँछ । उनले भनेका छन्–‘वाणी यस्तो होस् जसले अरुलाई शीतलता प्रदान गरोस् । स्वयंको मनमा पनि शीतलता प्राप्त होस् ।’ यसरी मर्यादालाई कायम गर्ने एक अङ्ग भाषा हो । विवेकवान् मानिसले कहिले पनि भाषाको मर्यादा उल्लङ्घन गर्दैन । मर्यादित भाषा यस्तो हो, जसले सम्बन्धलाई जोड्ने काम गर्छ ।

  • महान् धार्मिक ग्रन्थ रामायण

धार्मिकग्रन्थ रामायणमा श्रीरामलाई मर्यादा पुरुष भनिएको छ । श्रीरामको माता तथा पिताप्रतिको मर्यादा, गुरुभक्ति, भ्रातृप्रेम, पत्नीप्रतिको निष्ठा र आफ्नो राज्यका प्रजाजनहरूप्रति गरिएको सम्मान अनुकरणीय छ । मनुष्य जीवनका कर्तव्य कसरी पूरा गर्ने त्यो श्रीरामको जीवन चरित्रबाट सिक्न सकिन्छ । श्रीरामका तीन भाइले पनि आफ्ना सीमामा रहेर यही मर्यादा दर्शाएका थिए । नारीको मर्यादा के हो ? यो आदर्शनारी सीताबाट सिक्न सकिन्छ । 

श्रीरामको जीवनमा व्यतीत भएका घटनाको चिन्तन–मनन गर्ने हो भने आदर्श र मर्यादा अविरल झरनाजस्तो देखिन्छ । उनका हरेक घटनाले एउटा मर्यादाको दृष्टान्त र आदर्शको सन्देश दिएको पाइन्छ । पिताको मर्यादा (मान) राख्नका लागि श्रीराम वन गएका थिए । उनले पिताको आज्ञालाई सहर्ष स्वीकार गरेका थिए । अर्कोतर्पm षड्यन्त्रपूर्वक भरतलाई दिइएको राज्य त्याग गर्न भरतले कुनै कसर बाँकी राखेनन् । अन्त्यमा दाजुको मर्यादा कायम राख्न राज्य सञ्चालनार्थ श्रीरामको चरणपादुका सिंहासनमा राखेर १४ वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरे । सबै भाइ र भ्रातृपत्नीहरूले समेत मर्यादाको पालन गरे । जब सीताको वन गमनको प्रसङ्ग आउँछ, 

रामले सीतालाई वन पठाए भन्ने भावोत्तेजक रोष रामका प्रति प्रकट गरेको पनि पाइन्छ । वास्तवमा वन गमन सीताको आफ्नै निर्णय थियो । राजा रामको मर्यादा कायम राख्नका लागि सीता स्वयंले वनवास गमनको यात्रा तय गरेकी थिइन् । नारी मर्यादाका सम्बन्धमा भारतीय प्रसिद्ध कथाकार राधाकृष्णका शब्दमा, ‘नारीको मर्यादा घुङ्घटभित्र र ढोकाभित्र होइन उसको स्वभावमा हुन्छ ।’ 

लङ्काको स्वामित्व राममा आइसकेको थियो । यसै परिवेशलाई बुझेर लक्ष्मणले रामलाई लङ्कामै बस्न आग्रह गरे । यसको प्रतिउत्तरमा रामले लक्ष्मणलाई भनेका थिए– लक्ष्मण यो लङ्का सुनले बनेको भए पनि यसमा मलाई कुनै रुचि छैन, किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् ।

यस भनाइलाई अझ विस्तारपूर्वक विश्लेषण गरी चिन्तन गर्ने हो भने यी व्यवहारगत गुण सीतामा विद्यमान थिए ।

जीवनमा सन्तुलन र सामञ्जस्य कायम राख्नका लागि मर्यादा पालन कायम राख्नु नितान्त आवश्यक छ । मर्यादित जीवनको वास्तविक अर्थ मानिसले आफ्नो हर विचार, व्यवहार र कर्मको सामाजिक, नैतिक मूल्य–मान्यता सीमाभित्र रहेर आचरणयुक्त व्यवहार देखाउनु हो । यसबाट मानिसले उच्चतम गति हासिल गर्न सक्छ ।

मर्यादा भङ्ग हुन गयो भने अनुशासन टुट्छ । यसले समाजमा विखण्डन ल्याउँछ । कुनै पनि सत्मार्गीले आफ्नो जीवनको एक कालखण्डमा महान् कर्तव्य पालन गरेर समाजमा मर्यादा कायम राख्न सक्यो भने त्यो समाज उन्नतशील समाजमा रूपान्तरण भएर जान्छ । आजको भौतिकवादी समाजमा मर्यादा विशृङ्खलित हुँदै गइरहेको छ । यसले मर्यादापनलाई पतनोन्मुख बनाइरहेको छ ।

श्रीरामले आफ्नो जीवनमा उच्च आध्यात्मिक नैतिक मूल्यलाई कायम राखेर आफ्नो देश, समाज र युगलाई नै दृष्टान्तलाई छाडेर गए । रामको आदर्श र मर्यादाबाट अनुप्राणित भएका कैयौँ मानिस रामको वैकुण्ठारोहण गर्ने घडीमा अयोध्याबाट सँगै गएका थिए । यसबाट स्पष्ट रूपमा के बुझ्न सकिन्छ भने रामको भौतिक अस्तित्वभन्दा पनि रामको मर्यादा र आदर्शबाट ती मानिस प्रभावित र अविचलित भएका थिए ।

  • मर्यादा पुरुषोत्तम

भगवान् श्रीरामलाई अनेकौँ उपमा दिएर बुझ्ने गरिन्छ । उनलाई पितृभक्त, मातृभक्त, भ्रातृप्रेमका पर्याय, पत्नीव्रत, प्रजावत्सल, आदर्शवादी, मर्यादापालक र पुरुषोत्तम भनिन्छ । पुरुषोत्तमको अर्थ पुरुषमा पुरुष, आदर्श भाइ, धैर्यवान्, साहसी, न्यायी, पराक्रमी, उदार, हुनुका साथै मन, वचन, कर्मले कार्य गर्ने धर्म, सत्य, न्याय र निष्ठापूर्वक कार्य गर्ने व्यक्ति नै पुरुषोत्तम हो । विद्वान्का मत अनुसार भगवान् श्रीराममा यस्ता सोह्रवटा गुण विद्यमान थिए । वास्तवमा भन्ने हो भने श्रीराममा उच्च मर्यादा पालकको गुण थियो । उनले किष्किन्धा राज्यका राजा बालीको वध गरेपछि किष्किन्धा राज्य र त्यहाँका प्रजा वानरप्रति पनि उति नै मर्यादा दर्शाएका थिए जति उनले अयोध्याका प्रजालाई दर्शाउने गरेका थिए । लङ्काको विजय पश्चात् पनि रामले लङ्कावासीप्रति सोही आदर्श र मर्यादा दर्शाएका थिए । हिन्दु धर्मग्रन्थ वाल्मीकि रामायणको श्लोकमा यस्तो आदर्श वाक्य पाइन्छ, जहाँ भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै आज्ञा गरेका थिए–

“मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव,

जननी जन्म भूमिश्च स्वर्गादपि गरी यसी ।”

मित्र, धनधान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ, तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि महान् छन् । यसै सन्दर्भमा एउटा काल, परिवेश र परिस्थितिको सिर्जना हुन्छ, जब रामले रावणउपर सर गरेपछि लङ्काको स्वामित्व स्वतः राममा आइसकेको थियो । यसै परिवेशलाई बुझेर लक्ष्मणले रामलाई लङ्कामै बस्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा रामले लक्ष्मणलाई भनेका थिए–

अपि स्वर्णयी लङ्का न मे लक्ष्मण रोचते ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।

लक्ष्मण यो लङ्का सुनले बनेको भए पनि यसमा मलाई कुनै रुचि छैन, किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् । यो प्रसिद्ध आदर्श वाक्यले राष्ट्रप्रतिको माया र मर्यादा झल्काएको छ । यो आदर्श वाक्य हाम्रो देश नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो ।

भगवान् राम भगवान् विष्णुको अवतारमध्ये एक हुन् । पौराणिक कथा अनुसार धर्तीमा फैलिएको अन्याय, अत्याचार र असुरहरूको विनाशका लागि भगवान् विष्णुले सातौँ अवतार लिँदा रामको रूपमा जन्म लिएका थिए ।
  • श्रीराम

हिन्दु धर्मावलम्बीको प्रमुख पर्वहरूमा राम नवमी पनि एक महत्त्वपूर्ण पर्व हो । हिन्दु धर्मग्रन्थ अनुसार चैत शुक्लपक्षको नवमी तिथिमा भगवान् श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यस दिनलाई श्रीराम जन्मोत्सव वा राम नवमी भनिएको हो । 

राम शब्द रवि शब्दको समानार्थक हो । यसको अर्थ स्वयं प्रकाश हुनु वा आपूm भित्रको ज्योति जगाउनु भन्ने बुझिन्छ । यही कारणले मनुष्य जन्मदेखि अन्तसम्म राम नाम पुकारी रहेको हुन्छ । यद्यपि आत्मप्रकाश नै राम नाम हो ।

भगवान् राम भगवान् विष्णुको अवतारमध्ये एक हुन् । पौराणिक कथा अनुसार धर्तीमा फैलिएको अन्याय, अत्याचार र असुरहरूको विनाशका लागि भगवान् विष्णुले सातौँ अवतार लिँदा रामको रूपमा जन्म लिएका थिए । वास्तवमा भन्ने हो भने धर्म, सत्य, न्याय र निष्ठाका लागि रामले जन्म लिएका थिए । 

  • रामनवमीको महत्त्व

धार्मिकग्रन्थ अनुसार कलियुगमा भगवान् रामको स्मरण मात्रले पनि मनुष्यका सारा विघ्न–बाधाहरू हटेर जाज्छन् भने प्राणान्त हुने घडीमा राम नाम उच्चारण गरे पनि मोक्ष मिल्छ भन्ने शास्त्रीय मत पाइन्छ । मर्यादा पुरुषोत्तमको उपमा पाएका रामको महिमा र गाथा अपरम्पार छ । मर्यादा पुरुषोत्तम भन्नाले कठिन समयमा पनि धर्मको साथ नछाड्नु र नीतिको सीमा उल्लङ्घन नगर्नु हो । श्रीराम स्वयंले भनेका छन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि हार मानेर अनुपयुक्त कार्य नगर्नु ।’

रामनवमीले आदर्श, मर्यादा, सदाचार सद्व्यवहार र सद्गुण प्रदर्शन गर्नुलाई इङ्गित गर्दछ । राम नामको अन्तर्निहित रहस्यले मानवभित्र विद्यमान रहेको ज्योतिलाई स्वयं प्रकाशित गर्नु वा प्रज्वलित गरी सद्गुण, सद्व्यवहार, आदर्श, मर्यादा, सदाचार लगायत सोह्रवटा गुणलाई प्रज्वलित गरेर मानव जगत्मा आदर्श कायम गरी परमार्थमा मोक्ष प्राप्त गर्नु हो । यसका लागि श्रीराम नामको भजन–कीर्तन गरी सोही मार्गलाई अपनाउनु हो भन्ने बुझिन्छ । 

हिन्दुशास्त्रको काल गणनानुसार वर्तमान समयमा कलियुग चलिरहेको छ । यस युगमा अन्याय, अत्याचार, दुराचार, पापाचार, फैलिरहेको छ । यस प्रवृत्तिले संसारलाई आक्रान्त पारिरहेको छ । पाप र प्रवृत्तिगत अभिशापले ग्रसित यस घडीमा श्रीराम नाम उच्चारण समेतले मात्र पनि फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मत रहेको छ । 

  • रामराज्य

जसको पगरी गुथ्न जिम्मेवारी वहन गरेकाहरू रामराज्य बनाउँछु भनेर कड्केको सुन्न पाइन्छ । वास्तवमा रामराज्य भनेको के हो ? रामराज्य कस्तो थियो ? यो सबैको जिज्ञासाको विषय हो । राजनीतिकर्मीहरू रामराज्य बनाउँछु भनेर भाषण गर्छन् तर कस्तोलाई रामराज्य भन्ने यस सम्बन्धमा महर्षी वाल्मीकिले भनेका छन्–‘अयोध्याका राजा रामले चलाएको राज्यलाई रामराज्य हो जहाँ धर्म, मर्यादा र नीतिमा राज्य चलेको थियो ।’

कुनै पनि देशको खुसी या विस्मात्मा राजा वा राज्य जिम्मेवार हुनुपर्छ । त्यसैले जस्तो राजा त्यस्तै प्रजा भन्ने युक्ति चलेको पाइन्छ । 

रामराज्य एक पूरकतामा आधारित राज्य हो । यसमा सबै प्राणी एक–अर्काका पोषक हुन्छन् । यहाँ कोही शोषक हुँदैन । सबै एक–अर्काका रक्षक हुन्छन् । कोही कसैका विरुद्ध ह्रिसंक हुँदैन । सबै एक–अर्काका शुभ चिन्तक हुन्छन् । भनिन्छ, बाघ र बाख्रीले एउटै पोखरीको पानी खाने वातावरण र परिस्थिति नै रामराज्य हो । यस्तो व्यवहार, नैतिकता र जिम्मेवारीबाट राजा, प्रजा, शासक र शासित सबैको कल्याण हुन्छ । यहाँ नै रामराज्यको ज्वलन्त नमुना झल्किन्छ ।

  • धर्म, राजनीति र रामराज्य

राजनीति र धर्म एक आपसमा जोडिएको हुन्छ, हँुदैन भन्ने सम्बन्धमा बहस चलेको सुनिन्छ । यस सम्बन्धमा आ–आफ्नो डम्फु पिटेको सुनिन्छ । राजनीति र धर्म एकापसमा मिसिनु हुँदैन भन्ने मान्यता प्रबल हुँदै आएको छ । यो मान्यताको विकास कसले गरे ? यस विषयमा लामो खोज गर्नुपर्दैन होला । जसले यो मान्यताको विकास गरे तिनीहरू नै बाइबल, कुरान र गीता समाएर देश र जनताको नाममा शपथ खान्छन् । विश्वका यी सम्भ्रान्त ठानिएका मुलुक अन्यलाई धर्म निरपेक्षताको खास्टो ओढाएर आफू धर्मग्रन्थलाई अँगालो हालेर निरपेक्षताका आलाप सुनाइरहेका हुन्छन् । 

यो धर्म सापेक्षता हो कि निरपेक्षता ? राजनीतिले सम्पूर्णतः सैद्धान्तिक रूपमा सिकार भोगेपछि धर्मलाई अँगालो आलेर राजनीतिक पथ निर्माण गरेको इतिहास खोज्न टाढा जानुपर्दैन । राजनीतिमा धर्म यो अर्थमा जोडिनुपर्छ जहाँ मानवधर्म जोडिनुपर्छ । मानवताकै लागि भनेर मानव नै रेटेर आजको विश्व अघि बढिरहेको छ । हिजो धर्मको आडमा राजनीति चलेको थियो । धर्म बेगरको राज्य, राजनीति र जनजीवन थिएन तर आज धर्मको वास्तविकतालाई भौतिकवादको पासोमा अल्झाएर आध्यात्मिक पक्षमा तीव्र प्रहार भइरहेको छ । धर्मविनाको राज्य र संस्कृतिविनाको समाजले एकाङ्कीपनको सिर्जना गरी नैराश्यताका काला बादलहरूको च्यादर ओढाउँछ । यसै अवसरको फाइदा उठाउँदै छद्म रूपधारीले मानव र मानवीय धर्मप्रति अंकुश लगाउने प्रयास गरिरहेको आभास पाइन्छ ।्

रामराज्यमा धर्म पूर्ण रूपमा घुलेको थियो । नीति, नियम, मर्यादा, आदर्श र नैतिकता सबै पक्षलाई धर्मको अंशका रूपमा लिइन्थ्यो । भौतिकवादको उन्नतिले वर्तमान परिप्रेक्ष्यमा नैतिकता, आदर्श, नीति र नियमलाई त्यागेर भौतिकवादको पासोमा अल्झिनुपर्ने हो र ! समाज, संस्कृति र आम जनजीवनमा दिनुपर्ने सकारात्मक पक्षहरूलाई तिलाञ्जली दिएर रामराज्यको निर्माण गर्छु भनेर लाग्दा नैतिक आदर्श, मातृभूमि र हाम्रो मौलिक पक्ष विनाश भएर गए भने योभन्दा अभिशाप केही हुँदैन । आज यस पावन दिनमा मुलुक, आमनागरिक, हाम्रा मौलिक परम्परा र संस्कृति कायम राख्दै अगाडि बढ्ने अभिप्रेरणा भगवान् श्रीरामले सबैलाई प्रदान गरून् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजनाथ दंगाल
तेजनाथ दंगाल

author

लेखकबाट थप