बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इरानविरुद्ध इजरायलले गर्‍यो जवाफी कारबाही

शुक्रबार, ०७ वैशाख २०८१, १० : १९
शुक्रबार, ०७ वैशाख २०८१

जेरुसेलम । केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हुन् ।

इरानको विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको छ । इरानको फारस न्युज एजेन्सीले पनि इरानी सहर इसफानको विमानस्थलमा विस्फोटको आवाज सुनिएको दाबी गरेको छ । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । इरानका धेरै आणविक केन्द्रहरू इसफान प्रान्तमा छन् । 

इरानको युरेनियम संवर्धनको मुख्य केन्द्र पनि यहीँ सहरमा छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानको हवाई क्षेत्रमा धेरै उडानको रुट परिवर्तन गरिएको छ ।

गएको शनिबार इरानले इजरायलमाथि ३०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर यी मिसाइल र ड्रोनले इजरायलको वायु सुरक्षालाई पार गर्न सकेनन् । अप्रिल १ मा दमास्कसस्थित इरानको दूतावासमा हमला भएको थियो । यस हमलामा इरानको सेनाका दुई शीर्ष कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । 

यस हमलाको आरोप इरानले इजरायलमाथि लगाएको थियो । सोही आक्रमणको जवाफमा इरानले इजरायलमाथि शनिबार आक्रमण गरेको थियो । इजरायलले आक्रमण गरे थप बल प्रयोग गर्ने चेतावनी आक्रमणपछि इरानले दिएको थियो ।

पश्चिम एसियामा तनाव बढ्ने भय

इरान र इजरायलबीचको तनावसम्बन्धी यो मुद्दा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा पनि उठाइएको थियो । परिषद्को बैठकमा इजरायलले इरानको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गर्न माग गरेको थियो । यसैबिच इरानले इजरायललाई इरानमाथि आक्रमण गर्ने प्रयास गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको थियो । 

इरानले अमेरिकालाई दुई देशबिच नआउन चेतावनी समेत दिएको थियो । पश्चिम एसियाले अर्को युद्धको सामना गर्ने स्थितिमा नभएकाले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवले दुवै देशलाई अपिल गरेका थिए । इजरायल–हमास युद्धपछि इजरायल–इरान तनावले सिंगो अरब क्षेत्रमा तनाव बढ्न सक्ने धेरै विज्ञहरूले आशङ्का गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप