सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म

बुधबार, १२ वैशाख २०८१, १० : ०७
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार यो वैशाखमा तीन नयाँ फिल्म प्रदर्शन हुनेछन्— ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘खजुरे ब्रो’ । आउने शुक्रबार अर्थात् वैशाख १४ देखि ‘बोक्सीको घर’, वैशाख २१ देखि ‘मनसरा’ र  वैशाख २८ देखि ‘खजुरे ब्रो’ प्रदर्शन हुँदै छन् ।

यी तीन फिल्म प्रदर्शनको मुखमा रहँदा गत चैतमा प्रदर्शनमा आएका दुई फिल्म ‘महाजात्रा’ र डिग्री माइला’प्रति दर्शक आकर्षण बढिरहेको छ, नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रप्रेमीका लागि यो सुखद कुरा हो ।  

गत चैत ९ देखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ‘ग्रस कलेक्सन’ गरिसकेको छ । प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’मा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

चैत ३० बाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले पहिलो सातामै पाँच करोड पाँच लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । शुक्रबारबाट दोस्रो सातामा चलिरहेको यस फिल्मप्रति दर्शकको आकर्षण बढिरहेको छ ।

यसरी गत महिनाका दुई फिल्मप्रति दर्शक बढिरहँदा प्रदर्शनरत तीन फिल्म के हुने हुन् भन्ने प्रश्न उब्जेको छ । 

  • कथा 

पछिल्लो समय गाउँले परिवेश र फरक कथामा आधारित चलचित्रले दर्शक पाउन थालेका छन् । गत वर्ष रिलिज भएका ५३ फिल्ममध्ये आठ मात्र हिट हुनुले यही दर्शाउँछ ।

वैशाखमा रिलिज हुन लागेका तीन फिल्म मौलिक कथा र फरक स्वादका रहेको निर्माण पक्षका दाबी छन् । ‘बोक्सीको घर’ महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको कथामा आधारित छ । किन महिलालाई बोक्सीको आरोप लगाइन्छ, बोक्सी हुन्छ कि हँुदैन र हाम्रो समाजमा रहेको यो कुप्रथाले महिलालाई कसरी असर गरेको छ भन्ने विषय फिल्मले खोतल्नेछ । पछिल्लो समय रिलिज भएका फिल्मभन्दा भिन्न कथामा छ, यो फिल्म । फिल्मले समाजमा रहेको बोक्सी अन्धविश्वासलाई चिर्नेे निर्माता केकी अधिकारी बताउँछिन् ।

फिल्म ‘मनसरा’ले पनि हाम्रो समाजकै कथा भन्न खोजेको छ । फिल्मले एक विवाहित ब्राह्मण पुरुष र लिम्बु महिलाबिचको प्रेमकथा पस्केको छ । 

एउटा विवाहित पुरुष अन्य महिलासँग किन लोभिन्छ, त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने फिल्मले देखाउनेछ । 

‘मनसरा’ सामाजिक यथार्थमा आधारित रहेर बनेको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा बताउँछन् । सुब्बाले यस अगाडि पनि लिब्बु समुदायको कथामा फिल्म ‘जारी’ बनाएका थिए ।

त्यस्तै, ‘खजुरे ब्रो’ धरानको अर्गानिक कथा हो । धरान आसपासका क्षेत्रमा खजुरे ब्र्रो नामका एक पात्र चर्चित थिए, जसको अहिले निधन भइसकेको छ तर सहयोगी र रमाइला ती पात्रको गहिरो छाप धरानलगायत आसपासको स्थानमा अझै छ ।

अहिले निधन भइसकेको छ । दर्शकको नजरमा खजुरे पात्र जीवित राख्न फिल्म निर्माण गरिएको निर्माण युनिटले बताउँदै आएको छ ।

  • स्टार

नेपाली फिल्मका अधिकांश निर्माता तथा निर्देशकले राम्रो कथावस्तु खोज्नभन्दा स्टारको पछि लागेर धेरै समय बिताउँछन् । स्टार कलाकार भए फिल्मको प्रचारदेखि चलाउन सजिलो हुने उनीहरूको बुझाइ जो रहेको छ । 

पछिल्लो समय के स्टार, के नयाँ कलाकार, कसैको पनि फिल्म चलेका छैन । तैपनि स्टारको पछि दौडिने क्रम बढ्दो छ । यो वैशाखमा रिलिजमा आउने तीन फिल्ममा भने मिश्रित कलाकार देख्न सकिन्छ । कुनै फिल्ममा अहिलेका स्टारको उपस्थिति छ, केहीमा नयाँ कलाकार छन् ।

‘बोक्सीको घर’मा चलेकी कलाकार केकी अधिकारी छन् । फिल्ममा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । 

सुलक्षण भारतीको लेखन निर्देशन रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् । टिफल्क फिल्मस्ले फिल्मको वितरण गर्दै छ ।

त्यस्तै २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने ‘मनसरा’ दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म हो । यी दुवै पछिल्लो समय चलेका स्टार हुन् । यी दुवैको फिल्म लगातार हिट समेत भएका छन् । दयाहाङ र मिरुनाका अलावा प्रवीण खतिवडा र मेनुका प्रधानको पनि यस फिल्ममा अभिनय छ । स्टार भन्न नमिले पनि प्रवीण र मेनुका चलेका कलाकार हुन् । मनसरामा यिनीहरुका अलावा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणि सापकोटा लगायतको अभिनय छ । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस फिल्म शैलेन्द्रध्वज कार्कीले निर्माण गरेका हुन् ।

महिनाको अन्त्यतिर अर्थात् २८ वैशाखमा रिलिज हुने फिल्म ‘खजुरे ब्रो’मा केही नयाँ र केही पुराना कलाकार छन् । यस फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिलाल तामाङ, पवन लिम्बु, दीपचन्द्र राई लगायत कलाकारको अभिनय छ । 

महेश त्रिपाठी र विनिता थापा मगर चलेकै कलाकार हुन् । सुरज सुनुवार निर्देशित कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’बाट मोडल नीति शाह अभिनयमा डेब्यु गर्दै छिन् । नवीन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको यस फिल्मलाई आरआर फिल्म्स्ले वितरण गर्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप