मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

सर्वोच्चको सात तर्क : गण्डकीका मुख्यमन्त्रीलाई राहत, कांग्रेसलाई झट्का

मङ्गलबार, १८ वैशाख २०८१, २० : ४१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेश सरकारको विवाद टुङ्गोमा पुर्‍यायो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले मुख्यमन्त्री खगराज अधिकारीलाई वैधानिकता दिएको छ ।

यो आदेशसँगै अधिकारीले एउटा कानुनी लडाइँ त जितेका छन्, तर ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने चुनौती छ ।

प्रतिनिधि सभाको सदस्य छोडेर मुख्यमन्त्रीका लागि प्रदेश सभा झरेका एमाले नेता अधिकारीले विश्वासको मत लिँदा कानुनी झमेलामा पर्ने देखिन्छ । झमेला पार नगरे उनले मुख्यमन्त्री पद गुमाउनुपर्ने छ ।

भलै मुख्यमन्त्री भएको केही दिनमै नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटमा टेकेर सर्वोच्चले दिएको अन्तरिम आदेशबाट कामचलाउ हैसियतमा पुगेका अधिकारीले सोमबारको आदेशबाट पूर्णकालीन मुख्यमन्त्रीको हैसियत पाएका छन् ।

सर्वोच्चको सोमबारको फैसलामा टिप्पणी गर्नेहरूले सभामुखको भूमिका र बहुमतको बारेमा चर्चा गर्न थालेका छन् । जसको उत्तर पाउन सर्वोच्चको संक्षिप्त फैसलालाई केलाउनु पर्दछ ।

यो मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छैन । सार्वजनिक संक्षिप्त फैसलामा सर्वोच्चले केही तर्क अघि सारेको छ । सर्वोच्चको संयुक्त इजलासले यसअघि साउन ११ र भदौ ७ मा कोशी प्रदेश सरकार गठनको विवादमा गरेको फैसलालाई पनि जोडेको छ ।

सर्वोच्चले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीविरुद्ध पाण्डेले दायर गरेको रिट खारेज हुने र संविधानको धारा १६८ को उपधारा ३ अनुसार बहुमत प्राप्त सदस्यको रूपमा उनले मुख्यमन्त्री पाउनुपर्ने दाबी अस्वीकार गर्दा सात वटा तर्कमा टेकेको छ ।

पहिलो तर्क : बहुमतको जाँच गर्ने जिम्मेवारी प्रदेश प्रमुखको

सर्वोच्चले गण्डकी प्रदेशको सरकार गठनमा बहुमत पुगेको वा नपुगेको गणनाका साथै यकिन गर्ने अधिकार प्रदेश प्रमुखको हुने तर्क गरेको छ ।

‘खगराज अधिकारीले दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने भनी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको मुख्यमन्त्री नियुक्ति गरी पाउन दाबी लिई प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकोमा बहुमत प्राप्त गर्न सक्ने अवस्थाको मूल्याङ्कन गर्न आवश्यक तथ्य, प्रमाण पेस गर्न लगाउने नलगाउने प्रदेश प्रमुखको सन्तुष्टि र विवेकको विषय हो । यो स्थितिको मूल्याङ्कन गर्ने प्रमुख जिम्मेवारी प्रदेश प्रमुखको नै हो,’ फैसलामा भनिएको छ, ‘बहुमत पुग्न सक्ने सामर्थ्यता देखाइ दाबी गरेको र प्रदेश प्रमुखले आफू समक्ष पर्न आएको दाबीको सम्बन्धमा सन्तुष्ट रही नियुक्ति गरिएको भनिएता पनि त्यस्तो बहुमत पुग्न सक्ने सामर्थ्यता प्रारम्भिक रूपमा वस्तुपरक देखिनु पर्दछ ।’’

बहुमत पुग्दैन भनेर विपक्षी दललाई नभई संविधानले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्ति गर्नुअघि नै यकिन गर्ने अधिकार दिएको र यो गर्ने जिम्मेवारी उनको रहेको अदालतको भनाइ छ । फैसलामा भनिएको छ ‘तसर्थ बहुमत पुग्न सक्ने सामर्थ्य यथार्थपरक र वस्तुपरक भएको सुनिश्चितता गर्नु प्रदेश प्रमुखको कर्तव्य समेत रहन्छ ।’’

दोस्रो तर्क : सभामुखको गणना नगर्दा पनि बहुमत देखियो

सर्वोच्चको संक्षिप्त फैसलामा सभामुखको मत गणना नगर्दा पनि मुख्यमन्त्री अधिकारीसँग बहुमत पुग्ने तर्क अघि सारेको छ ।

‘प्रत्यर्थीहरूसँग दलहरूको बहुमतको समर्थनको दाबी रहेता पनि संविधान, कानुन तथा नजिर विपरीत सभामुखलाई समेत गणना गरी बहुमतको सङ्ख्या पुग्न सक्ने देखाइएको प्रश्नमा विचार गर्दा नेपालको संविधानको धारा १८६, धारा ९९ ले अध्यक्षता गर्ने व्यक्तिलाई मतदान दिने अधिकार नरहने र मत बराबर रहेको अवस्थामा मात्र निर्णायक मत दिने अधिकार अध्यक्षता गर्ने सभामुखलाई रहेको देखिन्छ’, फैसलामा भनिएको छ ‘धारा २९९ को उपधारा ५ बमोजिम सभामुख वा उपसभामुखले आफ्नो कार्य सम्पादन गर्दा राजनैतिक दलको पक्ष वा विपक्षमा नरही तटस्थ व्यक्तिको हैसियतले गर्नुपर्ने दायित्व रहेको छ ।’

सभामुखको पद तटस्थ र स्वतन्त्र रहने पद नै भएको सर्वोच्चको व्याख्या छ ।

‘प्रदेश सभाको निर्वाचित सदस्यमा निजको नाम रहेता पनि राजनैतिक फाइदा बेफाइदाको गणनामा निजलाई प्रयोग गर्न मिल्ने देखिँदैन । प्रदेश सभामुख आफूले मुख्यमन्त्रीको दाबीमा हस्ताक्षर नगरेको र आफू सोमा सहभागी पनि नरहेको भनी सार्वजनिक घोषणासमेत गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘गण्डकी प्रदेशको जम्मा प्रदेश सभा सदस्य ६० जना रहेको र प्रत्यर्थी खगराज अधिकारीको दाबीमा नेकपा माओवादी केन्द्रको सदस्य सङ्ख्यामा सभामुखलाई गणना नगर्दा पनि प्रदेशसभा सदस्य ५९ जनामा ३० जनाको सङ्ख्या पुगेको देखिन्छ । सभामुखलाई गणना नगर्दा पनि दलहरूको समर्थनमा खगराज अधिकारीको बहुमत प्राप्त गर्न सक्ने दाबी समर्थित देखिन्छ ।’

यो तर्कमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले असन्तुष्टि जनाए ।

‘कोशी प्रदेशमा सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको व्याख्या विपरीत र बाबुराम भट्टराईको पार्टीका सांसद समेतलाई माओवादीकै रूपमा गणना गरी सरकार गठन मिल्छ ?’ खनालले फैसलामाथि प्रश्न उठाएका छन् ।

तेस्रो तर्क : प्रदेश प्रमुखमाथि प्रश्न

सर्वोच्चका फैसलामा प्रदेश प्रमुखको भूमिकामाथि टिप्पणी गरिएको छ ।

‘जहाँसम्म प्रत्यर्थी प्रदेश प्रमुखले आफूले दिएको समयसम्म पनि दाबी यो वा त्यो रूपमा दिनसक्ने विकल्पको समयसम्मलाई नकुरी, आफूले दिएको समयतालिकालाई आफैँले नमान्नु वा समय अघि नै निष्कर्षमा पुग्नु सूचनाको पवित्रताको मर्यादासम्म पनि नराखी हतास मानसिकताबाट निष्कर्षमा पुग्न खोजेको देखियो,’ फैसलामा भनिएको छ ‘समयसीमाको पालना स्वाभाविक र सामान्य अपेक्षा हो । प्रदेश प्रमुख जतिको जिम्मेवार व्यक्ति सदैव यस्तो विषयमा सजग र सचेत पनि रहन आवश्यक छ । तर प्रस्तुत मुद्दामा प्रमुखले तोकेको समय सीमाभित्र निवेदकहरू बहुमत छ भनी दाबी लिन सकेको देखिएन ।’

चौथो तर्क : कोशी र गण्डकीको अवस्था फरक

सर्वोच्चले कोशी प्रदेशका विवादबारे पनि बोलेको छ । कोशीका सन्दर्भमा साउन ११ र भदौ ७ को अन्तरिम आदेश जारी भएको मुद्दालाई आधार दिँदै यो फरक भएको तर्क अघि सारिएको छ ।

‘फेरि कोशी प्रदेशको सरकार गठनका दुई विवाद र प्रस्तुत मुद्दाको फरक अवस्था र प्रकृतिको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘हिक्मत कुमार कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएको र त्यसरी नियुक्त मुख्यमन्त्रीले धारा १६८ को उपधारा ४ बमोजिमको विश्वासको मत प्रस्ताव पारितको प्रक्रियामा अध्यक्षता गर्नु भएको अध्यक्ष मण्डलका सदस्य इस्माइल मन्सुरीले प्रदेश सभामा अध्यक्षता गरेको देखिन्छ ।  उक्त प्रक्रियामा मतदानको समय सकिएपछि मतदान गरिसकेका अर्का संसदलाई अध्यक्षता गराइ मत सच्याउने समयमा प्रस्तावको पक्षमा मत दिई पुनः अध्यक्ष मण्डलको हैसियतले अध्यक्षता गरेको र उनको मत जारी भएको प्रस्तावको पक्षमा बहुमत पुगेको घोषणा गरी प्रदेश प्रमुखलाई जानकारी दिएको देखिन्छ ।’

सर्वोच्चले विश्वासको मत लिने प्रक्रियामा सभामुखको भूमिकामा रहेको ज्येष्ठ सदस्य पनि तटस्थ हुनुपर्ने भनेको र उक्त कुरामा यो इजलास पनि सहमत रहेको तर्क गरेको छ ।

‘त्यस्तै अर्को मुद्दाको हकमा चार दलहरूसँगै सभामुख बाबुराम गौतम समेतको तर्फबाट हस्ताक्षरसमेत गरी सरकार गठनको निमित्त दाबी प्रस्तुत भएको र निजलाई समेत गणना गर्दामात्र बहुमत पुग्न सकेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘यी आधारमा कोशी र गण्डकीको अवस्था र प्रकृति फरक देखिन्छ ।’

पाँचौँ तर्क : निवेदक पाण्डेले बहुमत देखाउन नसकेको

सर्वोच्चले रिट खारेजीका लागि लिएको पाँचौँ तर्क हो– आफूलाई मुख्यमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने दाबीसमेत लिएका नेपाली काग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले खगराज अधिकारीसँग नभई आफूसँग (विपक्षमा) बहुमत भएको दाबी देखाउन नसकेको भनेको छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको प्रस्तुत गरेको बहुमतको तथ्यलाई खण्डित गर्न र त्योभन्दा बढी बहुमत आफ्नो छ भनी निवेदकले दाबी प्रस्तुत गर्न वा देखाउन सकेको छैन अर्थात् अहिले कै अवस्थामा आफ्नो बढी सङ्ख्या रहेको वा सो पुष्टि गरेको अवस्था पनि छैन,’ फैसलामा भनिएको छ, ‘यस्तो अवस्थामा प्रस्तुत विवादको निराकरणको निमित्त नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम सदनमा नै विश्वासको मतको माध्यमबाट दाबी पुष्टि वा खण्डित गर्न वैधानिक बाटो संविधानले नै स्पष्ट गरेको छ ।’

फैसलामा ‘निवेदकले अधिकारीको मुख्यमन्त्रीको नियुक्ति धारा १६८ को उपधारा २ बमोजिम भइसकेको र त्योभन्दा बढी सङ्ख्या वा बहुमत रिट निवेदकसँग छ भनी दाबी लिन सकिएको देखिएन’ भनिएको छ ।’

छैटौँ तर्क : सभामुखले राजीनामा नदिएको र विश्वासको मत लिन बाँकी

सर्वोच्चले छैटौँ तर्कको रूपमा राजीनामा दिएर मुख्यमन्त्रीलाई समर्थन गर्ने वा विश्वासको मत लिने प्रक्रियामा सभामुखको सहभागिता सुरु नै नभएको भनेको छ । 

‘रिट निवेदकलाई समर्थन गर्ने दलले आफ्नो समर्थन फिर्ता लिई आफ्नो बहुमत नरहेको कारणले नै रिट निवेदकले मुख्यमन्त्रीबाट राजीनामा दिई रिट निवेदक स्वयंले सरकार बनाउन मार्ग प्रशस्त गरेको अवस्थामा रहेको र पुनः आफ्नो बहुमत रहेको दाबी प्रस्तुत गर्न नसकेको अवस्थामा धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखबाट नियुक्त भएको मुख्यमन्त्रीको अब बहुमत पुग्दछ वा पुग्दैन भनी परीक्षण गर्ने व्यावहारिक र सरल मार्ग भनेको धारा १६८ को उपधारा ४ कै प्रक्रिया हो,’ फैसलामा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्ति भएको मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने र विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र धारा १६८ को उपधारा ३ क्रियाशील हुने हो । नेपालको संविधानको धारा १६८ को उपधारा ४ को प्रक्रिया नै बाध्यात्मक प्रक्रिया हो, सो प्रक्रियामा राजनैतिक, संवैधानिक हस्तक्षेपको औचित्यता हुँदैन । उक्त प्रक्रियालाई अवरुद्ध गर्नुभन्दा संविधानले दिएको विकल्पमा नै मार्ग प्रशस्त गर्नुपर्ने देखियो ।’

सातौँ तर्क : बहुमत परीक्षण प्रदेश सभामै, रिट अपरिपक्व

सर्वोच्चले खगराज विरुद्धको रिट खारेजीका लागि लिएको सातौँ र अन्तिम तर्क हो– निवेदकको रिट नै अपरिपक्व ।

मुख्यमन्त्रीसँग बहुमत भए वा नभएको कुरा प्रदेश सभामा विश्वासको मत लिँदा नै पुष्टि हुने भएको भन्दै सर्वोच्चले यसको केही व्याख्या संक्षिप्त फैसलामा गरेको छ ।

‘संविधानको धारा १६८ को उपधारा ४ को प्रक्रिया पूरा गर्दा प्रत्यर्थीले विश्वासको मत प्राप्त नगरेमा मात्र धारा १६८ को उपधारा ३ क्रियाशील हुने देखिन्छ । सो भएमा मात्र निवेदकको माग पूरा हुन सक्ने अवस्था सिर्जना हुन सक्ने हुँदा धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीको बहुमत रहे नरहेको बहुमतको वैधानिकता परीक्षण प्रदेश सभाबाटै गर्न संवैधानिक, व्यावहारिक र अन्तिम विकल्प हो,’ फैसलामा भनिएको छ, ‘सो विकल्पको बाटोको प्रयोग नभई अपरिपक्वताको  अवस्थामा देखिँदा रिट निवेदकको मागबमोजिमको आदेश जारी गरिरहन पर्ने अवस्थाको विद्यमानता नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ ।’

पाण्डेको माग अस्वीकार

सर्वोच्चले रिट खारेजीसँगै सविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्ने रिट निवेदक पाण्डेको लक्ष्य तत्काललाई रोक लगाएको छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीलाई धारा १६८. को उपधारा ४ बमोजिमको विश्वासको मत प्राप्त हुन सक्ने सम्भावना रही रहेकै अवस्थामा धारा १६८ को उपधारा ३ को विकल्पमा जान मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘तसर्थ निवेदकको दाबी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएका संसदीय दलको नेताका हैसियतले निवेदन दाबी बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्ति गरी पाउन परमादेश जारी गरिरहन पर्ने देखिएन ।’

कोशीका मुख्यमन्त्री असंवैधानिक ठहर्याउने त्यो फैसला

सर्वोच्चले २०८० साउन ११ गते नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारलाई असंवैधानिक ठहर गरेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको थियो । सर्वोच्चको यो फैसलापछि नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार विस्थापित भएको थियो । सर्वोच्चले नयाँ प्रक्रिया सुरु गरी सरकार गठन गर्न फैसलामा भनेको थियो ।

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गरिए पनि एमाले सर्वोच्च गएको  थियो । दुवै गठबन्धनको पक्षमा ४६/४६ सांसद भएपछि सत्ता गठबन्धनले सभामुखलाई हस्ताक्षर गराउँदै सरकारको दाबी पेस गरेको थियो ।

उक्त कार्य संविधान विपरीत भएको भन्दै नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दोस्रो विवाद पनि सर्वोच्च पुग्यो

पछि सभामुख गौतमलाई राजीनामा गराउँदै नयाँ सरकार गठन भयो । उक्त सरकार पनि विवाद बाहिर रहेन । सर्वोच्चमा रिट दायर भयो अनि भदौ ७ गते अन्तरिम आदेश जारी गर्दै सरकार विघटन भयो ।

नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएपछि उनको सरकार ढलेको थियो ।

प्रदेश सभामा ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिकामा रहेका इस्माइल मन्सुरीले विश्वासको मतको पक्षमा मतदान गरेपछि असंवैधानिक ठहर गरेको थियो ।

विवादकै बिचमा कार्की बने मुख्यमन्त्री

असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका थिए । हाल उनी अन्तिम विकल्पको रूपमा आफू रहेको दाबी गर्दै आएका छन् भने सत्ता गठबन्धनले उनलाई हटाउने प्रयास जारी राखेका छन् । 

सुरुमा उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र  कांग्रेसको डा. शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए । हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

‍सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । तर कार्कीले विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएका थिए । पछि पुनः काग्रेस–माओवादीकै सत्ता गठबन्धनमा फर्केका थिए । यतिबेला माओवादी–एमाले सत्ता गठबन्धनले कार्कीलाई हटाउन जोडबल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप