सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको हाजिरी : सबैभन्दा धेरै गयल हुनेमा देउवा, दोस्रोमा भट्ट

सोमबार, ०७ जेठ २०८१, १८ : १३
सोमबार, ०७ जेठ २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सभा कानुन निर्माणमा उदासीन देखिएको छ । अर्कोतिर प्रदेश सभाका सदस्यहरूको कार्यसम्पादन पनि अति कमजोर देखिएको छ ।

प्रदेश सभा सचिवालय धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार दोस्रो प्रदेश सभामा हालसम्म जम्मा ४७ वटा बैठक बसेको छ । हालसम्म ३ वटामात्रै अधिवेशन सञ्चालन भएको प्रदेश सभामा प्रथम अधिवेशनमा ९ वटा बैठक, दोस्रो अधिवेशनमा २८ वटा बैठक र तेस्रो अधिवेशनमा १० वटा बैठकमात्रै बस्न सकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशन जेठ ४ गते शुक्रबार अन्त्य भएको हो । त्यसअघि जेठ ३ गते मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।

कसको हाजिरी कति ?

दोस्रो प्रदेश सभाको ३ वटा अधिवेशनमध्ये तेस्रो अधिवेशनको १० वटा बैठकमा प्रदेश सभा सदस्यहरूको हाजिरी विवरण केलाउँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा एक दिनमात्रै हाजिर भएको देखिन्छ ।

त्यस्तै, माओवादी केन्द्रका नेतासमेत रहेका प्रदेश सभा सदस्य खगराज भट्ट गयल हुनेमा दोस्रो स्थानमा छन् । उनी १० दिनमा जम्मा ३ दिनमात्रै हाजिर भएको प्रदेश सभा सचिवालयको हाजिरी तथ्याङ्कमा उल्लेख छ ।

माओवादी केन्द्रका पूर्वमन्त्रीद्वय झपट बहादुर साउद र रमेशसिंह धामी ४ दिनमात्रै उपस्थित देखिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी पनि १० दिनमा ४ दिनमात्रै उपस्थित देखिएका हुन् ।

प्रदेश सभा सदस्यहरू अक्कल बहादुर रावल, घनश्याम चौधरी र जानकी ऐर (बम) भने १० वटामध्ये सबै बैठकमा उपस्थित देखिएका छन् ।

यस्तै, डम्मरी महरा, तुलसी देवकोटा, दिवानसिंह बिष्ट, धर्मराज पाठक, विक्रमसिंह धामी, बीरबहादुर राना, भीमबहादुर भण्डारी र मधुदेवी भारती पनि १० मा १० वटै बैठकमा उपस्थित भएका छन् । प्रदेशसभा सदस्यहरू रामेश्वर चौधरी, लक्ष्मी विक, माया पन्त र सन्तोष कुमारी शर्मा पनि १० वटै बैठकमा उपस्थित भएका छन् ।

Attendence1Attendence2Attendence3

सांसदको सेवा–सुविधा

प्रदेश सभा बैठकमा उपस्थित भएर नीति निर्माणमा भूमिका निर्वाह गर्नु प्रदेश सभा सदस्यको दायित्व हो । यसका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूका लागि मासिक पारिश्रमिकसहित विभिन्न सुविधा उपलब्ध गराउँछ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यले मासिक ५६ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउँछन् । यसका अतिरिक्त बैठक भत्ताबापत प्रतिदिनको ८५० रुपैयाँ, आवास सुविधा बापत मासिक १७ हजार, सरकारी घर नभएको अवस्थामा फर्निचर खर्चबापत वार्षिक एकमुस्ट एक लाख रुपैयाँ पाउने व्यवस्था छ ।

त्यस्तै, धारा र बिजुलीबापत मासिक २ हजार, सञ्चार सुविधाबापत मासिक ३ हजार, दैनिक भ्रमण भत्ता २५ सय रुपैयाँ, दैनिक भ्रमण भत्ता (विदेश) २२५ डलर, अतिथि सत्कारबापत ७ हजार, निजी आवास मर्मत सम्भारबापत वार्षिक एकमुष्ट ३५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

साथै बैठक बसेको दिन दैनिक ५ सय रुपैयाँका दरले प्रदेश सभा सदस्यहरूले यातायात खर्च पनि पाउँछन् ।

यसरी अन्य जिम्मेवारीमा नरहेका एक जना प्रदेशसभा सदस्यले दैनिक भत्ता, दैनिक भ्रमण भत्ता, वार्षिक एकमुष्ट पाउने फर्निचर खर्च, निजी आवास मर्मत खर्चबाहेक मासिक ८५ हजार ५ सयभन्दा बढीको सुविधा पाउने व्यवस्था छ ।

यहाँ ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । सभा सदस्यबाट एक मुख्यमन्त्री, ६ मन्त्री र २ राज्यमन्त्री भएका छन्, उनीहरूलाई यो ऐन बमोजिम नभइ अलग व्यवस्था बमोजिम सेवा–सुविधा उपलब्ध गराइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप